विकासन्युज

‍एसबिआई बैंकका डेबिट कार्ड प्रयोगकर्ताका लागि भोजन, आवास र दन्त उपचारमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र रामदा एनकोर काठमाडौंबीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरूमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । यसैगरी, बैंक र होलिडे इन रिसोर्ट काठमाडौंबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ  । साथै बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग समेत दन्त उपचार सेवामा बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूला​​​​​​​ई २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

‍नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रुपमा पनि लिइन्छ ।  नबिल बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य ९एसडिजी०लाई आत्मसात गर्दै आफ्नो कारोवारमा वातावरणीय, समाजिक र सुशासन सम्बन्धित सिद्धान्त अंगिकार गर्दै आएको छ ।  नबिलले आफ्नो रणनीतिमा दिगोपनलाई एक मुख्य आधार बनाई वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा आफूलाई केन्द्रित गर्दै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङलाई प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैंकका यिनै कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै नबिललाई यो अवार्डद्वारा सम्मान गरिएको हो ।  युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको लामो अध्ययन र विश्लेषणका आधारमा बैंकलाई सम्मान गरेको हो । बैंकले यसअघि सन् २०१०, सन् २०२०, सन् २०२१, सन् २०२२ र सन् २०२४ मा विभिन्न विधामा यूरोमनी अवार्ड फर एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेको छ ।  नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

नाडा अटो शो : टाटाको स्टलमा झुम्मिए अवलोकनकर्ता, के के छन् अफर ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो- २०२५ मा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना नयाँ तथा पुराना मोडलहरूले अवलोकनकर्ताको ध्यान खिचिरहेको छ । टाटाको स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । जहाँ थेग्न नसकिने भीड लागेको छ ।  टाटाले नाडा अटो शोको अवसर पारेर ‘अल न्यु टाटा सफारी’ डिजेल इन्जिन र टियागो ईभीमा ‘एरिजोना ब्लू’ नामक नयाँ रङ प्रदर्शनमा राखेको छ । नाडा अटो शोमा गत साउनमा भएको नाइमा मोबिलिटी एक्स्पोमा जस्तो छुट नभए पनि बिक्रेताहरूले विभिन्न आकर्षक अफर भने ल्याएका छन् । अटो शोमा बिक्रेताले आफ्नो गाडीको बिक्री बढाउँछन् भने क्रेताले आकर्षक मूल्यमा गाडी किन्न पाउँछन् । नाइमामा एउटै गाडीमा २० लाख रुपैयाँसम्म छुट दिइएको थियो। सिप्रदी ट्रेडिङका सेल्स निरज डाँगीले भर्खरै सार्वजनिक गरिएको ‘अल न्यु टाटा सफारी’ कर्पोरेट र ठूला व्यवसायीहरूलाई लक्षित गरी बनाइएको बताए । उनका अनुसार यो सेभेन-सिटर गाडी हो ।  यो नेपाली बजारमा पहिलेदेखि नै रुचाइएको सफारीको नयाँ र परिष्कृत भर्सन हो । यसका साथै टियागो ईभीमा थपिएको नयाँ ‘एरिजोना ब्लू’ रङले ग्राहकलाई थप विकल्प दिएकोे छ । नाडा अटो शोमा टाटाले आफ्ना लोकप्रिय ईभी मोडलहरूलाई प्राथमिकताका साथ प्रदर्शनमा राखेको छ । स्टलमा पन्च ईभी, नेक्सन केथ्री र कुपे डिजाइनको प्रिमियम गाडी कर्भ ईभी आकर्षणको केन्द्र बनेका छन् ।  कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाटको मोटर जडित यो गाडीले एक पटकको फुल चार्जमा ३७५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । हालै मात्र यो गाडीले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको सफल यात्रा गरेको थियो । यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, नेक्सन केथ्रीमा ४५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाटको मोटर रहेको यो गाडीले ३२५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । यसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ । पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाटको मोटर रहेको पन्च ईभीले २७० किलोमिटरको माइलेज दिन्छ । यसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टिआगो ईभीको मूल्य २९ लाख ९९ हजार रुपैयाँबाट सुरु रहेको छ ।  नाडालाई लक्षित गर्दै सिप्रदीले ईभी गाडी खरिदमा विशेष अफर ल्याएको छ । नगद छुटका साथै ग्राहकले अटो प्लस इन्स्योरेन्स र विभिन्न एक्सेसरीज सुविधाहरू पाउनेछन् भने ३ वर्षसम्मको लागि ‘कन्जुमेबल’ पार्टसहित निःशुल्क सर्भिसको सुविधा दिएको छ । ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी अवधिभित्र देशभरका डीसी चार्जिङ स्टेसनमा पूर्ण रूपमा निःशुल्क चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी अफरहरू टियागो ईभी, पन्च ईभी, नेक्सन केथ्री, र कर्भ ईभीमा लागू हुनेछन् ।  नेपालमा टाटा ईभी लोकप्रिय हुनुको पछाडि सिप्रदीको ४० वर्षभन्दा लामो विरासत र बलियो सर्भिस नेटवर्क रहेको डाँगी बताउँछन् । देशभर १८५ भन्दा बढी चार्जिङ नेटवर्क, १६ भन्दा बढी ईभी डेडिकेटेड सर्भिस सेन्टर र नैकापस्थित ब्याट्री डाइग्नोसिस तथा रिपेयर सेन्टरले ग्राहकलाई बिक्रीपछिको सेवामा ढुक्क बनाएको छ ।  नाडा अटो शो आइतबारसम्म चल्नेछ ।   

रविलाई भेटेपछि प्रचण्डले भने- उहाँ त दुब्लाउनु भएछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेसँग भेट गर्न नख्खु कारागार पुगेका छन् । ललितपुरस्थित कारागारबाट बाहिर निस्किएपछि सञ्चारमाध्यमको प्रतिक्रियाको क्रममा प्रचण्डले लामिछाने दुब्लाएको बताए । उहाँ (रवि)जीको भैरहवाको बसाइको स्थिति जटिल नै रहेछ । दुब्लाउनु भएछ । यहाँ बसाइ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो । भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंशा गर्नु भयो,’ उनले भने । प्रचण्डले आफ्नो क्याबिनेटमा लामिछाने गृहमन्त्री भएकाले अभिभावकको हिसाबमा भेट्न गएको पनि बताए । ‘उहाँ मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ। अभिभावकको हिसाबले उहाँको अवस्‍था बुझ्नु स्वभाविक नै हो,’उनले भने ।

नाडा अटो शोमा सेरेसको विशेष अफर

काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्रीएक्स अफर ल्याएको छ ।  अफरअन्तर्गत तीन वर्षको सम्पूर्ण बीमा कभरेज, तीन गुणासम्मको नगद छुट र बुकिङ रकमलाई तीन गुणा बराबरको फाइदा जसले खरिद प्रक्रियामा थप लाभ दिने कम्पनीले जनाएको छ । ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुनेछ । सेरेसले कोरालापास हुँदै ४ हजार ६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ । यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो । 

माछापुच्छ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा छुट

काठमाडौं । पोखरा महानगरपालिका–२७, तालचोकस्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकर प्रभु बैंक लिमिटेडबीच स्वास्थ्य सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवारजन र बैंकका ग्राहकहरूले माछापुच्छ्रे पोलीक्लिनिकमा उपलब्ध स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन्।

रुपन्देहीमा ६ अर्बको आधुनिक इन्धन डिपो, लुम्बिनीको एक महिनाको माग धान्ने

काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो । कुल पाँच अर्ब ७९ करोड ३० लाख (करबाहेक) लागतमा उक्त डिपो निर्माण गरिनेछ । काठमाडौं विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले आज निगमलाई उक्त डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हस्तान्तरण गरेको छ । सो डिपोमा कुल १८ हजार छ सय ८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्याङ्क निर्माण गरिने निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दि‍ए ।  जसअन्तर्गत डिजेल भण्डारण गर्न १३ हजार पाँच सय किलोलिटर, पेट्रोलका लागि चार हजार नौ सय ६० किलोलिटर र मट्टितेलका लागि दुई सय २८ किलोलिटर क्षमताका भण्डारण ट्याङ्क निर्माण गरिनेछ ।  नयाँ बन्ने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने छ । डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुईवटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कूल चार हजार दुई सय किलोलिटर पानी भण्डारण हुनेछ । इन्धन लोडिङ सेडमा आठ वटा ‘वे’ र अनलोडिङ सेडमा पनि आठ वटा ‘वे’ निर्माण हुनेछ । पूर्ण रूपले अटोमेसनमा आधारित डिपोमा भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृहलगायत संरचना निर्माण गरिने निगमले जनाएको छ । असोजमा बोलपत्र आह्वान गरी मङ्सिरबाट निर्माण गरिने निगमले जनाएको छ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । डीपीआर हस्तान्तरण कार्यक्रममा भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख यादवले हालको भलबारी डिपो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको नरहेको तथा भण्डारण क्षमता विस्तार गर्न ठाउँ साघुँरो भएकाले रोहिणी क्षेत्रमा डिपो स्थान्तरण गर्न लागिएको जानकारी दिए । काठमाडौं विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा विवेक बरालले पेट्रोलियम पूर्वाधार डिजाइन र निर्माण गर्न नेपाली इञ्जिनियर सक्षम रहेको बताए । काठमाडौं विश्वविद्यालयका पेट्रोलियम विज्ञ एवं निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भलबारीमै भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरहेकाले उक्त डिपो स्थान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।  ‘भलबारीमा दुईरतीन दिनको माग धान्ने भण्डारण छ, अहिले अमलेखगञ्जबाट भैरहवा इन्धन ढुवानी हुँदै आएको छ, केही कारणले राजमार्ग अवरुद्ध भएको अवस्थामा लुम्बिनी प्रदेशको आपूर्ति शृङ्खलामा प्रभाव पर्न सक्छ,’ उनले भने, ‘भण्डारण क्षमता विस्तार गर्न नयाँ डिपो निर्माण गर्नुपरेको हो ।’ निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माणका लागि डिपिआर तयार गर्न गत मङ्सिरमा काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको थियो ।  डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ । सो क्षेत्रमा रहेको थप साढे ८ विधा पर्ती जग्गा निगमको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढेको निगमले जनाएको छ । उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ । यस्तै पर्ती जग्गा भोगचलन गरिरहेका ९७ जना स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति तथा प्रतिवद्धतासमेत व्यक्त गरेको निगमले जनाएको छ किन बनाउनुपर्यो नयाँ डिपो ? लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि निगमले हाल भलवारीमा प्रादेशिक कार्यालय सञ्चालन गरिरहेको छ । करिब साढे पाँच बिघा जमिनमा फैलिएको डिपोमा न्यून भण्डारण क्षमता रहेको छ । हाल भलवारी डिपोमा पेट्रोलका लागि पाँच सय १९ किलोलिटर, डिजेलका लागि तीन हजार ४० किलोलिटर र मट्टितेलका लागि दुई सय ८० किलोलिटर क्षमताको भण्डारण ट्यांक रहेको छ । वर्तमान खपत परिमाणको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून तथा सोही स्थानमा भण्डारण क्षमता वृद्धि गर्नका लागि जग्गा अभाव भएकाले डिपो स्थान्तरण गर्नुपरेको निगमले जनाएको छ । बुटवल–भैरहवा सडकसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोबाट पेट्रोलियम पदार्थको कारोबार हुँदा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले डिपो स्थानान्तरणको माग गर्दै आएका छन् ।

महालक्ष्मी बैंकको लाभांश वितरण क्षमता ११.५१ प्रतिशत, निक्षेप ५६ अर्ब नाघ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्य सम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.०३ करोड रुपैयाँ पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकले ५६.२२ रुपैयाँ अर्ब निक्षेप संकलन गर्न सफल भएकोमा ४५.८५ रुपैयाँ अर्ब कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो ।  साथै आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।  बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ आषाढ मसान्त सम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ ।  जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो ।  कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्त सम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।