विकासन्युज

‘नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु लिन सकिन्छ’

काठमाडौं । निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।  उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउनसकेको र १० हजार मडिकल विद्यार्थीलाई ल्याउनसके ५० अर्ब रेभिन्यु भित्र्याउन सकिने बताए । अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्नसक्ने बताए । अझ दुई चरणमा अध्ययन गराउनसके फाइदा हुने उनको भनाइ छ । मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने उनको भनाइ छ । मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्ने उनको भनाइ छ । साथै अनलाइन एप्लिकेसनको व्यवस्था हुनुपर्ने जानकारी दिए ।  उनले भने, ‘५ हजार विदेशी विद्यार्थी अहिलेको मेडिकल पूर्वाधारले धान्छ । त्यसमा डबल सेसन गरिदिनुपर्छ । संसारभर डबल सेसन पढाइन्छ । सरकारी अस्पतालमा पनि डबल सेसन गर्ने हो भने आन्तरिक रुपमा आर्थिक रुपमा पनि सबल हुन्छ । देशमा पनि अन्तरिक पर्यटक, मेडिकल पर्यटकले ठूलो टेवा पुग्छ । थोरैमा पाँच हजार र धेरैमा १० हजार विद्यार्थी ल्याउनसक्छौँ ।’  नेकपा एमाले सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारले कति लगानी गरेको छ ? र कसरी अझ प्रभावकारी बनाउने भन्नेबारेमा सोच्न जरुरी रहेको बताइन् । लगानी प्रभावकारी रुपबाट कार्यान्वयन गर्न जरुरी रहेको बताइन् ।  उनल भनिन्, ‘हामीले नेपालको चिकित्सा शिक्षामा कति लगानी गरेका छाँै ? हामीले गरेको लगानी कति प्रभावकारी छ । हाम्रो लगानी प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छ की छैन ? अब हामी आगामी दिनमा यस्ता चिकित्सा शिक्षामा लगानी गर्ने क्रममा नेपाल सरकारले भुमिका कसरी बढाउने भन्ने हो । ’ कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले नेपाललाई चाहिने मेडिकल जनशक्तिको अध्ययन गरी आवश्यक भन्दा बढी उत्पादन भए मात्रै बाहिर पठाउनुपर्ने बताए । नेपालले बाहिर जनशक्ति पठाउने भन्दा पनि बाहिरबाट विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताए । कसरी बाहिरबाट बढी विद्यार्थी ल्याउने भन्नेकुरा प्राथमिकतामा पर्नुपर्ने बताए । यसमा राष्ट्रले एउटा नीति बनाएरै अघि बढ्नुपर्ने जरुरी रहेको जानकारी दिए ।  उनले भने, ‘हाम्रो पोलिसीमा हामीलाई कति मेडिकल जनशक्ति चाहिने ? बाहिरबाट कसरी बढी विद्यार्थी ल्याउन सकिन्छ, त्यसलाई प्राथमिकता दिनुपर्छ । हामी बंगलादेश गएर पढिरहेका छौँ, किन जाने हामी ? किन रसिया, किन फिलिपिन्स जाने ? किन यहाँ पढ्न नपाउने ? त्यो कुरामा पनि राष्ट्रले एउटा नीति बनाउनुपर्छ । त्यत्तिकै एनओसी दिने पठाइदिने गरेर भएन । यहीँ रोक्ने व्यवस्था गर्नुपर्छ ।’ अध्यक्ष भुसालले नो अब्जेक्शन लेटर दिएर बाहिर पठाउने काम बन्द गर्नुपर्ने भन्दै यहीँ उपयोग गर्ने वातावरण बनाउन जरुरी रहेको बताए । 

वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ

पर्सा । पर्साका सखुवाप्रसौनी गाउँपालिका–२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उनले सबै खेतमा धान रोपिसके ।  'अकाशेपानी पर्नु अघि नै साढे नौ विघामा जेनतेन रोपाइँ गरिसकेका थियौँ, तर, डेढ विघामा लगाएको चैते धान भित्राउन ढिला भएकाले रोपाइँ गर्न सकेका थिएनौँ', उनले भने, 'एक सातायता  यहाँ दिनहुँजसो पानी परेसँगै बाँकी खेतमा पनि धान रोपेका छौँ ।' उनले ढिलै भएपनि अकाशेपानी परेपछि यहाँका किसान उत्साही भएको बताए ।  'एक त चैतेधान भित्राउनै ढिलो भयो, अर्कोतर्फ नियमित बिजुली नआउँदा पनि बोरिङमार्फत पानी निकालेर रोप्न गाह्रो भयो', उनले भने । मधेश प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादव मधेस प्रदेशमा अकाशेपानी परेसँगै धान रोपाइँ धमाधम भइरहेको बताए । 'यही साउन १६ गतेसम्म मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये ५७ दशमलव २७ प्रतिशतमा मात्रै धान रोपाइँ भएको थियो, पछिल्लो एक सातामा थप १९ दशमलव २७ हेक्टरमा धान रोपाइँ भएको छ', वरिष्ठ वागवानी अधिकृत यादवले भने ।  निर्देशनालयका अनुसार यही साउन २३ गतेसम्म मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ कूल ७६ दशमलव ५४ प्रतिशत अर्थात दुई लाख ८५ हजार दुई सय ३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहट जिल्लामा ८५ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको छ । सर्लाहीमा पनि ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।  कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले अकाशेपानी परेपछि पर्सामा धान रोपाइँ अन्तिम चरणमा पुगेको बताए । उनले भने, 'पानी परेपछि धान रोपाइँ राम्रो भएको छ, केही दिनसम्म नियमित पानी परे धान रोपाइँमा थप सहज हुन्छ ।' अकाशेपानी परेसँगै बाराका कृषकहरुमा पनि उत्साह थपिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायणप्रसाद साहले बताए । 'अकाशेपानी परेसँगै धानको रोपोलाई धेरै हदसम्म राहत भएको छ । धान नरोपिएको ठाउँमा पनि धमाधम धान रोपाइँ भइरहेको छ ।' कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले अकाशेपानी परेसँगैसर्लाहीमा ७५ प्रतिशत धान रोपाइँ भएको बताए । 'पानी नपर्दा खेतमा धाँजा फाटेको थियो, अहिले पानी परेपछि सुकेको रोपो पलाउने आशा जगाएको छ', उनले भने । रासस

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

ढोरपाटन । शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी कोरिडोरमा यातायात सञ्चालनमा आएको छ ।  बागलुङ नगरपालिका–१२ कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध करिडोर आज विहान १० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।  कोरिडोर अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद भएको थियो । सडक सञ्चालनमा आएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौलीलगायतका स्थानमा जाने सवारी साधान पनि गन्तव्यतर्फ लगेको प्रहरी निरीक्षक थापाले बताए । उनले भने, 'रातिनै सडक खुलाउने प्रयास गरेका थियौँ, तर भारी वर्षा भइरहेको र पहिरो पनि खसिरहेको हुँदा खुलाउन सकएन, आज विहानैदेखि मेसिन लगाएर सडक खुलेको छ, सडक खुलेपछि अलपत्र सवारी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।'

पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना

काठमाडौं । तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनको जीवन यात्रा हाल अन्तर्राष्ट्रिय जगत्सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उनले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उनबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ । नेपाली मूलका क्यानडेली व्यवसायी । ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी । डिजी मार्केट इन्टरनेसनलका संस्थापक । महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिएका हुन्, आदित्य झा । उनी नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन् । झाको दाबी छ, ‘यदि मलाई नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु । कसरी जम्मा एक जनाले सिंगापुर बनाउन सक्छ ? किन नेपालमा त्यस्तो दूरदर्शी नेता छैन ?’ थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन् । लोभलाग्दा सफलता छन् । उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन् । त्यसका लागि के गर्नुपर्ने हो ? ‘पलायन नेपालमा सामाजिक रोग बनेको छ । किनभने यहाँका धेरैजसो युवाले सोच्छन्– हामी गरिब छौँ, हाम्रो जीवन राम्रो छैन । सरकारी जागिर खोज्ने वा विदेश जानुलाई जीवनको ठूलो उपलब्धि ठान्छन् । तर उनीहरूलाई साना व्यवसायमार्फत आत्मनिर्भर बनाउन सकिन्छ । रु ५० हजारदेखि १० लाखसम्मको पुँजी दिएर क्रमिक रूपमा सशक्त उद्यमी बनाउन सकिन्छ’, उनी विश्वासका साथ भन्छन् । सन् २०१८ देखि २०२३ सम्म झा नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत खरिद व्यवस्थापनमा जोडिएको सफ्टवेयर प्रणाली सञ्चालनसँग जोडिए । ‘मेरो कम्पनीले त्यहाँ पाँच वर्षसम्म काम ग¥यो । ठूलो टोली थियो । तर पछि अर्को कम्पनीलाई काम दिइयो । अहिले सुनिरहेको छु, खरिदसँग सम्बन्धित अनलाइन प्रणाली फेरि अस्तव्यस्त छ’, उनले सुनाए । नेपालको खरिद प्रक्रियालाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाले काम गरेको उनी सुनाउँछन् । तर अस्थिरता र भ्रष्टाचार ? को कोपभाजनमा पर्यो उनको योजना । ‘नेपालमा न काम हुन्छ न भ्रष्टाचार रोकिन्छ । अरू देशमा पनि भ्रष्टाचार हुन्छ, तर कम्तीमा काम त हुन्छ । यहाँ त केवल भ्रष्टाचार हुन्छ, काम नै हुँदैन’, यो उनको कटु अनुभव हो । ‘सबैभन्दा पहिले खराब कर्मचारी र विचौलियाबाट बचाइदेऊ । किनभने अहिले भइरहेका धेरै काममा आसेपासेहरूले फाइदा उठाइरहेका छन्’, उनको भनाइ थियो । नेपालमा झाका नराम्रा अनुभव मात्रै रहे । उहाँलाई लाग्छ, आलोचनात्मक राजनीतिक सोच राखेर इमान्दारीपूर्वक काम गर्ने र योग्य मान्छेहरू ल्याएर जिम्मेवारी दिने हैसियत अहिले नेपालको राजनीतिमा छैन । नेपाल त्यसका लागि तयार पनि छैन । सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपालले धेरै गर्न सक्छ । तर त्यसका लागि व्यवसायीलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ । ‘बीस वर्षअघि भियतनाम कहाँ थियो र नेपाल कहाँ थियो ? तर अहिले भियतनाम कहाँ पुग्यो ? नेपाल किन रोकियो भन्ने कसैले प्रश्न गर्दैन ।’ उनको बुझाइमा राजनीतिक दूरदर्शिता भएको नेतृत्व नेपालल पाउन सकेन । नागरिकमा पनि ‘यो मेरो देश हो’ भन्ने भावना नहुनु र देशलाई माया गर्ने भावना हराउनुलाई पनि उनी समस्याका रुपमा देख्छन् । ‘राष्ट्रको समृद्धिमा राजनीतिज्ञको ठूलो भूमिका हुन्छङ’, उनले जोड दिएर भने । ‘कस्तो भूमिका ?’ ‘मुलुकको समृद्धि भनेको दियोजस्तो हो । दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ । राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो ।’ उनले भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुलाई उदाहरण दिँदै भने, ‘एक नेताको भिजनले हैदरावादलाई आइटी हब बनायो । जब उनले हैदरावादलाई सूचना प्रविधिमा लैजान सुरू गरे, त्यसबेला कसैले हैदरावाद चिनेका थिएनन् । भारतमा बैङ्गलोर, चेन्नई, दिल्ली र मुम्बई मात्र चर्चामा थिए । तर अहिले हैदरावाद कहाँ पुग्यो ?’ उनलाई लाग्छ, यस्तै केही राजनीतिक दृष्टिकोण भएका नेताहरू र केही उद्यमीहरू मिलेर अघि बढ्न सके नतिजा देखिन्छ । ‘नेपालले सूचना प्रविधि, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रलाई प्राथमिकता दिएर पाँच–दश उद्यमी पहिचान गरेर भन्नुपर्छ, ‘हामी तिमीहरूलाई छुँदैनौँ, जाऊ, संसार जितेर आऊ, नेपालबाट केही बनाऊ, त्यसपछि हेरौँ, कस्तो नतिजा आउँछ’, झाको उत्साही निष्कर्ष थियो । नेपाल अहिले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइरहेको छ । झाको विज्ञताको क्षेत्र पनि आईटी भएकाले यस क्षेत्रमा किन नजाने ? जवाफमा उहाँले अर्को तितो अनुभव सुनाए । आइटीमा आफूले पाएको सफलताको अनुभवमा उनी भन्छन्, ‘तपाई नेपालको आइटी क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईँको सफलता फरक हुन्छ, त्यही व्यक्ति पटना (भारत) मा आइटी पेसामा भए अर्को हुन्छ ।’ अहिले झा विद्युतीय सार्वजनिक खरिद (इ–प्रोक्युरमेन्ट) र बोलपत्र व्यवस्थापन गर्ने विश्वकै पुरानो र ठूलो कम्पनीमध्ये कम्पनी डिजिमार्केट इन्टरनेसनल इन्कको नेतृत्व गरिरहेका छन् । यो कम्पनीका नौ देशमा कार्यालय छन् । कतै एक जना मात्र कर्मचारी छन्, कतै तीन जना । भारतमा सबैभन्दा धेरै ८० हाराहारी कर्मचारी छन् । तर झाको सपना भनेको नेपालमै यसलाई विशाल बनाउने थियो । किन यस्तो सफलता नेपालमै सम्भव भएन ? क्यानडा नै किन जानुपर्यो ? किन यस्तो सफलता नेपालमै बन्न सक्दैन ? किन मानिसहरू विदेश गएर मात्रै राम्रो गर्छन् ? यहाँ यो किन सम्भव भएको छैन ? अनि विदेश गएर सफल भएका नेपालीहरूले फर्केर यहाँ आएर यस्तो बनाउन सक्छन् कि सक्दैनन् ? ृउनलाई लाग्छ – सायद नेपालको राजनीतिक अस्थिरता, प्रशासनीक उल्झन, भनसुनको प्रवृत्ति मुख्य समस्याहरू हुन् । ‘म टोरन्टोमा बसेको मान्छे, मलाई थाहा छैन त्यहाँको प्रहरी कमिस्नर को हुन् । मलाई थाहा हुनु पनि पर्दैन । तर नेपालमा मानिसहरू गर्वका साथ भन्छन्, म फलानो डिएसपीलाई चिन्छु, फलानो मन्त्री, फलानो जिल्लाको सिडिओलाई चिन्छु’, झाको जवाफ थियो । भनसुन प्रवृत्ति नेपालको समस्या हो । अरु देशमा नागरिकलाई सबै नेताको नाम थाहा नहुन सक्छ । किनभने उनीहरूलाई थाहा हुनुपर्ने नै हुँदैन । ‘तपाईँ आफ्नो काम गर्नुहोस्, त्यसैमा महत्व छ । यो नै सभ्य समाजको चिनारी हो ।’ उनले अगाडि थप्नुभयो, ‘हामी नेपाल सानो देश भन्छौँ । तर सिङ्गापुर पनि त सानो नै हो । युरोपका धेरै देश त नेपालभन्दा पनि साना छन् । तर तिनको विकासमा भूगोलले कहिले रोक लगाएन । समस्या हाम्रो सोचाइ र संरचनामा छ ।’ सन् २००३ तिर झालाई व्यावसायिक सफलता मिलिरहेको बेला उनको मनमा एउटा सपना पलायो, ‘नेपालमा पनि आइआइटीजस्तो संस्था कसरी सुरू गर्न सकिएला ?’ त्यो बेला भारतमा जम्मा चार÷पाँच वटा मात्र आइआइटी थिए । अहिले त्यो सङ्ख्या निकै बढिसकेको छ । उनले सम्झिए, ‘तपाईँ इतिहास हेर्नुहोस्, अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वविद्यालयहरू पनि व्यापारीहरूको आर्थिक सहयोगबाट नै राम्रो बनेका हुन् । तर ती विश्वविद्यालय स्वतन्त्र थिए । व्यवसायीहरूले पैसा त दिए, तर चलाउने उनीहरूले होइन ।’ झाले नेपालका विद्यालयहरूलाई सहयोग गर्ने चाहना राखेका थिए । तर नेपालमा अवस्था फरक छ । उनी भन्छन्, ‘कुनै ट्रस्ट बनाइयो भनेर नाफारहित त भनिन्छ, तर नाफा चाहिँ व्यक्तिको खल्तीमा जान्छ । अस्पताल ट्रस्टको नाममा खोलिन्छ, तर पैसा घुमाएर उनीहरूकै खल्तीमा । यो प्रवृत्ति नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा उस्तै छ ।’ नेपालमा काम गर्ने उनका अनुभव खासै राम्रो रहेनन् । ००० ‘जब मैले राम्रो पैसा कमाएँ, तब लाग्यो– किन काठमाडौँ वा नेपालमा एउटा आइआइटीजस्तो संस्था हुँदैन’, उनले दुई दशक अघिको प्रयास सम्झिए । नेपालमा करिब १०० करोड लगानी गरेर एउटा इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने । व्यवसाय वा नाफाका लागि होइन, सरकारी मापदण्डमा चल्ने तर प्राइभेट– हार्वर्ड, एमआइटीजस्तै । झाले अनुभव सुनाए, ‘म करिब एक वर्षसम्म त्यसमा लागेँ । क्यानडाबाट मान्छे झिकाएँ । तर म असफल भएँ । त्यो बेला म अलि अनुभवहीन थिएँ । आजको दिनमा गर्ने भए अर्कै शैलीमा गर्थेँ । किनकि अहिले मैले नेपाललाई धेरै बुझिसकेको छु ।’ त्यो प्रोजेक्ट व्यावसायिक फाइदाको लागि थिएन भन्ने बुझाउन सकिएन कि जस्तो लाग्छ झालाई । ००० उनको दोस्रो अनुभव पनि उस्तै । अमेरिकामा बस्ने झाका एकजना प्रोफेसर साथी आएर भने, ‘आदित्यजी, तपाईँले काठमाडौँका स्कुलमा कम्प्युटर बाँड्नका लागि लागि पैसा दिनुपर्छ ।’ झाले सोधे, ‘कति चाहिन्छ ?’ साथीले भने, ‘१० वटा स्कुलका लागि डेस्कटप ।’ सायद झाले करिब १० हजार डलर दिए । केही महिनापछि थाहा भयो– कम्प्युटर स्कुलमा त पुगेछन्, तर चल्दैनन् । भएछ के भने, झाले विश्वास गरेको व्यक्ति नेपालका एक मन्त्रीका भतिजा रहेछन् । उनीहरूले नयाँ कम्प्युटर किन्नुपर्नेमा पुराना किने । ढुवानीमा धेरै पैसा खर्च गरँे । अनि ती कम्प्युटर स्कुलमा राखिदिए । यो कुरा झालाई थाहा भएपछि झाले आफ्नो साथीलाई त्यो प्रोजेक्टबाट आफ्नो नाम हटाउन भने । यो प्रयास पनि असफल भयो । ००० तेस्रो, कसैले उनलाई सुनाए, ‘तपाईँ त तराईको मान्छे, जनकपुरका स्कुललाई सहयोग गर्नुस् ।’ त्यसबेला अमेरिकामा ‘वन ल्यापटप पर चाइल्ड’ नामको प्रोजेक्ट चलिरहेको थियो । त्यो अवधारणा नेपालमा पनि लागू गर्न सकिने सोच बनाएर एक सय थान कम्प्युटर किनेर उहाँले जनकपुर पठाए । धेरै दुःख गरेर रेलमा सीतामढी हुँदै ल्याएर भन्सार तिरी ती कम्युटर जनकपुर आइपुगे । तर स्कुलमा कम्युटर ल्याब बनाउन अझै पूर्वाधार तयार थिएन । केही समयका लागि ती कम्प्युटर जिल्ला प्रशासनको रोहवरमा एउटा कोठामा राखियो, ताला लगाइयो, सिल गरियो । तर केही महिनापछि झालाई फोन आयो, ‘आधा कम्प्युटर हरायो ।’ झाले सोधे, ‘तपाईँले सिल गर्नुभएको थिएन ?’ जवाफ आयो, ‘सिल छ, ताला छ, तर ल्यापटप छैन ।’ त्यसपछि बाँकी कम्प्युटर स्कुललाई दिइयो । केही समयपछि फेरि फोन आयो, ‘स्कुलबाट फेरि २५ वटा कम्प्युटर हरायो । अब के गर्ने ?’ झाले भने, ‘अब मलाई मतलब छैन । जेसुकै गर ।’ नेपालमा यति धेरै असफलता भोगेपछि झाले आफ्नो परोपकारी कामलाई क्यानडामै केन्द्रित गरे । अहिले उनको नामबाट तीन विश्वविद्यालय र दुई कलेजमा १४ वटा अक्षयकोष स्थापना छन्– टोरन्टो मेट्रोपोलिसन युनिभर्सिटी, योर्क युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, जर्ज ब्राउन कलेज, सेन्टेनियल कलेजमा झाका अक्षयकोषबाट करिब ७० हजार क्यानाडियन डलर बराबरको छात्रवृत्ति हरेक वर्ष वितरण हुन्छ । बीसभन्दा बढी विद्यार्थी लाभान्वित हुन्छन् । उनको लक्ष्य यो बढाएर डेढ करोड क्यानाडियन डलरसम्म पु¥याउने छ । साथै उहाँ क्यानाडाका आदिवासी (अबोरिजिनल) समुदायलाई पनि उद्यमशील बनाउन खटिरहेका छन् । ००० यद्यपि अहिले पनि झाका मनमा एउटा ठूलो सपना बाँकी छ – नेपाल र बिहारका साना उद्यमीलाई सहयोग गर्ने । यस पटक भने उनको ध्यान ‘आइटी’ वा शिक्षा क्षेत्रमा छैन, उद्यमशीलतामा छ । ‘नेपालमा झण्डै एक हजारदेखि पाँच हजारसम्म र त्यति नै सङ्ख्यामा विहारमा पनि साना उद्यम सिर्जना गर्न चाहन्छु’, उनी भन्छन् । गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी पसल, सैलुनजस्ता साना स्वरोजगारमूलक व्यवसायमा मानिसहरूलाई कसरी लगानी गर्ने, व्यवसाय चलाउने र पुँजी जोगाउने भनेर सिकाउने उनको मुख्य ध्येय हो । ‘यदि मैले ५० जिल्लामा पुगेर हरेक जिल्लामा कम्तीमा २०–२५ जनालाई व्यवसाय गराउन सक्छु भने त्यसको प्रभाव निश्चित रूपमा देखिनेछ । मेरो टोलीले उनीहरूलाई उद्यम कसरी गर्ने र नाफामा कसरी लैजाने भनेर सिकाउनेछ । यही मेरो अन्तिम सपना परियोजना हुनेछ । यही मेरो पूजा हुनेछ । यही पशुपति, काशी र केदारनाथ हुनेछ ।’ झालाई लाग्छ – नेपालमा शिक्षाभन्दा उद्यमशीलता अझ धेरै प्राथमिकताको विषय हो । रासस

शुल्क शोषणविरुद्ध त्रिवि उपकुलपति कार्यालयमा अखिल क्रान्तिकारीको रिले अनसन सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा. डा. दीपक अर्यालको कार्यकक्ष अगाडि १७ दिनदेखि धर्ना दिइरहेको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले बिहीबारदेखि रिले अनसन सुरु गरेको छ । विद्यार्थी संगठनले भनिएको छ कि दुई साताभन्दा बढी धर्ना बसे पनि विश्वविद्यालय प्रशासनले मागप्रति चासो नदेखाएपछि उनीहरू रिले अनसनमा उत्रिएका हुन् । क्रान्तिकारीका अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य र लैङ्गिकता अध्ययन लगायतका चार सेल्फ सस्टेन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिए पनि शुल्कमा कमी नगरी पुरानै दरमा असुल भइरहेको छ । विद्यार्थीहरूले शुल्क घटाउन माग गरे पनि त्रिवि पदाधिकारीले वार्ताका लागि बोलाएका छैनन् । सोहीबीच उपकुलपति अर्याल अघिल्ला दिनदेखि कार्यालय आउनै छोडेको आरोप विद्यार्थीहरूले लगाएका छन् ।

नाडा अध्यक्ष चौधरी नाइमा एक्स्पोमा : अटोमोबाइल क्षेत्रको सहकार्य र रूपान्तरणको संकेत

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नाइमा नेपाल मोबिलिटी एक्स्पो  अवलोकनमा पुगेका छन् । शुक्रबार अध्यक्ष चौधरी नाडाबाट छुटिएर बनेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा ) ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवलोकन गर्न पुगेका हुन् ।  नाडाका अन्य पदाधिकारीहरू सहित एक्स्पोमा पुगेका चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको विकासका लागि नाडा र नाईमाबिचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।  एक्स्पो अवलोकनका क्रममा अध्यक्ष चौधरीले दुई संस्थाहरूको सहकार्यले नेपालको अटोमोबाइल व्यवसायमा देखिएका नीतिगत र व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्न सहज हुने विश्वास व्यक्त गरेको नाइमाले जनाको छ ।  नाइमा नाडाबाट छुटिएर बनेको सवारी साधनका आयातकर्ताहरू मिलेर गठन भएको नयाँ संस्था हो ।  नाइमाले आयोजना गरेको यो पहिलो एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरू सहभागी छन् ।  गत बुधबारदेखि सुरु भएको एक्स्पो यही साउन २५ गतेसम्म चल्नेछ । यस एक्स्पोमा विद्युतीय सवारी, स्मार्ट मोबिलिटी सोलुसन्स र सडक सुरक्षा प्रविधिहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । आयोजकले ७० देखि ८० हजार मानिसले एक्स्पोको भ्रमण गर्ने अनुमान गरेका छन् ।  

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिँदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन् । लामो समयदेखि विद्यार्थी संख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रियासमेत थालिएको छैन । जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । जिल्ला शिक्षा समन्वय एकाई पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँपालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा ९ विद्यालयमा विद्यार्थी संख्या शून्य भएको छ । यसैगरी फलेवास नगरपालिकामा ६ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य पुगेको हो भने कुश्मा नगरपालिकामा विद्यार्थी संख्या शून्य भएका आठ सामुदायिक विद्यालय रहेका एकाइले जानकारी दिएको छ । यस्तै जलजला गाउँपालिकामा ४ सामुदायिक विद्यालयमा विद्यार्थी शून्य रहेका छन् भने दक्षिण पर्वतको पैयूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाई पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार फलेवास नगरपालिका– ५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको भएपनि स्थानीय तहहरूले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने काम नगरेको बताए । शून्य विद्यार्थी संख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयहरूमा कुश्मा नगरपालिकाभित्रकमा हर्राचौर प्रा‍.वि, जनजागृति प्रा.वि, जनकल्याण प्रा.वि, मराङसिंह प्रा.वि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रा.वि, जनता प्रा.वि रहेका छन् । जलजला गाउँपालिकामा शून्य विद्यार्थी हुने विद्यालयहरूमा जनचेतना प्रा.वि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा, स्वस्वती आधारभूत विद्यालय धाइरीड रहेका हुन् । यसैगरी फलेवास नगरपालिकामा शून्य विद्यार्थी हुनेमा श्री बाल प्रा.वि, ध्रुव नमूना मा.वि, सूर्योदय प्रा.वि, जनता प्रा.वि लिमिठाना, तीनधारे प्रा.वि, मनकामना प्रा.वि, बेतेयानी प्रा.वि, देउराली प्रा.वि र भवानी प्रा.वि रहेका छन् । यसैगरी दक्षिण पर्वतको पैंयू गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा बालनयन प्रा.वि, बालज्योति प्रा.वि हुन् । मोदी गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा सिद्ध आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, जनप्रकाश आधारभूत विद्यालय, हरि आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, बालकल्याण प्राथमिक विद्यालय, भूमे आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, दुर्गाभवानी आधारभूत विद्यालय र सिद्धबराह आधारभूत विद्यालय रहेका छन् । यता विहादी गाउँपालिकामा, जनसेवा प्रा.वि वहाकीठाँटी र बालज्योती प्रा.वि रानीपानीमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाई पर्वतले जनाएको छ । यसरी विद्यार्थी नै नभएका विद्यालयको संख्या ३१ पुगिसक्दा पनि पर्वतका स्थानीय सरकारहरूले विद्यालय समायोजन गराउन कुनै चासो नदिएको फलेवासका स्थानीय धर्म पौडेलले बताए । शिक्षकहरूलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलब सुविधा दिलाउने गरिएको छ । राज्यको बजेटको दुरूपयोग हुने भएपनि बाध्यतामा परेर शिक्षकहरू राख्नुपरेको फलेवास नगरपालिका– २ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले बताए । अहिले विद्यार्थी नभएपनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजना नगरिएको बुझिएको उनको भनाइ छ । शिक्षकहरूलाई सरुवा गर्नुको सट्टा रित्ता विद्यालय रुँगाएर जनप्रतिनिधिले राजनीतीक संरक्षण गरिरहेको पाइएको छ । करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जाने भएका कारण पनि कतिपय विद्यालय समायोजन नगरिएको कतिपय जनप्रतिनिधिले नै बताउने गरेका छन् ।

बजेट अभावमा भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अलपत्र

भोजपुर । भोजपुरमा शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले निर्माण थालिएको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक’ भवन निर्माणको काम अलपत्र परेको छ । प्रदेश सरकारको बजेटमा निर्माण थालिएको भवनको बजेट अभावमा काम अधुरो बनेको हो । कोशी प्रदेश सरकारबाट विनियोजित रु २५ लाख लागतमा विसं २०८१ मङ्सिर महिनामा भवन निर्माण थालिएको थियो । निर्माणको क्रममा बजेट नपुगेपछि भवन निर्माणको काम अधुरो बनेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भोजपुरका अध्यक्ष विष्णुकुमार राईले जानकारी दिए। माग गरिएको भएपनि प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन नगरेकाले भवन निर्माण अधुरो बनेको उनको भनाइ छ । 'बजेट अभावमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणको काम अधुरो बनेको छ' अध्यक्ष राईले भने, 'भवनको पूर्णताको लागि रु ५० लाख बजेट माग गरेका थियौँ । त्यो बजेट प्रदेश सरकारबाट बिनियोजन नहुँदा काम अधुरो बनेको छ । यो कामलाई पूर्णता दिनको लागि प्रदेश सरकारलाई अनुरोध गरिरहेका छौँ ।' स्थानीय पालिकामा बजेट माग गरेर रु १४ लाख ५० हजार बजेटमा २०० जना अट्न सक्ने सभाहल निर्माण भइरहेको उनले जानकारी दिए। भवन निर्माणको लागि मात्र प्रदेशबाट बजेट प्राप्त भएकाले स्थानीय तहसँग बजेट माग गरेर सभाहल निर्माण भइरहेको उनले बताए। हाल भवनमा तला मात्र थपिएकाले अन्य सम्पूर्ण काम बाँकी रहेको यसोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए। निर्माण थालिएको भवनको पूर्णताको लागि प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको थप विकासको लागि शिक्षकबाट पनि शैच्छिक रूपमा सहयोग सङ्कलन भइरहेको उनले जानकारी दिए। निर्माणधीण शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले स्थलगत अनुगमन गरेकी छन् । बजेट अभावमा अधुरो अवस्थामा रहेको भवन सम्पन्न गराउन आफू निर्णायक तहमा नभए पनि बजेटको लागि पहल गर्ने उनले बताइन्। 'मैले विगतबाट प्रदेश सरकारले थालेका तर पूर्ण हुन नसकेका योजनाको अनुगमन गरिरहेकी छु' राज्यमन्त्री राईले भनिन्, 'थालिएका अधुरा योजना सम्पन्न गराउन मैले जोड गरिरहेको अवस्था छ । यो भवनको विषयमा प्रदेश सरकारलाई जानकारी गराएर बजेटको लागि पहल गर्नेछु ।' भोजपुर नगरपालिका–७ मा तीन रोपनी, एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । यहाँ शहरी विकास तथा भवन कार्यालय धनकुटा मातहात भवन निर्माण थालिएको हो । रासस