विकासन्युज

आज देशभर साधारणतया बदली, कोशी र गण्डकीमा भारी वर्षा हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।  कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना  छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कृषि विकास बैंकको नाफा ४.१५ अर्ब रुपैयाँ, लाभांश क्षमता १८.४२ प्रतिशत

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ३.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.२६ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस्तै, बैंकको सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड ६० लाख ८७ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता १३.०६ प्रतिशत थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ ।  निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ६२ करोड ८६ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।  गत वर्ष बैंकको कर्जा लगानी ४.६७ प्रतिशत बढेर २ खर्ब १३ अर्ब १४ करोड २८ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ३ अर्ब ६१ करोड ७० लाख ४९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ९.०७ रुपैयाँ बढेर २७.६३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी १८.५६ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ २४१.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ ।  बैंकको रिटर्न अन इक्विटी ११.८८ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.६८ प्रतिशत, आधार दर ५.८७ प्रतिशत र कस्ट अफ फण्ड ३.८१ प्रतिशत रहेको छ ।  बैंकका अनुसार समीक्षा अवधिमा अर्थतन्त्रमा असहजताको बाबजुद कर्जा तथा सापटमा सकारात्मक प्रगति हासिल गरिएको छ । बैंकिङ उद्योगकै अनुरूप निक्षेप दायित्वमा उल्लेखनीय बृद्धि भएको छ । शुल्क कमिशन, खुद व्यापारिक आम्दानी लगायतका आम्दानीमा सकारात्मक प्रगति गरिएको छ । अन्य कारोबार नियमित रहेको र तरलता सन्तोषजनक रहेको बैंकले जनाएको छ । कर्जाको सन्तुलित प्रभाग तथा उत्कृष्टता कायम गर्दै ग्राहकको चाहना तथा व्यवसायको सम्भाव्यता अनुरूप कर्जा व्यवसायको विस्तार तथा डिजिटल बैंकिङ सेवा ग्रामीण स्तरसम्म उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकका अनुसार किसान क्रेडिट कार्ड, फोन लोन, ओभरडाफ्ट कार्ड आदिको सेवा थप विस्तार गरिने, व्यवसायमा अन्तर्निहित जोखिमको प्रभावकारी व्यवस्थापन गर्दै सेयरधनी र सम्बद्ध सरोकारवालाहरूको सन्तुलित हित हुने गरी व्यवसायको विस्तार गर्नुका साथै सेवामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।  विश्व अर्थतन्त्रमा देखिएको आर्थिक असामञ्जस्यता आदिका कारण देखिएको मुद्रास्फितिले राष्ट्रिय अर्थतन्त्रसँगै बैंकिङ व्यवसाय समेत प्रभावित भइरहेको अवस्थामा अर्थतन्त्रलाई लयमा फर्काउन, सरकार र नेपाल राष्ट्र बैंकबाट ल्याइएका विभिन्न सुधारका उपायहरूले अर्थतन्त्रमा सुधार आएको बैंकको दाबी छ । तरलता र लगानी योग्य पुँजीमा आएको सुधारले बैंकिङ व्यवसायलाई सजगताका साथ चुस्त व्यवस्थापन गर्दै बैंकका गतिविधिहरूलाई विविधीकरणसहित अघि बढाइएको छ । 

नाइमा मोबिलिटी एक्स्पो एक दिन थप, चार दिनमा ७० हजारले गरे अवलोकन

काठमाडौं । राजधानीमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा अवलोकनकर्ताहरूको अप्रत्याशित भीड लागेपछि आयोजकले प्रदर्शनीको अवधि एक दिन थप गरेको छ ।  स्थापनाको छोटो समयमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको पहिलो एक्स्पोमा दर्शकको उत्साहजनक उपस्थितिले नेपालको अटोमोबाइल बजारप्रतिको आकर्षण जीवन्त रहेको संकेत गरेको छ । श्रावण २१ बुधबारदेखि २५ गतेसम्म ५ दिनका लागि तय गरिएको एक्स्पो अब अवलोकनकर्ताहरूको चाप र मागलाई ध्यानमा राख्दै श्रावण २६ गते, सोमबारसम्म सञ्चालन हुने नाइमाले जनाएको छ । आयोजकका अनुसार, शनिबारसम्मका सुरुवाती चार दिनमा मात्रै ६९ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरिसकेका छन् ।  नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार मात्रै २१ हजार ५ सय जनाले एक्स्पोमा सहभागिता जनाएका थिए । शनिबार परेको मुसलधारे पानीका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी आएन, बरु सबैभन्दा बढी भीड सोही दिन देखियो, जसले गाडीप्रति आममानिसको चासोलाई स्पष्ट पार्छ । एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत शनिबारको सार्वजनिक बिदाको भरपुर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए । सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन्, जसले यसको बृहत् आकर्षणलाई पुष्टि गर्छ । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको यो एक्स्पोले अवलोकनकर्ताहरूलाई एकै छानामुनि विभिन्न सवारीसाधन तुलना गर्ने र छान्ने अवसर प्रदान गरेको छ । स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रयासमा नै नाइमाले पाएको यो सफलताले आगामी दिनहरूमा नेपालको मोबिलिटी क्षेत्रमा थप योगदान पुर्‍याउन आयोजकलाई उत्साहित बनाएको छ । अवलोकनकर्ताहरूको अपार माया र समर्थनलाई मध्यनजर गर्दै थपिएको एक दिनले गाडी खरिद गर्न वा जानकारी लिन चाहनेहरूलाई थप सहज हुने आयोजकको विश्वास छ ।

सरकारले मात्रै नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले मात्रै नि:शुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक रहेको बताए । राज्यको लगानी शिक्षा र स्वास्थ्यमा धेरै कम रहेको र धेरै गर्नसक्ने स्थिति पनि नरहेको उनले जिकिर गरे । ‘शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक छ । सरकार मात्रैले नि:शुल्क स्वास्थ्य वा नि:शुल्क शिक्षा उपलब्ध गराउनसक्ने स्थिति छैन,’ उनले भने, ‘खासगरी राज्यले आज जति लगानी गरेको छ, त्यो लगानी असाध्यै थोरै छ । राज्यको लगानी धेरै लगानी गर्नसक्ने खालको पनि छैन ।’ योगदान पुर्‍याउनसक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरुरी रहेको उनले बताए । शहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्नसक्ने स्थिति बने पनि ग्रामिण क्षेत्रमा भएको विद्यालयमा पढ्नुको विकल्प नरहेको उनले बताए । ‘योगदान पुर्‍याउनसक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरुरी छ । यसलाई व्यवस्थित ढंगबाट हामीले अघि बढाउन आवश्यक हुन्छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘शहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्नसक्ने स्थिति बनेको छ । तर ग्रामिण क्षेत्रमा जस्तो छ, त्यसको विकल्पको स्थिति बनेको छैन ।’ मन्त्री पौडेलले ग्रामिण क्षेत्रलाई मध्यनजर गरी शिक्षालय र स्वास्थ्य संस्थाहरु आफ्नै लगानीमा खोल्न जरुरी रहेको पनि बताए ।

युक्रेन शान्तिका लागि पुटिन-ट्रम्पको पहल कति प्रभावकारी ?

अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रबार (अगस्त १५  गते) अमेरिकाको अलास्का राज्यमा भेटवार्ता हुने तय भएको छ । यो भेटवार्ताको उद्देश्य सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युक्रेन युद्ध अन्त्य गर्न मार्ग प्रशस्त गर्नु हो ।  राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै आफूले ‘२४ घण्टामै युद्ध सकाउने’ दाबी गर्दै शान्ति स्थापनाको पहल गरिरहनुभएको छ, यद्यपि हालसम्म भएका थुप्रै वार्ता, टेलिफोन संवाद तथा कूटनीतिक भ्रमणहरूले ठोस प्रगति भने गर्न सकेका छैनन् । शुक्रबार राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा बैठक अगस्त १५ गते अलास्कामा हुने घोषणा गर्नुभयो, जुन कुरा क्रेमलिनले पनि पुष्टि गरेका छन् ।  क्रेमलिनका अनुसार यो स्थान ‘तार्किक र उपयुक्त’ रहेको छ । राष्ट्रपति ट्रम्पले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको सन्दर्भमा भने, 'उनीहरूले मसँग भेट गर्न चाहन्छन् भने म हत्या रोक्न सक्ने जुनसुकै प्रयास गर्न तयार छु ।' व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'केही भूभागहरू साटासाट गरिनेछ, जसबाट दुबै देशलाई लाभ हुनेछ,' तर उनले विस्तृत विवरण दिएनन् । अलास्का बैठक स्थलको रूपमा चयन हुनुको मुख्य कारण ऐतिहासिक र भौगोलिक दुवै पक्षसँग सम्बन्धित छ । सन् १८६७ मा रसियाले अलास्का अमेरिकालाई बेचेको थियो । भौगोलिक रूपमा पनि अलास्काको पश्चिमी किनारा र रसियाको पूर्वी भागबीच बेरिङ जलसन्धि मात्र पर्दछ ।  क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार,'अलास्का र आर्कटिक क्षेत्रमा दुवै मुलुकका आर्थिक हितहरू मिल्दछन् र आपसी सहकार्यका लागि ठूलो सम्भावना देखिन्छ ।' उशाकोभले थप भने, 'मुख्य ध्यान भने युक्रेन सङ्कटको दीर्घकालीन शान्तिपूर्ण समाधानतर्फ केन्द्रित हुनेछ । साथै, आगामी बैठक रसियामा आयोजना गर्न राष्ट्रपति ट्रम्पलाई निमन्त्रणा दिइसकेको जानकारी पनि उनले दिए ।' हालै पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ आदेशले बैठक स्थल चयनमा केही चुनौती उत्पन्न गरेको थियो, जसकारण संयुक्त अरब इमिरेट्स, टर्की, चीन वा भारतजस्ता देशहरू बैठकका सम्भावित स्थलको रूपमा चर्चा भइरहेका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यो शिखर बैठकलाई त्रिपक्षीय बनाउने चाहना व्यक्त गर्दै आएका छन् । उनले बारम्बार पुटिनसँग प्रत्यक्ष भेट नै शान्तिको लागि एक मात्र उपाय भएको बताए ।  राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विटकोफले यसै साता पुटिनसँगको वार्तामा त्रिपक्षीय बैठकको प्रस्ताव राख्नुभएको थियो, तर रसियाली पक्षले युक्रेनसँगको प्रत्यक्ष वार्ता केवल वार्ताको अन्तिम चरणमा मात्र सम्भव हुने भनिसकेको छ । ट्रम्पले पत्रकारद्वारा सोधिएको प्रश्नमा, 'पुटिनले जेलेन्स्कीलाई भेट्नुपर्छ त ?' भन्नेमा उत्तर दिए, 'होइन, अनिवार्य छैन ।' राष्ट्रपति ट्रम्प र पुटिनबीच अन्तिमपटक भेट २०१९ मा जापानमा आयोजित जी–२० सम्मेलनमा भएको थियो । त्यसअघि २०१८ मा फिनल्याण्डको हेलसिंकीमा दुबै नेताबीच महत्वपूर्ण बैठक भएको थियो ।  पुटिनले अमेरिका भ्रमण गरेर अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पपछि अन्तिमपटक २०१५ मा पूर्वराष्ट्रपति ओबामासँग संयुक्त राष्ट्रसंघको महासभामा भेट गरेका थिए ।  शान्ति वार्ताका अनेक प्रयासहरू हुँदाहुँदै पनि अहिले रसिया र युक्रेनबीच ठोस सहमति भएको छैन ।  युक्रेन युद्ध अन्त्यका लागि पश्चिमी मुलुकहरू, युक्रेन तथा अमेरिकाले तत्काल युद्धविरामको आह्वान गरिरहेका छन्, तर रसियाले यसलाई अस्वीकार गर्दै चारवटा क्षेत्र खाली गर्न, युक्रेनले तटस्थ राष्ट्रको हैसियतमा बस्न, पश्चिमी सैन्य सहायता अस्वीकार गर्न र नेटोमा नजाने प्रतिबद्धता जनाउनुपर्ने शर्त राखेको छ । रासस

काठमाडौंमा गुल्मी सम्पर्क मञ्चद्वारा १६९ विद्यार्थी सम्मानित

काठमाडौं । नेकपा एमाले गुल्मी-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा विद्यार्थी सम्मान तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १६९ विद्यार्थीलाई सम्मान गरिएको मञ्चका सचिव प्रेमप्रकाश ढकालले जानकारी दिए । गुल्मीका विभिन्न विद्यालयबाट एसईई उत्तीर्ण गरी काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा गुल्मी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्टले विद्यार्थीहरूलाई सम्मान गरेका थिए ।

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत नेपालले विद्युतमा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका छन् ।  'हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ', प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।  प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरेका छन् ।   

‘नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु लिन सकिन्छ’

काठमाडौं । निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।  उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउनसकेको र १० हजार मडिकल विद्यार्थीलाई ल्याउनसके ५० अर्ब रेभिन्यु भित्र्याउन सकिने बताए । अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्नसक्ने बताए । अझ दुई चरणमा अध्ययन गराउनसके फाइदा हुने उनको भनाइ छ । मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने उनको भनाइ छ । मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्ने उनको भनाइ छ । साथै अनलाइन एप्लिकेसनको व्यवस्था हुनुपर्ने जानकारी दिए ।  उनले भने, ‘५ हजार विदेशी विद्यार्थी अहिलेको मेडिकल पूर्वाधारले धान्छ । त्यसमा डबल सेसन गरिदिनुपर्छ । संसारभर डबल सेसन पढाइन्छ । सरकारी अस्पतालमा पनि डबल सेसन गर्ने हो भने आन्तरिक रुपमा आर्थिक रुपमा पनि सबल हुन्छ । देशमा पनि अन्तरिक पर्यटक, मेडिकल पर्यटकले ठूलो टेवा पुग्छ । थोरैमा पाँच हजार र धेरैमा १० हजार विद्यार्थी ल्याउनसक्छौँ ।’  नेकपा एमाले सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारले कति लगानी गरेको छ ? र कसरी अझ प्रभावकारी बनाउने भन्नेबारेमा सोच्न जरुरी रहेको बताइन् । लगानी प्रभावकारी रुपबाट कार्यान्वयन गर्न जरुरी रहेको बताइन् ।  उनल भनिन्, ‘हामीले नेपालको चिकित्सा शिक्षामा कति लगानी गरेका छाँै ? हामीले गरेको लगानी कति प्रभावकारी छ । हाम्रो लगानी प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छ की छैन ? अब हामी आगामी दिनमा यस्ता चिकित्सा शिक्षामा लगानी गर्ने क्रममा नेपाल सरकारले भुमिका कसरी बढाउने भन्ने हो । ’ कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले नेपाललाई चाहिने मेडिकल जनशक्तिको अध्ययन गरी आवश्यक भन्दा बढी उत्पादन भए मात्रै बाहिर पठाउनुपर्ने बताए । नेपालले बाहिर जनशक्ति पठाउने भन्दा पनि बाहिरबाट विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताए । कसरी बाहिरबाट बढी विद्यार्थी ल्याउने भन्नेकुरा प्राथमिकतामा पर्नुपर्ने बताए । यसमा राष्ट्रले एउटा नीति बनाएरै अघि बढ्नुपर्ने जरुरी रहेको जानकारी दिए ।  उनले भने, ‘हाम्रो पोलिसीमा हामीलाई कति मेडिकल जनशक्ति चाहिने ? बाहिरबाट कसरी बढी विद्यार्थी ल्याउन सकिन्छ, त्यसलाई प्राथमिकता दिनुपर्छ । हामी बंगलादेश गएर पढिरहेका छौँ, किन जाने हामी ? किन रसिया, किन फिलिपिन्स जाने ? किन यहाँ पढ्न नपाउने ? त्यो कुरामा पनि राष्ट्रले एउटा नीति बनाउनुपर्छ । त्यत्तिकै एनओसी दिने पठाइदिने गरेर भएन । यहीँ रोक्ने व्यवस्था गर्नुपर्छ ।’ अध्यक्ष भुसालले नो अब्जेक्शन लेटर दिएर बाहिर पठाउने काम बन्द गर्नुपर्ने भन्दै यहीँ उपयोग गर्ने वातावरण बनाउन जरुरी रहेको बताए ।