विकासन्युज

नाडा अध्यक्ष चौधरी नाइमा एक्स्पोमा : अटोमोबाइल क्षेत्रको सहकार्य र रूपान्तरणको संकेत

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नाइमा नेपाल मोबिलिटी एक्स्पो  अवलोकनमा पुगेका छन् । शुक्रबार अध्यक्ष चौधरी नाडाबाट छुटिएर बनेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा ) ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवलोकन गर्न पुगेका हुन् ।  नाडाका अन्य पदाधिकारीहरू सहित एक्स्पोमा पुगेका चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको विकासका लागि नाडा र नाईमाबिचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।  एक्स्पो अवलोकनका क्रममा अध्यक्ष चौधरीले दुई संस्थाहरूको सहकार्यले नेपालको अटोमोबाइल व्यवसायमा देखिएका नीतिगत र व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्न सहज हुने विश्वास व्यक्त गरेको नाइमाले जनाको छ ।  नाइमा नाडाबाट छुटिएर बनेको सवारी साधनका आयातकर्ताहरू मिलेर गठन भएको नयाँ संस्था हो ।  नाइमाले आयोजना गरेको यो पहिलो एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरू सहभागी छन् ।  गत बुधबारदेखि सुरु भएको एक्स्पो यही साउन २५ गतेसम्म चल्नेछ । यस एक्स्पोमा विद्युतीय सवारी, स्मार्ट मोबिलिटी सोलुसन्स र सडक सुरक्षा प्रविधिहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । आयोजकले ७० देखि ८० हजार मानिसले एक्स्पोको भ्रमण गर्ने अनुमान गरेका छन् ।  

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिँदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन् । लामो समयदेखि विद्यार्थी संख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रियासमेत थालिएको छैन । जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । जिल्ला शिक्षा समन्वय एकाई पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँपालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा ९ विद्यालयमा विद्यार्थी संख्या शून्य भएको छ । यसैगरी फलेवास नगरपालिकामा ६ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य पुगेको हो भने कुश्मा नगरपालिकामा विद्यार्थी संख्या शून्य भएका आठ सामुदायिक विद्यालय रहेका एकाइले जानकारी दिएको छ । यस्तै जलजला गाउँपालिकामा ४ सामुदायिक विद्यालयमा विद्यार्थी शून्य रहेका छन् भने दक्षिण पर्वतको पैयूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाई पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार फलेवास नगरपालिका– ५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको भएपनि स्थानीय तहहरूले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने काम नगरेको बताए । शून्य विद्यार्थी संख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयहरूमा कुश्मा नगरपालिकाभित्रकमा हर्राचौर प्रा‍.वि, जनजागृति प्रा.वि, जनकल्याण प्रा.वि, मराङसिंह प्रा.वि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रा.वि, जनता प्रा.वि रहेका छन् । जलजला गाउँपालिकामा शून्य विद्यार्थी हुने विद्यालयहरूमा जनचेतना प्रा.वि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा, स्वस्वती आधारभूत विद्यालय धाइरीड रहेका हुन् । यसैगरी फलेवास नगरपालिकामा शून्य विद्यार्थी हुनेमा श्री बाल प्रा.वि, ध्रुव नमूना मा.वि, सूर्योदय प्रा.वि, जनता प्रा.वि लिमिठाना, तीनधारे प्रा.वि, मनकामना प्रा.वि, बेतेयानी प्रा.वि, देउराली प्रा.वि र भवानी प्रा.वि रहेका छन् । यसैगरी दक्षिण पर्वतको पैंयू गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा बालनयन प्रा.वि, बालज्योति प्रा.वि हुन् । मोदी गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा सिद्ध आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, जनप्रकाश आधारभूत विद्यालय, हरि आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, बालकल्याण प्राथमिक विद्यालय, भूमे आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, दुर्गाभवानी आधारभूत विद्यालय र सिद्धबराह आधारभूत विद्यालय रहेका छन् । यता विहादी गाउँपालिकामा, जनसेवा प्रा.वि वहाकीठाँटी र बालज्योती प्रा.वि रानीपानीमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाई पर्वतले जनाएको छ । यसरी विद्यार्थी नै नभएका विद्यालयको संख्या ३१ पुगिसक्दा पनि पर्वतका स्थानीय सरकारहरूले विद्यालय समायोजन गराउन कुनै चासो नदिएको फलेवासका स्थानीय धर्म पौडेलले बताए । शिक्षकहरूलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलब सुविधा दिलाउने गरिएको छ । राज्यको बजेटको दुरूपयोग हुने भएपनि बाध्यतामा परेर शिक्षकहरू राख्नुपरेको फलेवास नगरपालिका– २ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले बताए । अहिले विद्यार्थी नभएपनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजना नगरिएको बुझिएको उनको भनाइ छ । शिक्षकहरूलाई सरुवा गर्नुको सट्टा रित्ता विद्यालय रुँगाएर जनप्रतिनिधिले राजनीतीक संरक्षण गरिरहेको पाइएको छ । करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जाने भएका कारण पनि कतिपय विद्यालय समायोजन नगरिएको कतिपय जनप्रतिनिधिले नै बताउने गरेका छन् ।

बजेट अभावमा भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अलपत्र

भोजपुर । भोजपुरमा शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले निर्माण थालिएको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक’ भवन निर्माणको काम अलपत्र परेको छ । प्रदेश सरकारको बजेटमा निर्माण थालिएको भवनको बजेट अभावमा काम अधुरो बनेको हो । कोशी प्रदेश सरकारबाट विनियोजित रु २५ लाख लागतमा विसं २०८१ मङ्सिर महिनामा भवन निर्माण थालिएको थियो । निर्माणको क्रममा बजेट नपुगेपछि भवन निर्माणको काम अधुरो बनेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भोजपुरका अध्यक्ष विष्णुकुमार राईले जानकारी दिए। माग गरिएको भएपनि प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन नगरेकाले भवन निर्माण अधुरो बनेको उनको भनाइ छ । 'बजेट अभावमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणको काम अधुरो बनेको छ' अध्यक्ष राईले भने, 'भवनको पूर्णताको लागि रु ५० लाख बजेट माग गरेका थियौँ । त्यो बजेट प्रदेश सरकारबाट बिनियोजन नहुँदा काम अधुरो बनेको छ । यो कामलाई पूर्णता दिनको लागि प्रदेश सरकारलाई अनुरोध गरिरहेका छौँ ।' स्थानीय पालिकामा बजेट माग गरेर रु १४ लाख ५० हजार बजेटमा २०० जना अट्न सक्ने सभाहल निर्माण भइरहेको उनले जानकारी दिए। भवन निर्माणको लागि मात्र प्रदेशबाट बजेट प्राप्त भएकाले स्थानीय तहसँग बजेट माग गरेर सभाहल निर्माण भइरहेको उनले बताए। हाल भवनमा तला मात्र थपिएकाले अन्य सम्पूर्ण काम बाँकी रहेको यसोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए। निर्माण थालिएको भवनको पूर्णताको लागि प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको थप विकासको लागि शिक्षकबाट पनि शैच्छिक रूपमा सहयोग सङ्कलन भइरहेको उनले जानकारी दिए। निर्माणधीण शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले स्थलगत अनुगमन गरेकी छन् । बजेट अभावमा अधुरो अवस्थामा रहेको भवन सम्पन्न गराउन आफू निर्णायक तहमा नभए पनि बजेटको लागि पहल गर्ने उनले बताइन्। 'मैले विगतबाट प्रदेश सरकारले थालेका तर पूर्ण हुन नसकेका योजनाको अनुगमन गरिरहेकी छु' राज्यमन्त्री राईले भनिन्, 'थालिएका अधुरा योजना सम्पन्न गराउन मैले जोड गरिरहेको अवस्था छ । यो भवनको विषयमा प्रदेश सरकारलाई जानकारी गराएर बजेटको लागि पहल गर्नेछु ।' भोजपुर नगरपालिका–७ मा तीन रोपनी, एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । यहाँ शहरी विकास तथा भवन कार्यालय धनकुटा मातहात भवन निर्माण थालिएको हो । रासस

सिटिजन्स बैंकको नाफा १.२९ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढ्यो

काठमाडौं । सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन ११.७६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ८९ अर्ब २३ करोड ६६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।  गत वर्ष बैंकको कर्जा लगानी १०.१८ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५३ अर्ब ३४ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस्तै, बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७० लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.१२ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २.३२ प्रतिशत घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढेर ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ५.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता ४.३२ प्रतिशत थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ९.६० प्रतिशत बढेर ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।  गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  खुद ब्याज आम्दानी, खुद शुल्क तथा कमिसन आम्दानी, खुद व्यापारिक आम्दानी, अन्य सञ्चालन आम्दानीमा केही वृद्धि, कर्मचारी खर्चमा केही कमी र अन्य सञ्चालन खर्च र परिशोधन तथा ह्रास खर्चमा केही वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धिका कारणले खुद नाफामा गत वर्षको सोही त्रैमासको तुलनामा कमी आएको बैंकले जनाएको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ०.५४ रुपैयाँ घटेर ८.७६ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९.३० रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ ।  अघिल्लो वर्ष ४.१० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ५.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.९४ प्रतिशत, आधार दर ६.२५ प्रतिशत र कस्ट अफ फण्ड ४.४९ प्रतिशत रहेको छ ।  व्यवसाय विविधिकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको उद्देश्य तथा स्थानीय तहका दुर्गम क्षेत्रमा खोलिएका शाखा, शाखा रहित बैंकिङ्ग, विस्तारित काउन्टर र डिजिटल सेवा सुविधाका विभिन्न माध्यमबाट ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच वृद्धि गर्दै लैजाने, ग्राहक मुखी नयाँ सेवा तथा सुविधामा आवश्यकता अनुसार वृद्धि गर्ने र ग्राहक सेवा सुविधा अझ चुस्त दुरुस्त र स्तरीय बनाउँदै लगिने योजना रहेको बैंकको भनाइ छ ।

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका

दमौली (तनहुँ) । म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर निर्माण गर्ने भएको छ । गाउँपालिकाले चालु आव २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको विशेष अनुदान योजनाअन्तर्गत अधिकतम १२ जना आर्थिक रूपमा विपन्न नागरिकलाई घर बनाएर हस्तान्तरण गर्न लागेको हो । नमुना आवास कार्यक्रमअन्तर्गत अधिकतम १२ वटा घर निर्माण गर्ने निर्णय अनुसार गाउँपालिकाका वडा नम्बर १ देखि वडा ७ मा रहेका लक्षित गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमूना आवास कार्यक्रम कार्यविधि (२०८० को दफा (३) अनुरूप मापदण्ड तथा सूचीभित्र पर्ने स्थानीय नागरिकलाई घर बनाएर हस्तान्तरण गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । निवेदनसँग जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिस संलग्न गर्नुपर्ने अधिकारीले बताए । नयाँ आवास पाउने नागरिकको मापदण्डभित्र सामान्य प्रकृतिका श्रम (दैनिक जीविकोपार्जन गर्ने तथा कृषिमा आधारित) बाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो आयस्रोत नभएको वा अति गरिब तथा न्यून वर्गमा पर्नुपर्नेछ । त्यस्तै विगत आव २०८१/८२ मा निवेदन दर्ता गरी छनोटमा नपरेका व्यक्तिले पुनः निवेदन दिनुपर्ने अधिकारीको भनाइ छ । म्याग्दे गाउँपालिकाले गत आव २०८१/८२ मा ४८ जना विपन्न जनतालाई घर हस्तान्तरण गरेको थियो । वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक रूपमा विपन्न वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको थियो । म्याग्देका सात वटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिएको थियो । घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै आवास कार्यक्रम सञ्चालन गरिएको अधिकारीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए । घर पाएका लाभग्राहीले दश वर्षसम्म ती घर बेचबिखन, धितो राख्न वा भाडामा दिन नपाउने व्यवस्था गरिएको छ । आफू निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० वटा घर बनाउँछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ वटा घर बनेको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेपालको संविधानमा आवासको हकलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरिएको हुँदा नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको गाउँपालिकाले उक्त आवासको हक कार्यान्वयन गरेको बताए । रासस

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, कांग्रेस पार्टीका मन्त्रीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे ।  सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए ।  यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना भएको हो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा उनले एक उच्चस्तरीय गोलमेच बैठकको सह अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा सम्बोधन गरेका थिए ।  एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्टित विकासशील देशले सो सम्मेलनमा भाग लिएका थिए । सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्टित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल भएको जनाइएको छ । ती मुलुकको अन्तर्राष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्टित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् । प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ । सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौती सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पुर्याउने ठानिएको छ । यसैगरी यी देशलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको भूमिका बनेको छ । यसअघि भूपरिवेष्टित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अष्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा दिव्यासिंह शाह,उच्च पदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मीसमेत सहभागी भएका थिए । 

आज जनै पूर्णिमा रक्षा बन्धन धारण गरेर मनाइँदै, राखी बाँधिँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधि पूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ  भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसकारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले  ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।  तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिएको हो ।  वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षा बन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक लगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।   क्वाँटीको परम्परा जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाममा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघा खोकीजस्ता रोग पनि निको हुने उनले सुनाए । तराई क्षेत्रमा राखी बाँधिँदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ ।  काठमाडौंको उत्तर पूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुष सागर र गङ्गासागर, जुम्लाको दान साधु एवं नवलपरासीको त्रिवेणी धामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।

कोशी र बागमतीमा भारी वर्षा हुने, मनसुन पश्चिममा नेपालको तराई नजिक

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।  आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भाग र मधेश प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।