विकासन्युज

२८७५ बिन्दुमा पुग्यो नेप्से,  १४० कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २८७५ बिन्दुमा पुगेको छ । आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको हो । सोमबार ३२५ कम्पनीको २ कम्पनीको १० अर्ब ८२ करोड रुपेयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, शिवभ् सिमेन्टको ४३ करोड, हिमालयन डिस्टीलरीको ३७ करोड, न्यादी गुप्रको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ १.६६, जलविद्युत् ०.२५, लगानी ०.११, जीवन बिमा ०.५०, लघुवित्त  ०.५०, म्युचुअल फन्ड ०.०८ र व्यापार २.८९ प्रतिशतले बढेको छ । विकास बैंक ०.०६, वित्त ०.८२, होटल तथा पर्यटन ०.३४, उत्पादन तथा प्रशोधन ०.१२, निर्जीवन बिमा ०.५१ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।     थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य आज सबैभन्दा धेरै ६.८९ प्रतिशतले बढेको छ । ट्रेड टावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

मुख्यमन्त्री लामाले दिए राजीनामा, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका छन् ।  आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् । प्रमुख स्वकीय सचिव लामाले आज हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । ‘मुख्यमन्त्री लामाको राजीनामा पत्र अहिले भर्खरै दिउँसो १ बजेरित हाम्रो कार्यालयमा आइपुग्यो,ु प्रवक्ता सापकोटाले भने, ‘प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उपचार गराइ हेटौंडास्थित कार्यालय फर्किसक्नुभएको छ, अब छिट्टै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू हुन्छ ।’ सम्भवतः आजै प्रदेश प्रमुख देवकोटाले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू गर्ने सम्भावना रहेको उनको भनाइ छ ।  मुख्यमन्त्री लामा पत्रकार सम्मेलनलगतै आइतबार साँझ राजीनामा बुझाउन हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।  तर प्रदेश प्रमुख देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएका थिए । त्यसपछि उनी राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिव लामालाई राजीनामा पत्र जिम्मा लगाइ काठमाडौं हिँडे ।  यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलमा निर्वाचित बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । 

बुटवल-नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।   नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १ः०० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।   सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र  चालक बीच बाटोमै अलपत्र परेका छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

एपोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी  निर्वाचित भएका छन् । अध्यक्षका अर्का दाबेदार  दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत निवार्चित भएका हुन् ।  आइतबारदेखि काठमाडौंमा जारी एपोनको वार्षिक साधारणसभाले १३ सदस्यीय समिती गठन गर्ने छ । अध्यक्षमा सर्वसम्मत भएपनि  सदस्यमा पनि सहमतिको प्रयास भइरहेको छ । सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन् ।  

बजाजको चेतक इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख २४ हजार

काठमाडौं । बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपले चर्चित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम र सर्भिस सेन्टर उद्घाटन गर्दै ’चेतक ३५०१’ मोडलको बिक्री सुरु गरेको हो ।  कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । यो स्कुटर रातो, कालो, हरियो, हेजल नट र निलो गरी पाँच विभिन्न रङमा उपलब्ध रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए । नेपाली बाटो सुहाउँदो, लोमान्थाङसम्म परीक्षण निर्देशक गोल्छाका अनुसार चेतक नेपाली सडक र परिस्थितिमा अत्यन्तै सुहाउँदो इलेक्ट्रिक स्कुटर हो । ‘यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले नेपालको टेरेनमा उत्कृष्ट पर्फर्मेन्स दिन सक्छ,’ उनले भने, ‘हामीले यसको परीक्षणका लागि लोमान्थाङसम्म लगेका थियौं, र यो त्यहाँसम्म पुग्ने पहिलो इभी स्कुटर हो ।’ सर्भिसमा विशेष ध्यान, नेपालकै ठूलो इभी सर्भिस सेन्टर ग्राहकको सबैभन्दा ठूलो चिन्ताको विषय आफ्टर सेल्स सर्भिसलाई ध्यानमा राख्दै कम्पनीले नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक टु–व्हीलर सर्भिस सेन्टर स्थापना गरेको छ । ‘हामी ग्राहकलाई सर्भिसको पूर्ण विश्वास दिलाउन चाहन्छौं। हामीसँग तालिम प्राप्त इभी विशेषज्ञ र स्पेयर पाट्र्सको पर्याप्त उपलब्धता छ,’ गोल्छाले भने, ’त्यसैले इभीमा स्विच गर्ने यो उत्तम मौका हो । ’ मोबाइल एपबाटै कन्ट्रोल, सुरक्षाका लागि विशेष फिचर चेतक ३५०१ मोडल अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । यसलाई कम्पनीको ‘चेतक एप’ मार्फत मोबाइलबाटै नियन्त्रण गर्न सकिन्छ । यसमा विभिन्न सुरक्षा फिचरहरू रहेका छन् । जसमा मोबाइलबाटै स्कुटर लक वा बन्द गर्न सकिन्छ । निश्चित भौगोलिक क्षेत्र तोकेर त्योभन्दा बाहिर गएमा स्कुटर स्वतः बन्द हुन्छ भने स्कुटर कहाँ छ भनेर फोनबाटै हेर्न सकिन्छ । चाहेको स्पिडमा लिमिटर सेट गर्न सकिन्छ । यसका साथै स्कुटर ढलेमा वा दुर्घटना भएमा मोबाइलमा नोटिफिकेसन आउने सुविधा पनि छ ।    ब्याट्री, रेन्ज र चार्जिङ चेतकमा ३.५ किलोवाटको ब्याट्री र ४.२ किलोवाटको पिक पावर मोटर जडान गरिएको छ । जसले उकालो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिन्छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ भने नेपाली सडकमा वास्तविक रेन्ज १३५ किलोमिटर छ । यसमा फास्ट चार्जिङ सुविधा छ । जसले गर्दा ३ घण्टामा ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । कम्पनीले सुरुवाती चरणमा नक्साल शोरुमबाट मात्र बिक्री गर्ने र ग्राहकको विश्वास जितेपछि बजाजको नेटवर्कमार्फत देशभर विस्तार गर्ने योजना बनाएको छ ।  

नेपाल भित्रियो जीलीको ईएक्स फाइभ ईभी, ब्याट्रीमा आठ वर्ष वारेन्टी

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडेलहरू भित्रिने क्रम जारी छ । नयाँनयाँ मोडेलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबीचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ ।  यसैबीच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जीली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली इएक्स फाइभ सिरिज नेपाल भित्रिएको छ ।   एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जीलीका २ मोडेल जिली इएक्स फाइभ प्रो र जीली इएक्स फाइभ म्याक्स नेपाल भित्राएको हो। नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडेलको भन्दा यी मोडेलहरूको अलिक बढी नै प्रतिस्पर्धा गर्नसक्ने देखिनछ । यी मोडेलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।   यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ।  गाडी निर्माता जीली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित यस ब्याट्रीको आयू ३ हजार ५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्षसम्म प्रयोग गर्न मिल्ने) रहेको छ, जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै अधिक रहेको कम्पनीको दावी छ । साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्सले जीलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमिसम्म वारेन्टीसमेत दिने जनाएको छ । यी दुवै मोडेलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ । यसमा सीएलटीसी परीक्षणअनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ । जीली इएक्स फाइभ म्याक्सको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् । आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।  यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् ।  साथै जिलीले आफ्नै विकसित फ्लाइमी अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ।  दुवै मोडलमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।  नेपाली बजारका लागि ईएक्स फाइभ प्रोको मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ ।  कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाएको छ।   नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीहरूमा जीलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्ने विश्वास कम्पनीको छ ।

बजेट कार्यान्वयनमा अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, २१ सय स्वास्थ्यकर्मी थप्ने प्रस्ताव

काठमाडौं । आर्थिक  वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ ।  सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।   स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए ।  सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने नि:शुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलन लगायतका विषयमा छलफल भएको थियो ।  

प्रधानमन्त्रीले ईश्वरलाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए । उनका अनुसार एमाले विधान २०४९ (संशोशन २०७८)को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष गर्ने काम गर्ने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने छन् ।