विकासन्युज

कजारियाको नयाँ शोरूम वीरगञ्जमा

काठमाडौं। कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै वीरगञ्जमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । जय श्रीराम ट्रेड एण्ड कन्सर्नद्वारा सञ्चालित यस शोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा खानेपानीमन्त्री प्रदीप यादव, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति थियो । शोरुम वीरगञ्जको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित छ ।  प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै कम्पनीले विभिन्न ठाउँमा शोरुम खोल्दै आइरहेको छ । कजारिया रामेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइनका टायलहरू उपलब्ध गराउँदै आएको छ । नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टायल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । 

प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको माग सर्वोच्चले खारेज गर्‍यो, अन्तरिम आदेश जारी नहुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र शान्ति सिंह थापाको इजलासले ओझाको माग दावी बमोजिम पुनः काममा फर्कन अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते तीन सदस्यीय छानिबिन समिति गठन गरेपछि ओझा स्वतः निलम्बनमा परेका थिए ।  सोका विरुद्धमा ओझाले सर्वोच्च अदालतमा रिट दायर गरी सरकारले गठन गरेको समिति गैर कानुनी भएकोले खारेजको माग गर्दै तत्काल काममा फर्कन अन्तरिम आदेश माग गरेका थिए । सो मुद्दामा आज छलफल भएको थियो ।

गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई एनएमबि बैंकको सोलार सामग्री

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १ हजार लिटरको सोलारका साथै सोलार बत्तीहरू हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले एनएमबि बैंकलाई धन्यवाद व्यक्त गरे ।  बैंकका सीईओ‌ र डीसीईओले संयुक्त रूपमा सोलार सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू, बैंकका कर्मचारीहरू, समाजसेवीलगायत अन्य प्रतिनिधिको उपस्थित रहेको थियो ।  एनएमबि बैंले हाल देशभरि २०२ शाखाहरू, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशन गरिएको हो । बोर्डको पूर्व निर्धारित तालिकाअनुसार नतिजा साउन १५ गतेभित्रै प्रकाशन हुनुपर्ने थियो । तर गत चैत २० गतेदेखि शिक्षकहरूले गरेको २९ दिने आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएकाले नतिजा समयमा आउन सकेको थिएन । सोही आन्दोलनका कारण गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा पनि २१ गतेदेखि सुरु भएको थियो । यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।

१२ कक्षाको नतिजा सार्वजनिक गर्न बैठक जारी

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । अहिले बैठक बसेकाले कुनै प्राविधिक समस्या नआए बैठक सकिने बित्तिकै नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।  बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, केही दिन ढिला गरी नतिजा सार्वजनिक हुन लागेको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । यसरी हेर्न सकिन्छ नतिजा ? परीक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ । यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत ८१६०१३ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

मस्कलाई टेस्लाको २९ अर्ब डलरको सेयर बोनस, नेतृत्व जोगाउन बोर्डको नयाँ चाल

काठमाडौं । टेस्लाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई करिब २९ अर्ब अमेरिकी डलर बराबरको ९६ मिलियन नयाँ सेयर प्रदान गर्ने निर्णय गरेको छ । मस्कलाई टेस्लामा राखिराख्न र सेयरधनीहरूप्रति अन्यायपूर्ण ठहरिएको अघिल्लो पारिश्रमिक योजनालाई अदालतले खारेज गरेपछि यो कदम चालिएको हो । सन् २०२४ मा डेलावेयरको अदालतले मस्कको २०१८ को ५० अर्ब डलरभन्दा बढी मूल्यको पारिश्रमिक योजना खारेज गरेको थियो । अदालतले टेस्ला बोर्डको स्वीकृति प्रक्रिया त्रुटिपूर्ण र सेयरधनीहरूप्रति अन्यायपूर्ण रहेको ठहर गरेको थियो । मार्च महिनामा मस्कले उक्त निर्णयविरुद्ध अपील दायर गरेका थिए । उनले तल्लो अदालतका न्यायाधीशले कानुनी त्रुटिहरू गरेको दाबी गर्दै रेकर्ड पारिश्रमिक खारेज गर्न नहुने तर्क गरेका थिए । यसै वर्ष टेस्लाले मस्कसँग सम्बन्धित केही पारिश्रमिक विषयहरू मूल्याङ्कन गर्न विशेष समिति गठन गरिएको जानकारी दिएको थियो, तर विस्तृत विवरण खुलाइएको थिएन । टेस्ला अहिले निर्णायक मोडमा पुगेको छ । मस्कसँग कम्पनीको १३ प्रतिशत सेयर स्वामित्व रहेको छ । तर अब उनी सस्तो विद्युतीय गाडीको प्लेटफर्मबाट ध्यान हटाउँदै रोबोट्याक्सी र ह्युमनाइड रोबोटतर्फ केन्द्रित हुँदैछन्, जसले टेस्लालाई अब एक अटोमोबाइल कम्पनीभन्दा बढी एआई र रोबोटिक्स कम्पनीको रूपमा स्थापित गर्दैछ। विशेष समितिका अनुसार नयाँ सेयर पुरस्कारले क्रमशः मस्कको भोटिङ अधिकार बढाउने लक्ष्य लिएको छ । मस्क र सेयरधनीहरूले लगातार मस्कलाई टेस्लामा केन्द्रित राख्न भोटिङ शक्ति आवश्यक रहेको भन्दै आएका थिए । ‘हामीलाई थाहा छ कि एलनको व्यावसायिक चासो, रुचि र समयप्रतिको माग अत्यधिक र विविध छन् तर हामी विश्वस्त छौं कि यस पुरस्कारले एलनलाई टेस्लामा टिकाइराख्न उत्प्रेरित गर्नेछ,’ समितिले सोमबारको नियामक दस्तावेजमा उल्लेख गरेको छ । यदि डेलावेयरको अदालतले २०१८ को सीईओ पर्फमेन्स अवार्ड पूर्ण रूपमा पुनःस्थापित गर्‍यो भने यो नयाँ अस्थायी पुरस्कार स्वतः खारेज हुने वा समायोजन गरिनेछ, जसले ‘दोहोरो लाभ’ नहुने सुनिश्चित गर्नेछ । यो अस्थायी पुरस्कार प्राप्त गर्न मस्कले सन् २०२७ सम्म कुनै कार्यकारी भूमिकामा निरन्तर रहनु पर्नेछ । यी सेयरहरू पाँच वर्षसम्म बिक्री गर्न पाइनेछैन । मस्कले प्रत्येक सेयरको लागि टेस्लालाई २३.३४ डलर तिर्नुपर्नेछ, जुन २०१८ को सीईओ पुरस्कार अन्तर्गतको सेयर मूल्य बराबर हो । उक्त विषय टेस्लाले सोमबारको फाइलिङमा उल्लेख गरेको छ । प्रिमार्केट ट्रेडिङमा टेस्लाको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । बिक्री घट्दो क्रममा यो वर्ष टेस्लाको सेयर मूल्य करिब २५ प्रतिशतले घटिसकेको छ । पुरानो गाडी मोडेल, तीव्र प्रतिस्पर्धा र मस्कका राजनीतिक अभिव्यक्तिहरूका कारण सम्भावित ग्राहकहरू टाढा भएको देखिएको छ । यस समस्यालाई अमेरिकी सरकारले विद्युतीय गाडीका लागि दिँदै आएको अनुदान कटौतीले झनै गम्भीर बनाएको छ । मस्कले अघिल्लो महिना आम्दानी विवरण पेश गर्दा अनुदानको कमीका कारण कम्पनीका लागि केही चुनौतीपूर्ण त्रैमासहरू आउन सक्ने बताएका थिए, जबसम्म सेल्फ ड्राइभिङ सफ्टवेयर र सेवाबाट आम्दानी आउन सुरु हुँदैन । गाडी उद्योगसम्बन्धी अनुसन्धान संस्था एसएन्डपी ग्लोबल मोबिलिटीका अनुसार मस्कले सन् २०२४ को गर्मीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेपछि टेस्लाप्रतिको ब्रान्ड निष्ठा उल्लेखनीय रूपमा घटेको देखिएको छ । टेस्लाका पुराना मोडेलहरूले अहिले जनरल मोटर्स, हुन्डाई, बीएमडब्ल्यू जस्ता परम्परागत कम्पनीहरूबाट निर्माण भएका नयाँ विद्युतीय गाडीहरूबाट कडा प्रतिस्पर्धा खेपिरहेका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्‍यो डोको रिसाइक्लर्ससँग सहकार्य

काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले फोहोर व्यवस्थापनमा प्रयास थालेको छ । इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य भएसँगै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्सले संकलन गरिरहेको छ ।  डोको रिसाइक्लर्स एक वातावरणीय संस्थाको रुपमा फोहोर संकलन, वर्गीकरण र प्रशोधनको काम गर्छ । वातावरणमैत्री उद्यमका रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित कम्पनीले फोहोर व्यवस्थापनमा जोड दिएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, 'वातावरण संरक्षण र दिगोपन हाम्रो प्राथमिकता हो, फोहोर डम्पिङ साइटमा जान नदिन र पुनः प्रयोगमा ल्याउन हामीले महत्वपूर्ण कदम चालेका छौं ।' यस्ता फोहोरलाई जिम्मेवार रुपमा व्यवस्थापन गर्ने उद्देश्य राखेर इन्स्योरेन्सले डोकोसँग सहकार्य गरेको सिइओ श्रेष्ठले बताइन् । हिमालयन एभरेष्ट इनस्योरेन्सबाट उत्पन्न करिव ८५ प्रतिशत फोहोरको हिस्सा सुक्खा प्रकारको भएकाले यसलाई डोकोले नै पुनः प्रयोगका लागि योग्य सामग्री बनाउने काम गर्छ । कार्यालयमा सकेसम्म कागजलाई कम प्रयोग गर्ने र डिजिटलाइजेशन प्रणालीमा रुपान्तरण गर्दै जाने कम्पनीको योजना छ ।  एचइआईले भनेको छ, 'दीर्घकालीन दिगो वृद्धि सुनिश्चित गर्ने दिशामा चालिएको एक महत्वपूर्ण कदम हो, डिजिटलाइजेशनको यात्रासँगै कम्पनीले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।' यो योजनालाई शाखाहरुमा पनि विस्तार र कार्यान्वयन गर्ने इन्स्योरेन्सको तयारी छ । 

‘केहीले अब सहकारी नै चाहिँदैन भन्न थाले, राष्ट्र बैंकसँग नियमनको तादम्यता मिल्न सकेन’

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले केही व्यक्तिहरुले अब सहकारी नै नचाहिने टिप्पणी गर्न थालेको बताएका छन् । सोमबार राष्ट्रिय सहकारी बैंककाे २३औं स्थापना दिवसको अवसरमा आयोजित सहकारीमा नियामकीय मापदण्ड तथा सम्पत्ति शुद्धिकरण निवारण विषयक गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।  ‘सहकारीमा केही साथीहरूले गल्ती गरेकै कारण यो क्षेत्रले नै बदमासीको ट्याग बाेक्नु पर्यो, अब त केही व्यक्तिहरूले देशमा सहकारी नै चाहिँदैन भन्न थाले,’ उनले भने ।  उनले पछिल्लो समय धेरैले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नियमनको विषयमा प्रश्न उठाइरहेको बताउँदै राष्ट्र बैंकसँग पनि आफूहरुको तादम्यता नमिलेको धारणा राखे ।  उनले अब सहकारीलाई नियन्त्रण गर्नुपर्ने आवश्यक रहेको बताए । उनले विगतमा सहकारीले नियम पालना नगर्दा र नियामकबाट पनि प्रभावकारी रुपमा नियमन नभएको धारणा राखे ।  यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले विगतमा सहकारी क्षेत्रको प्रभावकारी नियामक आवश्यक रहेको भनेर माग गरेका केही अभियन्ताले अहिले माग गरेर गलत गरेछौं भन्ने आवाज सुनेको बताए ।  उनले अब पुरानै ढर्राबाट सहकारी अगाडि बढ्न नसक्ने पनि बताए ।  ‘सहकारीहरु आफ्नो उद्देश्य र सिद्धान्त अनुसार चल्नुपर्छ, अहिले सहकारीमा ठूलो प्रकोप छ, यो प्रकोप व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने ।  यस्तै, उनले सहकारी दर्ताका लागि सफ्टवेयर निर्माण गर्ने काम भइरहेको बताए ।