विकासन्युज

देशभर जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कुन-कुन प्रदेशमा वर्षा हुन्छ ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।      मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

नबिल इन्भेष्टमेन्टले ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल म्युचुअल फण्डअन्तर्गत दोस्रो खुलामुखी सामूहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ। यही साउन ३० गतेदेखि २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरू निष्काशन गरिने जनाइएको छ । यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ । ‘एनआई ३१ योजना’ले पूजिंबजारमा बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको छ। यसअघि नै नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ ।

हरेकको भान्सामा हाइलाइफ, डबल डिजिटको लाभांशपछि आईपीओ

काठमाडौं । २०५० को दशकसम्म पनि नेपालमा मकैको आटो खाने बानी थियो । आटो र ढिँडो खाने बानीलाई आधुनिक बनाउने गरी हाइलाइफ सुरु भयो । मकैबाट बन्ने परम्परागत परिकारलाई नयाँ सोचका साथ ‘कन्फ्लेक्स’ उत्पादन गर्न थालियो । जुन नेपालमा सबैभन्दा पहिला हाइलाइफले सुरुवात गरेको हो । तर, नेपालीहरूमा कन्फ्लेक्स खाने बानी बसाल्न कम्पनीलाई धौधौ भयो । कम्पनीमा धेरै उतारचढाव आए । धेरै पटक कम्पनी आफै पछाडि हट्नुपर्‍यो । घाटामै चल्नुपर्ने बाध्यता आयो । बन्द नै गर्नुपर्छ कि भन्ने सोचमा पनि  पुगे लगानीकर्ता।  तर लगानीकर्ता तुलसी घिमिरेले हार खाएनन् । महिमा ब्राण्डबाट व्यवसाय विस्तार गरिरहेका उनले चिउरा उद्योग सञ्चालनमा ल्याए । चिउरा उद्योग सञ्चालन गर्दा उनको कन्फ्लेक्स प्रडक्टले बजारको दायरा फराकिलो बनाइसकेको थियो । किनकि नेपालीहरूमा कन्फ्लेक्स खाने बानीको विकास भइसकेको थियो । चिउरापछि कम्पनी ओट्स, चोकोज लगायत आधुनिक र मेसिन प्रोसेस्ड खाद्य प्रडक्ट उत्पादन गर्न थाल्यो ।  कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउँदै गयो । सँगै कम्पनीले महिमा ब्राण्डलाई यथावत राखी नयाँ ब्राण्डिङ रणनीति अघि सार्‍यो 'हाइलाइफ' ब्राण्डमा । विसं २०७३ सालदेखि हाइलाइफ ब्राण्डबाट आफ्ना उत्पादनलाई बजारमा पठायो । कम्पनीले हाइलाइफ ब्राण्डलाई अधिकतम मार्केटिङ गर्‍यो । बिडम्बना विश्वव्यापी फैलिएको कोरोना भाइरस नेपालमा समेत फैलियो । मान्छेहरू घरभित्र बस्न थाले । तर, कोरोनाकालमा हाइलाइफलाई फाइदा पुग्यो, ब्राण्डिङ अझै उत्कृष्ट बन्यो ।  ‘२०७६ मा कोरोना आयो । सप्लाइ चेन नै बन्द भयो । कोरोनामा मान्छेहरू घरभित्र बस्न थाले । तर, कम्पनीको चिउराको आफ्नै सवारी थियो । त्यसबाट हाइलाइफको सप्लाइ चेन राम्रो बन्यो । कोरोनामा ब्राण्ड अझ उत्कृष्ट बन्यो । ‘सबै यातायात बन्द भएको बेलामा हामीले हाम्रो गाडीबाट सिधै सप्लाइ गर्न पायौं,’ कम्पनीका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, ‘त्यसरी सप्लाइ गर्दा हाइलाइफ ब्राण्ड नेपालमा चर्चित बन्यो । कम्पनीले पनि सामाजिक सञ्जालमा मार्केटिङ बढायो । हरेक ठाउँमा प्रचार प्रसार गर्याैं । ब्राण्डिङमा हामीले अधिकतम पैसा खर्च गर्याैं ।’  कम्पनीमा युवा पुस्ता थिए । जोस जाँगरका साथ कम्पनीलाई ब्राण्डिङमा अब्बल बनाए । कम्पनीका उत्पादित प्रडक्टलाई अझै बजारमा व्यापक बनाएर अघि बढ्ने योजना बनाए । कोरोनामा सबै व्यवसाय बन्द भएर ठप्प थिए । तर, हाइलाइफले उच्च कारोबार गर्‍यो । तर, जब कोरोनाको त्रास कम हुँदै थियो, बजारमा गतिविधि बढ्दै गयो । कम्पनीको कारोबारमा गिरावट आयो ।  ‘कोरोनाकालमा राम्रो कारोबार गरेको कम्पनीले कोरोनापछि अवस्था नाजुक बन्यो । ५ महिना/ १ वर्षपछि कोरोनाको असर कम्पनीमा देखापर्‍यो । हामीलाई वित्तीय अवरोध हुन थाल्यो,’ ज्ञवालीले भने । वित्तीय अभाव हुन थाले पछि कम्पनी ब्याक हुनुपर्ने अवस्था आयो । कम्पनी ब्याक भएन, रणनीति फेर्‍यो नयाँ लगानीकर्ता भित्र्याउने । कम्पनीका सञ्चालक नयाँ लगानीकर्ताको खोजीमा दौडधुपमा लाग्यो । धेरै लगानीकर्तासँगको विभिन्न चरणमा छलफलपछि अन्ततः कम्पनीमा भित्रियो बिग इन्डस्ट्रिज र हाथवे इन्भेष्टमेन्ट । ‘हामी सेल्स र मार्केटिङमा लागेका थियौं । अम्बिका सर (अध्यक्ष अम्बिका पौडेल) र सन्दीप शाह जत्तिको टिम आइसकेपछि वित्तीय व्यवस्थापनमा चिन्ता भएन । नयाँ टिमले वित्तीय व्यवस्थापन र पुरानो टिमले सेल्स, मार्केटिङ एण्ड प्रडक्सन हेर्ने गरी हामी अगाडि बढ्यौं । विगत तीन वर्षदेखि हामी सहकार्य गर्दै आइरहेका छौं,’ज्ञवालीले भने ।  हाइलाइफ फूडको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीमा करिब ३० जना लगानीकर्ता रहेका छन् । कम्पनीको मुख्य लगानीकर्ता हाथवे इन्भेष्टमेन्ट रहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । कम्पनीका नयाँ योजना  कम्पनीको भैरहवामा रहेको प्लान्टबाट विभिन्न प्रडक्ट उत्पादन गरिरहेको छ । कम्पनीले ७० प्रतिशत प्रडक्ट उत्पादन गरेर बिक्री वितरण गर्छ भने ३० प्रतिशत आयात गरेर बिक्री वितरण गर्छ । कम्पनीले हाल २० वटाभन्दा बढी प्रडक्ट उत्पादन गर्दै बिक्री वितरण गरिरहेको ज्ञवालीले जानकारी दिए । उनका अनुसार अब दाल, चामल लगायतका प्रडक्ट ल्याउने योजना रहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने खाद्य वस्तुलाई कर्णाली ब्राण्डमा बजारमा ल्याउने योजना रहेको उनको भनाइ छ ।  २५ हजार आउटलेटमार्फत कम्पनीका ब्राण्ड बजारमा उपलब्ध छन् । प्रबन्ध निर्देशक ज्ञवालीका अनुसार २०५९ सालमा फ्याक्ट्री खोल्दा नेपालको मकैबाट कन्फ्लेक्स उत्पादन गर्ने योजना थियो । तर, अहिले कन्फ्लेक्स उत्पादनका लागि नेपालमा मकै अभाव रहेर भारतबाट खरिद गर्नु परेको छ । कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेल ३० वर्ष पुरानो कम्पनीमा ४ वर्ष अगाडि आफूहरू नयाँ व्यवस्थापनसहित प्रवेश गरेपछि नतिजा देखाउने गरी काम गरिरहेको बताउँछन् । आफूहरू प्रवेश गरिसकेपछि कम्पनीको कारोबारको आकार र व्यवसायको आकार बढेको उनको भनाइ छ ।  ‘नतिजा देखाउनुपर्छ भन्नेमा हामी सतर्क छौं । करिब ३० वर्ष पुरानो कम्पनीमा ४ वर्ष अगाडि नयाँ व्यवस्थापनसहित बिग इन्डस्ट्रिज, हाथवे इन्भेष्टमेन्ट र नव उद्यमी प्रवेश गर्याैं । विशेष गरी पुँजी बजारमा आवद्ध रहेका व्यक्तिको लगानी छ,’ उनले भने, ‘नयाँ व्यवस्थापनको नयाँ सोच र पुरानो व्यवस्थापनको व्यवसायिक उत्कृष्टतालाई फ्यूजन गरेर कम्पनीलाई यहाँसम्म पुर्याएका छौं ।’  तत्कालका लागि तीनवटा क्याटेगोरीमा बासमती चामल बजारमा ल्याए पनि छिट्टै थप गर्ने योजना रहेको  प्रबन्ध निर्देशक ज्ञवालीले बताए । स्थानीय उत्पादनलाई व्यापक बनाउने गरी कर्णाली ब्राण्डलाई छिट्टै बजारमा सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ ।  ‘हामी चिउरामा पायोनियोर हौं । हामी छिट्टै भुजा पनि बजारमा ल्याउँदैछौं । साथै दाल, गेडागुडीहरू पनि ल्याउँछौं । स्थानीय प्रडक्टलाई प्रचारप्रसार गर्ने उद्देश्यका साथ कर्णाली ब्राण्ड पनि दर्ता गरिसकेका छौं । कर्णाली ब्राण्डको नामबाट पहाड, हिमालनमा पाइने टिपिकल नेपाली उत्पादनहरू ल्याउँछौं,’ उनले भने ।  उनका अनुसार अबको ५ वर्षमा कम्पनीलाई ७७ जिल्लामा हाइलाइफ पुग्नेछ । साथै देशभरका प्रत्येक घरघर, प्रत्येक भान्सामा हाइलाइफ ब्राण्डका कुनै न कुनै प्रडक्ट पुर्याउने योजना रहेको  प्रबन्ध निर्देशक ज्ञवालीले सुनाए।  डबल डिजिटमा लाभांश क्षमता भएपछि आईपीओमा जाने ४ वर्ष अगाडि नयाँ लगानीकर्ता प्रवेश गर्दा कम्पनीको पुँजी थोरै थियो । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । सेयर बजारबाट उदाएका अम्बिका पौडेलले कम्पनीमा लगानी गरेपछि अधिकांशले चासो राख्ने गरेका छन् । साथै कम्पनीले आईपीओ कहिले जारी गर्छ भनेर उनलाई सोधिरहन्छन् ।  ‘पछिल्लो समय स्थापना भएको छोटो समयमै आईपीओ जारी गर्ने होडबाजी चलिरहेको छ । तर, हामी कम्पनीलाई पहिला आफ्नै खुट्टामा पूर्ण रुपमा उभ्याउने हो । यो कम्पनी हाम्रो छवि (इमेज)सँग जोडिएको छ । हामी युवा उद्यमीको सपनासँग जोडिएको छ,’ उनले जवाफ दिन्छन्, ‘जब डबल डिजिटमा लाभांश दिन सक्षम छ भनेर हाम्रो व्यवस्थापन टिम र सञ्चालक समितिलाई लाग्छ । त्यसपछि कम्पनीको आईपीओ जारी गर्ने हो ।’  कम्पनीलाई कहाँ, कतिसम्म उचाइमा पुर्याउने भन्दा पनि दीर्घकालसम्म टिक्न सक्ने बनाउने योजना रहेको उनले बताए ।  ‘हामी रहौंला/नरहौंला तर कम्पनी दीर्घकालसम्म रहिरहनु पर्छ भन्ने मान्यता हो । हाम्रो व्यावसायिक साझेदार लालकिल्लाको इतिहास सन् १९०१ देखि हालसम्म निरन्तर रहेर वृद्धिको यात्रामा छ । त्यस्तो कम्पनीसँग हामीले साझेदारी गरेका छौं,’ पाैडेलले भने, ‘हामीले पनि व्यावसायिक साझेदारको राम्रो पाइलालाई पच्छ्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । व्यक्ति रहला वा नरहला तर संस्था निरन्तर चलिरहनु पर्छ । संस्थामा सुशासन स्थापित हुनुपर्छ भन्ने मान्यतामा हामीले दृढ संकल्प राखेका छौं ।’ 

गोल्यान ग्रुपको ६५ वर्ष पूरा : २५ भन्दा बढी व्यवसाय, १० हजार रोजगारी

काठमाडौं । नेपालको एक प्रमुख व्यवसायिक समूह गोल्यान ग्रुपले आफ्नो ६५ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ । यस फिल्ममा कम्पनीको यात्रासँगै अगाडि बढेका नेपालीहरूको दैनिक जीवनका कथाहरूलाई उजागर गरिएको छ ।  ‘विकासका लागि गोल्यान’ शीर्षक अन्तर्गत बनेको यो फिल्मले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा गोल्यान ग्रुपले गरेको लगानीले कसरी व्यक्ति, समुदाय र राष्ट्रका लागि वास्तविक अवसरहरू सिर्जना गरेको छ भन्ने कुरालाई देखाएको छ । सन् १९६० मा स्थापित गोल्यान ग्रुप नेपालको एक प्रमुख व्यापारिक समूह हो, जसले देशभर २५ भन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएको छ । ६ हजारभन्दा बढी कर्मचारी र चार सय मिलियन अमेरिकी डलरभन्दा बढीको वार्षिक आम्दानीका साथ यस समूहको उत्पादन, कृषि, नवीकरणीय ऊर्जा, रियल स्टेट र आतिथ्य सत्कारका क्षेत्रमा बलियो उपस्थिति छ । गोल्यान ग्रुपले आफूहरूको जग नेपालभित्रै मूल्य सिर्जना गर्ने सिद्धान्तमा आधारित छ भन्दै रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने र स्थानीय उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्ने कुरा यसअन्तर्गत पर्ने बताएको छ ।  यो ब्राण्ड फिल्मले सोही प्रतिबद्धतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको समूहको भनाइ छ । ‘कम्पनीको दृष्टिकोणबाट नभई ती मानिसहरूको आँखाबाट जसको जीवनमा यसले सकारात्मक परिवर्तन ल्याएको छ,’ समूहको भनाइ छ, ‘सौर्य ऊर्जाबाट उज्यालो पाएको बच्चादेखि लिएर उचित बजारसम्म पहुँच पाएका किसान र आर्थिक रूपमा आत्मनिर्भर बनेका कारखानाका मजदुरसम्मको कथालाई यस फिल्मले समेटेको छ ।’ जब विकासले सबैलाई समेट्छ, तब मात्र त्यसको वास्तविक महत्त्व हुन्छ भन्ने कुरा यस ब्राण्ड फिल्मले देखाउँछ ।  गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान भन्छन्, ‘यो फिल्म हामीबारे होइन । यो ती मानिसहरूबारे हो जसको जीवन र प्रयासले हाम्रो यात्रालाई आकार दिएको छ, जसरी हामीले उनीहरूको जीवनमा योगदान पुर्‍याएका छौं। यो साझा प्रगतिको कथा हो- ती मानिसहरू, समुदायहरू र हाम्रो देशको, जसको हामी गर्विलो हिस्सा हौं ।’ भिडियोमा रहेको सन्देशले गोल्यान ग्रुपको दीर्घकालीन दर्शनलाई प्रतिबिम्बित गर्छ । विगत ६५ वर्षदेखि, यस समूहले नाफाभन्दा माथि उठेर मानिसहरूलाई सशक्त बनाउने, जीविकोपार्जनमा सुधार गर्ने र सबैका लागि दिगो भविष्य निर्माण गर्ने लक्ष्यका साथ आफूहरूले उद्यमहरू खडा गर्दै आएको बताएको छ । गोल्यान ग्रुप साँचो अर्थमा महत्त्वपूर्ण हुने विकासप्रति प्रतिबद्ध छ भन्दै समूहले ‘विकासका लागि गोल्यान’ हो भनेको छ । गोल्यान ग्रुप र यसको नेतृत्वले धेरै सम्मान र पुरस्कारहरू प्राप्त गरेका छन्, जसमा निर्यात र रोजगारीमा उत्कृष्ट योगदानका लागि सरकारद्वारा २०२५ र २०२० मा ‘व्यापारिक रूपमा महत्त्वपूर्ण व्यक्ति’ (सीआईपी) को उपाधि पनि समावेश छ ।  यस समूहले उत्कृष्ट निर्यातक र रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यातक पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२) लगायत अन्य धेरै सम्मानहरू पनि प्राप्त गरेको छ । यी सबै सम्मानले जिम्मेवार र समावेशी विकासका माध्यमबाट आर्थिक प्रगतिमा गोल्यान ग्रुपको निरन्तर भूमिकालाई दर्शाउँछ।  

मन्त्रीहरुको भ्रमणमा आकर्षक भत्ता, ऐन नै संशोधन

 काठमाडौं । सरकारले मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ मा संशोधन गर्दै भ्रमणमा पनि आकर्षक भत्ता पाउने व्यवस्था गरेको छ ।  ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन १४ गते प्रमाणीकरण गरेसँगै अब प्रधानमन्त्री तथा मन्त्रीहरूले भ्रमण गरेबापत भत्ता पाउने भएका हुन् । सो ऐनको दफा ३ को उपदफा १ को सट्टा मन्त्रीहरूलाई सरकारी कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्दा भ्रमणको भत्ता सम्बन्धी प्रचलित कानुनमा निर्धारण भए बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइने व्यवस्था गरिएको छ ।  २०७७ सालमा स्वीकृत कार्य सञ्चालन निर्देशिकामा उल्लेख भए अनुसार प्रधानमन्त्रीले मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । उनले स्वदेशमा भ्रमण गर्दा तीन हजार रुपैयाँ पाउँछन् । प्रधानमन्त्रीले पारिश्रमिक ७७ हजार २८०, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ५ हजार, मासिक मसलन्द तथा अतिथि सत्कार अन्तर्गत १० हजार रुपैयाँ पाउँछन् । प्रधानमन्त्रीले मासिक ३ सय ६ लिटर पेट्रोल, वार्षिक ४० लिटर मोबिल पाउँछन् ।  उपप्रधानमन्त्रीको मासिक पारिश्रमिक ७५ हजार ६ सय ४० हो । यसमा मसलन्द, महँगी भत्ता र सञ्चारसमेत जोड्दा मासिक ८४ हजार ६ सय ४० तलब हुन आउँछ । अब उनले स्वदेशमा तथा विदेशमा भ्रमण गर्दा पनि भत्ता पाउनेछन् । उपप्रधानमन्त्रीले मासिक ३ सय ६ लिटर पेट्रोल पनि पाउँछन् ।  मन्त्रीहरूको हकमा मासिक पारिश्रमिक, मसलन्द तथा अतिथि सत्कार ३ हजार ५ सय, महँगी भत्ता १ हजार, सञ्चार सुविधा ३ हजारसमेत गरी जम्मा ७९ हजार २ सय ३० पाउँछन् । मन्त्रीहरूले पनि अब भ्रमण भत्ता पाउनेछन्। 

गोगोरो स्कुटर अब झनै मुल्यवान, नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याकग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ । कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । कार्यक्रम साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ । यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४० हजार किलोमिटर अवधिभित्र १ लाख रुपैयाँको बाइब्याक भ्यालु ग्यारेन्टी गर्नेछ । कम्पनीका अनुसार विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो । जसले रिसेल भ्यालु घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागतईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेशनमा स्वाप गर्ने हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमापुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ । 'गोगोरो नेपालको यातायातको भविष्य हो' नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवीशाहले भने,'सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ । हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं । आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौँ ।'

फक्सवागनका दुई मोडल भर्टुस र टाईगुन नेपाली बजारमा

काठमाडौं । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले नाइमा अटो शोमा भर्टुस सेडान र नयाँ टाईगुन गाडीको लञ्च गरेको छ ।  यी दुवै गाडीहरूमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ । अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरूमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिन्डरद्वारा चल्ने १५०० सी.सी. बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ ।  वट्रस जी टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् । फक्सवागन भर्टुस सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभीभन्दा पनि बढी अर्थात् १८० मि.मि. को ग्राउण्ड क्लियरेन्सका साथ आउँछ । बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा सहर होस् वा ग्रामीण सडक सबै ठाउँमा यो गाडी लान सकिन्छ । नेपालको बाटोमा सुहाउँदो, १८८ एमएमको ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्फर्टटका फिचरहरू राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल इत्यादि दुवै मोडलमा राखिएको छ । 

जब बेरोजगार युवकको खातामा अर्बौं रुपैयाँ आयो...

काठमाडौं । भारतको उत्तर प्रदेशको दनकौर गाउँमा बस्ने एक बेरोजगार युवकको बैंक खातामा अचानक अर्बौं रुपैयाँ जम्मा भएको अनौठो घटना सार्वजनिक भएको छ । २० वर्षका दीपू उर्फ दिलीप सिंहले दुई महिनाअघि कोटक महिन्द्रा बैंकमा आफ्नो खाता खोलेका थिए । अगस्ट २ मा दिलीपले बैंकको मोबाइल एपमा लगइन गर्दा उनको होस उड्यो । मुटु तेज गतिमा धड्किन थाल्यो। खातामा देखिएको रकम थियो- १०,०१,३५,६०,००,००,००,००,००,००,०१,००,२३,५६,००,००,००,००,२९९ भारु । दिलीपले मोबाइल एप बारम्बार बन्द गरे, पासवर्ड फेरे, तर खाताबाट त्यो अर्बौं भारु हराउन मानेन । बीबीसीसँगको कुराकानीमा उनले भने, ‘रकम यति ठूलो थियो कि म गन्नै सकिनँ । बस यति बुझें कि यो ३७ अङ्कको संख्या हो । गुगलमा पनि अनुवाद गर्न खोजें, तर त्यहाँबाट पनि केही सहायता मिलेन ।’ दिलीप भन्छन्, ‘मैले धेरैलाई देखाएँ तर कोही पनि त्यत्रो ठूलो रकम गन्न सकिरहेका थिएनन् ।’ क्यामरा अगाडि जब दिलीप आफैले रकम गन्ने प्रयास गर्छन्, उनी दश अर्बसम्म गनेपछि हार मान्छन् र भन्छन्, ‘यसपछि त मलाई गन्न आउँदैन ।’ दिलीपले कक्षा १२ सम्म पढेका छन् र हाल बेरोजगार छन् । उनी केही समयदेखि कामको खोजीमा छन् । बैंक खातामा अर्बौं रुपैयाँ देखेपछि दिलीपलाई सुरुमा लाग्यो कि यो कुनै प्राविधिक त्रुटि हुनसक्छ, तर बारम्बार जाँच गर्दा पनि उही रकम देखिइरहेको थियो । दिलीप भन्छन्, ‘मलाई लाग्यो- यत्रो पैसा छ भने केही त प्रयास गरौं अनि १० हजार रुपैयाँ अर्को खातामा ट्रान्सफर गर्ने प्रयास गरें । तर, सकिनँ, बैंकले मेरो खाता फ्रीज गरिदियो ।’ ‘म त्यत्रो पैसा देखेर छक्क परें । एकछिन त लाग्यो लटरी लागेको हो, तर लटरी पनि यत्रो ठूलो त पक्कै हुँदैन,’ उनले थपे । जब दिलीप सिंहसँग सोधियो कि अर्बौं रुपैयाँ आउनु अघि खातामा कति पैसा थियो, उनले भने, ‘१०–२० रुपैयाँ मात्र थियो ।’ दिलीपले आफैले कोटक महिन्द्रा बैंकमा अनलाइन सेभिङ खाता खोलेका थिए । जब खातामा अर्बौं रुपैयाँ देखियो, उनी आफै बैंक गइ खबर गरे । बैंकले उनलाई भने, ‘डराउनु पर्दैन । जुन रकम देखिएको छ त्यो वास्तवमा रुपैयाँ होइन, यो एउटा प्राविधिक त्रुटि हो ।’ दनकौर थानाका सब इन्स्पेक्टर सोहनपाल सिंहले बीबीसीसँग भने, ‘पुलिसले अनुसन्धान गरिसकेको छ । फोनपे र बैंक स्टेटमेन्ट जाँच गर्दा युवकको खातामा शून्य रुपैयाँ देखिएको छ ।’ उनले थपे, ‘पुलिसले बैंकसँग पनि सम्पर्क गरेको छ। प्राविधिक त्रुटिका कारण एउटा विशेष एपमा यस्तो रकम देखिएको हो, तर वास्तविकतामा खातामा एक रुपैयाँ पनि छैन ।’ दिलीपको खातामा अर्बौं रुपैयाँ आएको खबरले दनकौर सहरभर चर्चा पाएको छ । विगत केही दिनदेखि पत्रकारहरू पनि लगातार दिलीपसँग भेट्न आइरहेका छन् । दिलीपका एक छिमेकी भन्छन्, ‘मेरो नाम पनि दिलीप हो । त्यसकै कारणले गर्दा मानिसहरूले मलाई पनि फोन गरिरहेका छन् । यहाँ धेरैजसो जनता गरिब छन् । यत्रो रकम खातामा देखेपछि सबैजना चकित छन् ।’ उनी थप्छन्, ‘दिलीपका साथीहरू बैंकको ब्यालेन्स स्क्रिनशट लिएर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । केही पोस्ट त भाइरल समेत भएका छन्। ’