‘हुन्डाई असम अगस्ट’ योजना सार्वजनिक, ८ लाख रुपैयाँसम्म नगद छुट
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई असम अगस्ट’ योजना सुरु गरेको छ । यसमा ग्राहकहरूले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् । साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुने कम्पनीले जनाएको छ । हुन्डाईको स्टल नम्बर एल फोर रहेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ । योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ । नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन् । दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ । हुन्डाईले आफ्नो ग्रान्ड आई टेन निओस, भेन्यू, क्रेटा इलेक्ट्रिक, क्रेटा आईसीई र आयोनिक फाइभजस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको छ ।
सेयर बजारमा ७ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ अंकले बढेर २८३३ बिन्दुमा झरेको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२० कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड र बलेफी हाइड्रोको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कामना सेवा विकास बैंक र स्काइ वाकबीच टिकट शुल्कमा छुट सम्बन्धी सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौं कमलादीस्थित स्काइ वाकबीच सेवा शुल्कमा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले स्काइ वाकको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा लिन ग्राहकहरूले बैंकसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात देखाउनुपर्नेछ । बैंकले उक्त सहकार्यले आफ्ना सेवाग्राहीहरूलाई मनोरञ्जन तथा विश्रामसँग जोडिएको नयाँ अनुभव प्रदान गर्नुका साथै विशेष लाभ दिलाउने विश्वास व्यक्त गरेको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइ वाकका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।
१४ देखि १९ सिटरको बहुपयोगी व्यावसायिक ईभी नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शन
काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यावसायिक विद्युतीय सवारीसाधनहरू पनि उपलब्ध गराउन थालेको छ । अब यसले फारिजन, चेरी वान्डा र किङ लङजस्ता प्रसिद्ध ब्रान्डहरूअन्तर्गत १४ देखि १९ सिटर क्षमताका विद्युतीय भ्यानहरू बजारमा ल्याएको छ । नेपाल हाल संसारमै सबैभन्दा तीव्र गतिमा ईभी अपनाउने देश बनेको छ र निजी सवारी पछिपछि अहिले व्यावसायिक विद्युतीय सवारीहरूमा पनि तीव्र वृद्धि देखिएको छ । फारिजन १९ सिटर ईभी भ्यानको मूल्य ७६ लाख ९० हजार रुपैयाँदेखि सुरु छ । शंकर समूहको जगदम्बा मोटर्सले चीनको जीली अन्तर्गतको ब्रान्ड फारिजनको ईभी ल्याएको हो । यो गाडी लामो दूरी, उकालो बाटो र उच्च भारका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । गाडी युरोपेली युनियन डब्ल्यूभीटीए प्रमाणित रहेको छ । यसमा १७० किलोवाट इलेक्ट्रिक मोटर रहेको छ जसले शक्तिशाली प्रदर्शन गर्ने कम्पनीले दावी गरेको छ । यसैगरी गाडीमा ८२.८८ किलोवाट लिथियम ब्याट्री रहेको छ । चेरी वान्डा १४ सिटर माइक्रोबसको मूल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ भने ब्याट्री ५३.५८ किलोवाटको रहेको छ । यसले फूल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । गाडीको ब्याट्रीमा ५ वर्ष वा ३ लाख किमी वारेन्टी रहेको छ भने मोटरमा ५ वर्ष वा २ लाख किमी वारेन्टी दिइएको छ । यो माइक्रोबस चिनियाँ शीर्ष ब्रान्डहरू चेरी र वान्डाको संयोजनमा बनेको हो र दैनिक सहरभित्रको ओसारपसार तथा व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो ।
व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको खुलासा गरेका छन् । लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताए । 'नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो,' उनले भने, 'कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।' उनले नेकपाको तत्कालीन स्थायी समिति बैठकको प्रसंग उल्लेख गर्दै भने, 'बाहिर प्रचारमा आइसकेको थियो कि नेपाल आइपीएसमा सहभागी भएको छ । तत्कालीन परराष्ट्र मन्त्रीले अस्वीकार गरे पनि पछि अमेरिकाले नै नेपाललाई सहभागी राष्ट्र घोषणा गरेपछि मन्त्रीले पार्टी र जनतालाई ढाटेको स्पष्ट भयो ।' अध्यक्ष प्रचण्डका अनुसार तत्कालीन अवस्थामा नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको थियो भने एमालेसंग कुरा गर्दा कांग्रेस भन्दा पनि एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्व एमसिसिमा कमा फुलिस्टप परिवर्तन गर्न हुँदैन भन्नेमा कांग्रेस भन्दा जोडका साथ आयो । 'हामीले त्यसरी जस्ताको तस्तै पारित गर्न नहुने भन्दै, यदि एमाले तयार हुने हो भने नेतृत्व दिन पनि तयार थियौं,' उनले भने । तर, एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको भन्दै प्रचण्डले भने, 'हामीले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्यौं। संसदबाट अनुमोदन नभएको अवस्थामा त्यो जस्ताको तस्तै पारित हुने खतरा थियो ।' उनले माओवादी केन्द्रले एमसीसी र आइपीएसप्रति सबैभन्दा स्पष्ट र दृढ अडान राखेको दाबी गर्दै भविष्यमा कुनै ‘बदमासी’ भए त्यसविरुद्ध आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणीलाई प्रस्तुत गरे ।
नेपाल मोबिलिटी एक्स्पोमा टी ३५२ एक्स र टी २५२ एक्स मोटरसाइकल सार्वजनिक
काठमाडौं । मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी ३५२ एक्स र टी २५२ एक्स पहिलो पटक सार्वजनिक गरेको छ। इटालीयन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू(भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन् । मोर्बिडेली टी ३५२ एक्स उच्च प्रदर्शन र साहसिक क्षमताको एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो । यसमा ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन, ४०.९ एचपी, ८ हजार ५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने ६- स्पीड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच र ७-इन्च टीएफटी डिस्प्ले (मोर्बिडेली कनेक्ट एपसँग एकीकृत)। रहेको छ । साथै यसमा मल्टी-लिङ्क रियर सस्पेन्सन र १८ लिटरको इन्धन ट्याङ्क उपलब्ध छ । यसको शोरुम मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने नाइमा मोबिलिटी एक्स्पोमा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमै पाउन सकिन्छ । मोर्बिडेली टी २५२ एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ । यसमा २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन ( ३३.५ एचपी, १२ हजार आरपीएम र २१.५ एनएम टर्क रहेको छ भने ६- स्पीड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच रहेको छ । साथै यो १७ इन्च एलोय ह्वील, यूएसडी फ्रन्ट फोर्क र टीएफटी डिस्प्लेमा पनि उपलब्ध छ । मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले बिक्री पछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पाट्र्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । साथै एक्स्पोमा बेनेलीका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन् । यसबारे बैंक र रिसोर्टबीच छुट सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, बैंकका ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा भोजन तथा पेय पदार्थ उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस सुविधाको लाभ लिन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यो सहकार्यले ग्राहकहरूलाई विशेष सेवा दिनुका साथै मुलुकमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत यो सम्झौताले योगदान पुर्याउने बैंकको भनाइ छ ।
स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्दै
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशत बराबरको २ करोड ३१ लाख रुपैयाँ अर्थात् २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न नियामक निकायबाट अनुमति पाएको छ । सो परिमाणमध्ये १० प्रतिशत अर्थात् २३ हजार १०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ०.५० प्रतिशत अर्थात् १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त समूहहरूलाई छुट्याएपछि बाँकी रहेको १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । १० कित्ताका दरले आवेदन दिने हो भने १९ हजार ५१९ जना आवेदकलाई सेयर प्राप्त हुने अनुमान गरिएको छ । आईपीओमा साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।