विकासन्युज

काठमाडौंमा एग्रो डेभलपमेन्ट फण्ड स्थापना, कृषिमा आधारित उद्योग विस्तारमा सहयोग गर्ने

काठमाडौं । कृषिमा आधारित उद्योग व्यवसायको विकास र विस्तारमा सहयोग गर्ने उद्देश्यले काठमाडौंमा एग्रो डेभलपमेन्ट फण्ड स्थापना गरिएको छ । कृषि क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र नेपालीको जीवनस्तर सुधार गर्न फण्ड स्थापनाको प्रक्रिया अघि बढाइएको हो । राज्यले कृषिलाई प्राथमिकतामा राखे पनि उद्यमीहरूलाई आवश्यक सहयोग प्राप्त गर्न कठिनाइ हुँदै आएको छ । बैंकको सावाँ, किस्ता र उच्च ब्याजदरको बोझ तथा प्राविधिक–विशेषज्ञ सेवा नपाउँदा धेरै उद्योग व्यवसाय समस्या भोगिरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज र काठमाडौंका उद्यमी, व्यवसायी तथा बैंक र बीमा क्षेत्रका व्यक्तिहरूले 'एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड' स्थापना गरेका हुन् । कम्पनीको मुख्य प्रवर्द्धकमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूहसहित बैंक तथा बीमा विज्ञहरू रहेका छन् । लगानी संरचनामा नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको सबैभन्दा बढी २३.३३ प्रतिशत सेयर रहेको छ । पचास करोड अधिकृत पूँजी र तत्काल चुक्ता पूँजी दश करोडसहितको यो कम्पनी २०८२ साल आषाढमै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको हो । प्राइभेट इक्विटी कारोबार गर्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र साउन दोस्रो सातामा नेपाल धितोपत्र बोर्डमा समेत निवेदन पेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीको पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार भट्टराई चयन भएका छन् । समितिमा विजय बहादुर शाह, उमेशलाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह सञ्चालक सदस्यका रूपमा रहेका छन् । नेपालमा विगतमा कृषि र अन्य उद्योग व्यवसायमा आवश्यक पूँजी जुटाउन प्रायः स्वपूँजी ९इक्विटी० वा बैंक कर्जामार्फत मात्र सम्भव हुन्थ्यो । तर, इक्विटीभन्दा बैंक कर्जामा बढी भर परिएकाले अत्यधिक ब्याज र किस्ता तिर्न नसक्दा धेरै उद्योग व्यवसाय रुग्ण वा बन्द हुन पुगेका थिए । यस्तो अवस्थालाई सम्बोधन गर्दै एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडले समस्यामा परेका कृषि उद्यमीलाई सहयोग गर्ने गरी सञ्चालनमा आउने तयारी गरेको हो । यसका लागि राज्य सरकार, संघीय सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग प्रारम्भिक सम्पर्क समेत सुरु गरिसकेको कम्पनीले जनाएको छ । फण्डको मुख्य लक्ष्य कृषिमा सहयोग गर्न इच्छुक संघ–संस्था र नेपालीहरूसँग रहेको अनुत्पादक पूँजी संकलन गरी कृषिमा आधारित उद्योग व्यवसायमा इक्विटी सेयरमार्फत लगानी गर्नु र उद्यमीहरूलाई विशेषज्ञ सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

मनमैजुबाट १० लाख बराबरका गरगहना चोरी

काठमाडौं । तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट करिब १० लाख रुपैयाँ बराबरका गरगहना चोरी भएको छ । नर्थपोल स्कुल नजिकै रहेको तीनतले पक्की घरको पहिलो तलामा डेरा गरी बस्ने ६० वर्षीय एक पुरुषको कोठामा मंगलबार दिउँसो चोरी भएको हो । प्रहरीका अनुसार बिहान करिब ११ बजेतिर ढोकाको ताला फोडेर चोरी गरिएको थियो । चोरी भएको सामानमध्ये सुनको सिक्री, औंठी, बाला, मंगलसूत्र र नगद २ लाख ३० हजार रुपैयाँसहित जम्मा करिब १० लाख बराबरको सम्पत्ति रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

उपेन्द्र यादवको प्रश्न : दासढुंगा र दरबार हत्याकाण्ड कसले गरायो ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालमा कतिपय घटना रहस्यमय घटनाको रुपमा रहन पुगेको बताएका छन् । अध्यक्ष यादवले दरबार हत्याकाण्ड, दासढुंगा काण्ड कसले गरायो भन्ने प्रश्न अझै अनुत्तरित रहेको बताएका हुन् । उनी भन्छन्, ‘कतिपय कुराहरु नेपालमा रहस्यमय छ । दरबार हत्या काण्ड कसले गरायो ? दासढुंगा काण्ड कसले गरायो ? धेरै कुराहरु अझै पनि अज्ञान नै रहेको छ ।’ दरबार हत्याकाण्डबारे अध्यक्ष यादव प्रश्न गर्छन, ‘देशको राष्ट्र प्रमुख, त्यो पनि त्यत्रो सुरक्षाभित्र घटना घट्यो, कसरी घट्यो । कसले घटायो ?’ नेपालमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरु हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो मुलुकमा कसैले सोच्दै नसोचेको, चिताउँदै नचिताएका कुराहरु पनि हुँदो रहेछ । अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन त सजिलो कुरा हो । तर त्यसको अनुसन्धान त भइसकेको छ नी । एउटा होइन, चार-चार वटा राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरिसक्यो, प्रतिवेदन दिइसक्यो । यो कुनै नयाँ कुरा त होइन ।’ गौरको घटनामा आफ्नो कुनै संलग्नता नरहेको पनि उनको दाबी छ । ‘त्यहाँ माओवादीका छापामारले आक्रमण गर्दा त हाम्रा मान्छे भागिसेकेका थिए । उनीहरू हतियारसहित थिए, हाम्रा मान्छेसँग केही थिएन’, उनले भनेका छन्, ‘तर बिसौं हजार जनता गाउँका थिए ।’ गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । २०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए । 

सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताएका छन् । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको बिक्री ४० प्रतिशत बढ्ने आँकलन गरिएको उनको भनाइ छ । यसले बजारमा सुधारको संकेत दिएको ढकालले बताए । पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहे पनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उनको भनाइ छ । सरकारले अबलम्बन गरेका नीतिगत कारणहरुले गर्दा निजी क्षेत्र चलायमान हुन थालेको ढकालले बताए । सरकारले निजी क्षेत्रको सुझाव अनुसार ३० भन्दा बढी कानुनको सुधार गरेको उनको भनाइ छ । अध्यक्ष ढकालले सुधार गरिएको ऐन अनुसार नियममावली बनाउन आवश्यक रहेको बताए । बजेट र मौद्रिक नीति पनि निजी क्षेत्रको सुझावअनुसार नै आएको उनले बताए । बैंकमा प्रशस्त लगानीयोग्य रकम भएको, व्याजदर एकल अंकमा रहेको र कानून पनि निजी क्षेत्रमैत्री रहेको कारण लगानीको लागि योग्य वातारवण बनेको उनले बताए । अध्यक्ष ढकालले सवारी साधनको लागि सरकारले लागू युरो ६ मापदण्ड सकरात्मक रहे पनि केही समय होल्ड गर्न आग्रह गरे । युरो ६ मापदण्ड लागू गर्ने निणय एकाएक भएकोले कतिपय व्यवसायीहरु समस्यामा परेको उनले बताए । अर्डरमा पठाइसकेका, उत्पादन भइसकेका र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरुको नेपालकै लागि बनाइएको सवारीसाधनहरु अलपत्र बनेको उनको भनाइ छ । यसको लागि छोटो समय दिएर अर्डर भइसकेका सवारी साधनहरु ल्याउन दिनुपर्ने उनको माग छ ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण तिर्ने, भ्रष्टाचार भएको पुष्टी गर्न अधिकारीले दिए चुनौती

काठमाडौं । आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋण तिरिसक्ने नेपाल नाग्रिक उड्डयन प्राधिकरण (क्यान) को योजना प्राधिकरणले बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी दुवै विमानथलको ऋण तिर्न क्यान समक्ष रहेको बताए ।  उनकाअनुसार २०३२ सालदेखि पोखरामा विमानस्थल बनाउने भनेर जग्गा अधिग्रहण गरिएको थियो । अहिले पूर्णरुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूरा भएको छ । विमानस्थल बनाउनका लागि लिइएको १३ अर्ब ऋण तिर्न क्यान समक्ष छ । दुई वटा किस्ता ऋण क्यानले तिरिसकेको छ । अरु पनि समयमै तिर्दै जाने योजना छ । उनकाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कमाइबाट ऋण तिर्न कठिन हुनेछ ।  तर देशभरका विमानस्थल अहिले पनि राम्रो अवस्थामा चलिरहेका छन् । जसकारण क्यानको आम्दानी राम्रो छ, सोही पूँजीबाटै ऋण तिरिनेछ । कुनै विमानस्थले कमाउने र उसैले खाने भन्ने हुँदैन, सबै एयपोर्टको अड्डा क्यान भएकाले ती एयरपोर्टहरुको कमाइबाट क्यानले ऋण तिर्ने योजना बनाएको छ । समग्र अर्थतन्त्र चलायमान हुन नसक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असर परेको अधिकारी बताउँछन् । उनकाअनुसार भौतिक संरचना भव्य बनेकाले आगामी दिनमा उक्त विमानस्थल प्रभावकारी हिसाबले चल्नसक्ने र राम्रो कमाउन सक्नेछ । महानिर्देशक अधिकारीकाअनुसार भैरहवाको त्यति ठूलो ऋण छैन । ६ अर्बको प्रोजेक्ट हो । भैरहवा र पोखराको गरी एक दशकमा ऋण तिरिसक्ने योजना छ । विशाल पूर्वाधार बनेकाले त्यसको उपयोग गर्न जरुरी छ । हिजोका दिनमा ४ बजे पोखरा विमानस्थल बन्द हुने गर्नुपर्याे, अहिले राति, बिहान विमानस्थल सुचारु हुने गरेको छ । ४ लाख यात्रुहरु रहेकोमा अहिले वार्षिक ११ लाख यात्रुले उक्त विमानस्थल प्रयोग गरेका छन् ।  उनकाअनुसार पोखरा विमानस्थलबाट पूर्ण क्षमतामा जहाजहरु उड्न सक्छन् । कतिपयले पोखरा विमानस्थलाई  चिनियाँ परियोजना बिआरआई अन्तर्गतको पोखरा विमानस्थल भनेकोप्रति अधिकारीले त्यसको खण्डन गरेका छन् । पोखरा विमानस्थलको योजना शुरु भएको सन् २०१२ हो । बिआरआई कार्यान्वयन सन् २०१७ बाट शुरु भएकाले पनि यो बिआरआई अन्तर्गत परियोजना नरहेको अधिकारीको भनाई छ । सार्वजनिक लेखा समितिको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणमा भ्रष्टाचार भएको भन्दै आफ्नो प्रतिवेदन बुझाएको थियो ।   उप–समितिले लागत १५ अर्बबाट २२ अर्ब पुगेको, रन–वे दबाएको, माटोको बिलमा हेरफेर गरेको, इन्धन डिपो नबनाएको तथा रिठ्ठेपानी डाँडा बढी काटेको जस्ता आरोप लगाएको थियो । समितिले विमानस्थल निर्माणको लागत १४ अर्बबाट २२ अर्ब बनाएर भ्रष्टाचार गरेको, रिठ्ठेपानी डाँडाकटान लगायतका कार्य विमानस्थल आयोजनाले नगरी सरकारले छुट्टै बजेट विनियोजन गरी निर्माण गरेको, सरकारलाई तिर्नुपर्ने २ अर्ब २२ करोड बढी कर छुट दिएको, विमानस्थलको रनवे निर्माण, माटो निकासी लगायतका कार्यमा भ्रष्टाचार भएको आरोप लगाएको थियो । उक्त समिति कुण्ठाबाट ग्रसित भएर आफूलाई दोषि देखाएर प्रतिवेदन बनाएको बताउँदै महानिर्देशक अधिकारीले भ्रष्टाचार भएको प्रमाणित गर्न चुनौती दिएका छन् । उनले पोखरा विमानस्थललाई लिएर सिंगो देशलाई नै बदनाम गर्ने षड्यन्त्र भएको बताए । पोखरामा पत्रकारहरुसँगको भेटघाटमा महानिर्देशक अधिकारीले भने– ‘पोखरा विमानस्थललाई गर्वका रुपमा लिनुपर्छ । कमी, कमजोरी भएको छ भने राज्यका निकायहरु छन् तिनिहरुले छानविन गर्ला । तर जो मान्छेले काम गरेको छ । कुनैपनि कागजातले, कुनैपनि नेपालको कानूनले प्रमाणित हुदैन । यो मेरो दावी हो । ममाथि हावादारी, आधारिहन, कुण्ठामा आधारित भएर पोखरा विमानस्थलको बदनाम गर्ने षड्यन्त्र हो । यो षड्यन्त्रको सबै मिलेर समना गर्नुपर्छ । उनकाअनुसार संसदीय उपसमितिले १५ अर्बको आयोजना २२ अर्ब रुपैयाँको कसरी बन्यो भन्ने विषयमा तथ्य नै हेरेको छैन । नेपाल सरकार र चीन सरकारबाट २२ अर्ब रुपैयाँ ठिक भनेको समितिले त्यहीअनुसार ऋण सम्झौता भएको र त्यो पैसा बराबरको काम भयो कि भएन भनेर नहेर्नु नै गल्ति भएको छ । अधिकारीकाअनुसार  १५ अर्ब रुपैयाँ भ्रष्टाचार हुनलाई चीनबाट नेपालमा पैसा ल्याएर बाँड्न सम्भव नरहेको बताए । यदी चीनबाट बोराको बोरा पैसा ल्याएको आफूले बाँडेको भए कसैको खातामा आएको छ भनेर देखाउन समितिलाई चुनौती नै दिए ।  पोखरा विमानस्थलभित्र ह्याङ्गरदेखि युरोपेली ब्राण्डका फाइर भेइकल ठूलो लगानीमा बनाइएको पोखरा विमानस्थलभित्र ह्याङगरदेखि युरोपेली ब्रण्डका फाइर भेइकल रहेका छन् । उक्त ह्याङगरमा प्लेन मर्मत सम्भार गर्ने गरिएको छ । त्यहाँ मर्मत सम्भार गर्दा एयरलाइन्स कम्पनीहरुले छुट्टै रकम तिर्ने गरेको अधिकारीले बताए । पोखरा एयरपोर्टसँग १४ वटा भवन नयाँ रहेको छ । विमानस्थलमा फायर भेकलहरु युरोपेली ब्राण्डका रहेका छन् । अमेरिकी ब्राण्डको दमकल मात्रै रहेको बताए ।  दमकलदेखि ह्याङगरसम्मका सबै पूर्वाधार २२ अर्बमा तयार भएको अधिकारीले जानकारी दिए । ह्याङ्गर सबै विमानस्थलमा हुनुपर्ने अहिले सबैतिर नभएपनि पोखरामा व्यवस्थित गरिएको उनको भनाई छ । न्यारोबडी जहाजहरु मर्मत गर्न परे विदेश जान नपर्ने अवस्था पोखरामा बनेको ह्याङ्गरले सिर्जना गरेको अधिकारीको भनाई छ । अधिकारीकाअनुसार पोखरा विमानस्थलमा आयल निगमलाई सेवा शुल्क नियमावली बमोजिम जग्गा भाडामा दिएर ट्याक्की निर्माण गरेको छ । आफ्नै तरिकाको टावरदेखि निगमले अत्याधुनिक संरचनाहरु बनाएको छ ।  जुन आयाल निगमले आफ्नै खर्चमा संरचनाहरु बनाएको हो । भैरहवामा समेत आयाल निगमले विमानस्थलको जग्गा भाडामा लिएर त्यस्तै खालको संरचना बनाएको छ । उनकाअनुसार विमानस्थलको रनवे निर्माण गर्दा माटोले पुरिएको हो । पोखरा एयरपोर्ट कटिङ छ की फिलिङ छ् त्यस्तो वास्तविकता नबुझि संसदीय समितिले हचुवामा प्रतिवेदन बनाएको उनको भनाइ छ ।   

काठमाडौं जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित

काठमाडौं । काठमाडौं जिल्ला रेडक्रसको कार्यसमिति सभापतिमा श्यामकाजी डोटेल पुनः निर्वाचित भएका छन् । शाखाको ४५ औं अधिवेशनले डोटेलको नेतृत्त्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको हो ।   शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज भण्डारी, उपकोषाध्यक्षमा सर्मिला श्रेष्ठ राजभण्डारी निर्वाचित भएका हुन् । यसैगरी सदस्यमा अमृत नारायण मानन्धर, रजेन्द्र प्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद कुइँकेल, विदुर राज भट्टराई, नवराज काफ्ले, विदुर राज उप्रेती, इश्वर लामा, मञ्जु अर्याल खतिवडा, गोमा बराल, लक्ष्मी कार्की खड्का,  निर्वाचित भएका छन् ।  

महिला नेतृहरूलाई पूर्वराष्ट्रपति भण्डारीले दर खुवाउने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीजको दर खाने कार्यक्रम आयोजना गरेकी छन् ।  पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनले भदौ ६ गते बेलुका आफ्नै निजी निवासमा तीजको दर खाने कार्यक्रम आयोजना गरेकी हुन् । विगतमा राष्ट्रपति पदमा रहँदा पनि भण्डारीले शीतल निवासमा नेकपा एमाले सम्बद्ध महिला नेतृहरूलाई तीजको दर खुवाउने गरेकी थिइन् । सचिवालयका अनुसार यसपटक एमालेसहित अन्य दलका महिला नेतृहरूलाई पनि दर खान निमन्त्रणा पठाइसकिएको छ ।

सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन गर्न सुदन किराँतीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।  उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुनः गर्न जरुरी रहेको बताए । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानविन हुनुपर्ने उनको भनाइ छ । प्रतिवेदनमा प्राविधिक त्रुटी के भयो भन्ने मात्रै उल्लेख भएको तर के गर्नु हुँदैन थियो भन्नेकुरा उल्लेख नगरिएको बताए । एक महिनाअघिदेखि ग्राउण्डेट जहाँजमा को मान्छे लैजानु हुँदैन थियो भन्नेकुरा नै उल्लेख नरहेको उनको भनाइ छ । संरचनागत र नीतिगत सुधारका लागि मन्त्री आफैँ लाग्नुभएको बेला यो लापरवाहीपूर्ण प्रतिवेदनलाई छोड्दा देशले न्याय नपाउने जिकिर गरे ।  ‘गैर नागरिक उड्डयन हो । चालक दल र आवश्यक प्राविधिक मात्रै चढ्न पाउने प्रावधान छ तर अरु प्यासेन्जर पनि जहाँजमा हालिएको छ । रिपोर्ट आयो के भने सबैकुरा ठिक छ तर मुटुमा क्यान्सर लागेको छ भन्ने प्रकृतिको रिपोर्ट आयो । संरचनागत र नीतिगत सुधारका लागि मन्त्रीज्यु नै लाग्नुभएको बेला यो लापरवाहीपूर्ण रिपोर्टलाई छोड्दा देशले न्याय पाउँदैन, ’ उनले भने । सांसद किराँतीले जहाँजको ढोका राम्रोसँग लाग्दैन भन्दा एक पटक गएर आउ अनि बनाउँला भन्ने किसिमको लापरवाही हुने गरेको बताए ।