रुपन्देहीमा ६ अर्बको आधुनिक इन्धन डिपो, लुम्बिनीको एक महिनाको माग धान्ने
काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो । कुल पाँच अर्ब ७९ करोड ३० लाख (करबाहेक) लागतमा उक्त डिपो निर्माण गरिनेछ । काठमाडौं विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले आज निगमलाई उक्त डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हस्तान्तरण गरेको छ । सो डिपोमा कुल १८ हजार छ सय ८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्याङ्क निर्माण गरिने निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए । जसअन्तर्गत डिजेल भण्डारण गर्न १३ हजार पाँच सय किलोलिटर, पेट्रोलका लागि चार हजार नौ सय ६० किलोलिटर र मट्टितेलका लागि दुई सय २८ किलोलिटर क्षमताका भण्डारण ट्याङ्क निर्माण गरिनेछ । नयाँ बन्ने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने छ । डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुईवटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कूल चार हजार दुई सय किलोलिटर पानी भण्डारण हुनेछ । इन्धन लोडिङ सेडमा आठ वटा ‘वे’ र अनलोडिङ सेडमा पनि आठ वटा ‘वे’ निर्माण हुनेछ । पूर्ण रूपले अटोमेसनमा आधारित डिपोमा भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृहलगायत संरचना निर्माण गरिने निगमले जनाएको छ । असोजमा बोलपत्र आह्वान गरी मङ्सिरबाट निर्माण गरिने निगमले जनाएको छ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । डीपीआर हस्तान्तरण कार्यक्रममा भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख यादवले हालको भलबारी डिपो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको नरहेको तथा भण्डारण क्षमता विस्तार गर्न ठाउँ साघुँरो भएकाले रोहिणी क्षेत्रमा डिपो स्थान्तरण गर्न लागिएको जानकारी दिए । काठमाडौं विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा विवेक बरालले पेट्रोलियम पूर्वाधार डिजाइन र निर्माण गर्न नेपाली इञ्जिनियर सक्षम रहेको बताए । काठमाडौं विश्वविद्यालयका पेट्रोलियम विज्ञ एवं निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भलबारीमै भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरहेकाले उक्त डिपो स्थान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘भलबारीमा दुईरतीन दिनको माग धान्ने भण्डारण छ, अहिले अमलेखगञ्जबाट भैरहवा इन्धन ढुवानी हुँदै आएको छ, केही कारणले राजमार्ग अवरुद्ध भएको अवस्थामा लुम्बिनी प्रदेशको आपूर्ति शृङ्खलामा प्रभाव पर्न सक्छ,’ उनले भने, ‘भण्डारण क्षमता विस्तार गर्न नयाँ डिपो निर्माण गर्नुपरेको हो ।’ निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माणका लागि डिपिआर तयार गर्न गत मङ्सिरमा काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको थियो । डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ । सो क्षेत्रमा रहेको थप साढे ८ विधा पर्ती जग्गा निगमको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढेको निगमले जनाएको छ । उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ । यस्तै पर्ती जग्गा भोगचलन गरिरहेका ९७ जना स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति तथा प्रतिवद्धतासमेत व्यक्त गरेको निगमले जनाएको छ किन बनाउनुपर्यो नयाँ डिपो ? लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि निगमले हाल भलवारीमा प्रादेशिक कार्यालय सञ्चालन गरिरहेको छ । करिब साढे पाँच बिघा जमिनमा फैलिएको डिपोमा न्यून भण्डारण क्षमता रहेको छ । हाल भलवारी डिपोमा पेट्रोलका लागि पाँच सय १९ किलोलिटर, डिजेलका लागि तीन हजार ४० किलोलिटर र मट्टितेलका लागि दुई सय ८० किलोलिटर क्षमताको भण्डारण ट्यांक रहेको छ । वर्तमान खपत परिमाणको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून तथा सोही स्थानमा भण्डारण क्षमता वृद्धि गर्नका लागि जग्गा अभाव भएकाले डिपो स्थान्तरण गर्नुपरेको निगमले जनाएको छ । बुटवल–भैरहवा सडकसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोबाट पेट्रोलियम पदार्थको कारोबार हुँदा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले डिपो स्थानान्तरणको माग गर्दै आएका छन् ।
महालक्ष्मी बैंकको लाभांश वितरण क्षमता ११.५१ प्रतिशत, निक्षेप ५६ अर्ब नाघ्यो
काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्य सम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.०३ करोड रुपैयाँ पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकले ५६.२२ रुपैयाँ अर्ब निक्षेप संकलन गर्न सफल भएकोमा ४५.८५ रुपैयाँ अर्ब कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो । साथै आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ आषाढ मसान्त सम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्त सम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।
जापान सरकारको ३० अर्ब ८ करोड रुपैयाँ ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त ३० अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे । मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि जापान सरकारबाट सो सहयोग प्राप्त गर्ने निर्णय भएको जानकारी दिए । यस्ता छन् बाँकी निर्णयहरू : १.२०८२ भदौ ३० देखि ३१ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने रेजिलेन्ट सप्लाइ चेन्स उण्ड इक्वेटेबल ग्रोथ इन अ चेन्जिङ वल्र्ड अफ वर्क कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश कुमार बेहलाई सहभागी स्वीकृति प्रदान गर्ने । २. २०८२ असोज ७ देखि ९ गतेसम्म इण्डोनेसियामा आयोजना हुने एन्टी करप्शन इनिसिएटिभ फर एशिया एण्ड द प्यासिफिक २०२५ विषयक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने । ३. २०८२ कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र ईजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको २५औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन माननीय महालेखापरीक्षक श्री तोयम राया नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने । ४. कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्ब उनन्चास करोड (करिब तीस अर्ब आठ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने । ५. (क) अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूको फण्ड क्वेटामा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गर्ने । (ख) कोटा वृद्धि गर्दा थप हुने करिब ७८.४५ मिलियन एसडिजारमध्ये सोको २५ प्रतिशत चालु आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट (अर्थपत्र) जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने ६. लिज फाईनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने । ७. समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने । ८. छानविन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष श्री शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने । ९. मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने । १०. प्रशासकीय अदालतको अध्यक्षमा डा. टेक बहादुर घिमिरे, संखुवासभा तथा सदस्यहरूमा अधिवक्ता श्री नवल किशोर यादव, वीरगन्ज र श्री आलोक चन्द्र श्रेष्ठ, बागलुङलाई नियुक्त गर्ने । ११. २०८२ भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा आयोजना हुने एशिया, अप्रिmकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन को ६३ औं एनुअल सेसनमा सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजय कुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने । २. खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरूको लागि अधिकृतस्तरका जम्मा ७६ अस्थायी दरबन्दी स्वीकृत गर्ने । १३. कम्युनिटी अन द इलिमिनेशन अफ डिस्क्रिमिनेशन अगेनिस्ट वुमेनका सदस्य श्री वन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने । १४.थाइल्याण्डको बैंककमा २०८२ भदौ १७ र १८ गते आयोजना हुने विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २० औँ मन्त्रीस्तरीय बैठकमा भाग लिन माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई स्वीकृति प्रदान गर्ने । १५. नेपाली सेनातर्फ एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, छ जना सहायक रथी र सात जना महासेनानीको सरुवा गर्ने, एकजना महासेनानीको सहायक रथीमा बढवा गर्ने । १६. बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८२ मा तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने । १७. २०६९ भदौ २५ देखि २८ गतेसम्म रसियाको सैन्ट पिटर्सवर्गमा आयोजना हुने ११ औं सेन्ट पिटर्सवर्ग युनाइटेड कल्चर्स फोरममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री हरिप्रसाद मैनालीलाई स्वीकृति प्रदान गर्ने । १८. धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने । १९. आदिवासी जनजाति आयोगका माननीय सदस्य शरण राईलाई आदिवासी जनजाति महासंघ, हङकङले मिति २०८२ भदौ २२ गते हङकङमा आयोजना गर्ने ३१औं विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने । २०. २०८२ भदौ ३१ देखि असोज ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने। २१. मालपोत (आठौं संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने । २२. स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने । २३. राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने । २४. नेपाल सरकार र दक्षिण एशिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालबिच हस्ताक्षर हुने हेडक्वार्टर एग्रिमेण्ट बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड साउथ एशिया वाइल्डलाइफ इन्फोर्समेण्ट नेटवर्क, २०२५ स्वीकृत गर्ने । २५ मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
रास्वपालक्षित वर्षमानको टिप्पणीः विचार र लक्ष्य नभएको पार्टी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग, बलिदान, जेलनेल र बलिदान नभएका पार्टीको रूपमा चित्रण गरे। उनले त्यस्ता राजनीतिक दलहरुले आज १० वर्ष जनयुद्ध लढेको माओवादी र लामो इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमालेमाथि थ्रेट दिइरहेको बताए । यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको जिकिर उपमहासचिव पुनले गरे । उनले पछिल्लो समयमा देशमा धेरै कुरामा परिवर्तन भएको बताए । उपमहासचिव पुनले लोकतान्त्रिक गणतन्त्रलाई अझै जनताको निकट पुर्याउनु पनि बताए ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीलाई किड्स क्लिनिकमा छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंको मध्यबानेश्वरस्थित किड्स क्लिनिकबीच समझदारी भएको छ । सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रबन्धक मनोहर मलहोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरे। सम्झौताअनुसार ‍किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा ९ओपीडी० र प्रयोगशाला ९ल्याब०को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक ९डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका०ले १० प्रतिशत छुट पाउने छन् । सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । किड्स क्लिनिक बाल स्वास्थ्यसम्बन्धि विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक हो ।
कामना सेवा विकास बैंक र लेमन ट्री प्रीमीएरबीच सम्झौता, ग्राहकलाई छुट
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठस्थित लेमन ट्री प्रीमीएरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार, बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड तथा बेभरेज सेवामा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन् । ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण पेश गरेपछि सहजै यो सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । बैंकले यस सम्झौताबाट ग्राहक र कर्मचारीहरूले लाभ लिन सक्ने विश्वास लिएको छ ।
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुर्व्यवहारको आरोप
काठमाडौं । नर्वेकी राजकुमारीको छोरा मारियस बोर्ग होइबीविरुद्ध बलात्कारका चारवटा मुद्दासहित जम्मा ३२ आपराधिक घटनामा मुद्दा दर्ता गरिएको अभियोजन पक्षले जनाएको छ । २८ वर्षीय होइबीमाथि आफ्नी एक पूर्वसाथीलाई दुर्व्यवहार गरेको र अर्को पूर्वसाथीसँग सम्बन्धित विभिन्न कानुन उल्लंघन गरेको आरोपसमेत लगाइएको छ । मारियस बोर्ग होइबीको जन्म क्राउन प्रिन्सेस मेटे-म्यारिटको विवाहपूर्वको सम्बन्धबाट भएको हो । त्यसपछि राजकुमारीले प्रिन्स हाकोनसँग विवाह गरेकी थिइन् । होइबीले भने आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । उनका वकिल पेटर सेकुलिकले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै आफ्ना मुवक्किललाई न्यूनतम सजाय दिलाउने प्रयास गर्ने बताएका छन् । यदि गम्भीर आरोप प्रमाणित भएमा होइबीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ ।
एससीटी यूनीयनपे कार्डबाट मोबाइल वालेटमा सजिलै रकम लोड गर्न सकिने
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले अब आफ्नो यूनीयनपे कार्डबाट नेपालमा सञ्चालन भइरहेका विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने सेवा सुरु गरेको छ । एससीटीले जारी गरेको सूचनाअनुसार, यस सुविधा मार्फत ग्राहकहरूले इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा आफ्नो यूनीयन पे कार्डबाट सिधै रकम पठाउन सक्नेछन् । यो सेवा नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध सम्पूर्ण वालेट र मर्चेन्ट एप्लिकेशनहरूमार्फत उपलब्ध हुनेछ। नयाँ सुविधा मार्फत ग्राहकहरूले अब पीओएस मात्र होइन, डिजिटल वालेटमार्फत इ(कमर्स भुक्तानी, एयरलाइन टिकट खरिद र अन्य डिजिटल भुक्तानीहरू अझ सहज तरिकाले गर्न सक्नेछन् ।