विकासन्युज

प्रधानमन्त्री बालेनले भने- खोज र उद्धार प्राथमिकतामा छ, चीन र भारतबाट बेलीब्रिज ल्याएर पुनःस्थापना तीव्र पारिनेछ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता तथा सक्रियताका साथ लागिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार प्रधानमन्त्री शाहले यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मिडिया, विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयंसेवक संस्था तथा आमनागरिकको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको उल्लेख गरेका हुन् ।  ‘यस अवधिमा यहाँहरुले देखाउनुभएको धैर्य, साथ, सहयोग र समन्वयप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । विपद् व्यवस्थापनमा सङ्घीय सरकारलाई प्रदेश र स्थानीय सरकारले दिएको साथ तथा सहयोग निकै महत्वपूर्ण छ । साथै, हाम्रा मित्रराष्ट्रहरु, स्वदेशी र विदेशी सङ्घसंस्था, सञ्चारमाध्यम लगायतका सबै सरोकारवालाले देखाउनुभएको सदासयता र सहयोग अनुकरणीय छ’ , प्रधानमन्त्री शाहले भने ।  प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरेका छन् । ‘हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको छ । त्यसैले यो क्षेत्र सतर्क हुनैपर्छ, सँगसँगै हामीले अन्तरराष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने पनि समय आएको छ’ , उनले भने ।  सरकार अहिले प्रभावित क्षेत्रमा अझै पनि खोज र उद्धारमा केन्द्रित छ । सँगसँगै प्रभावित क्षेत्रका नागरिकका लागि राहत सङ्कलन तथा वितरण पनि सरकारको प्राथमिकतामै छ । काठमाडौंलगायत देशका विभिन्न स्थानमा सङ्घसंस्था र आम नागरिकबाट प्राप्त राहत सामग्री सङ्कलन गरी प्रभावित नागरिक समक्ष पुर्याउने काम भइरहेको प्रधानमन्त्री शाहले बताए ।  यस कार्यमा अन्तरराष्ट्रिय जगतले पनि सघाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलियालगायत मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त भएको जानकारी दिए ।  ‘हाम्रा सुरक्षाकर्मीले हवाई र सडकमार्गमार्फत प्रभावित क्षेत्र (रसुवा, नुवाकोट र धादिङ) का चार वटा सङ्कलन केन्द्र हुँदै रसुवा र नुवाकोट जिल्लाका २७ वटा वितरण केन्द्रमार्फत तीन हजार ६९६ जना प्रभावित नागरिकसम्म पुर्याइएको छ’, उनले भने ।  ।  साथै प्रदेश र स्थानीय सरकार पनि सङ्घीय सरकारसँगको समन्वयमा ती केन्द्रहरुमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रियताका साथ जुटिरहेका रहेको प्रधानमन्त्री शाहको भनाइ छ । सरकारले राहत सङ्कलन र वितरणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारणले निरन्तर जानकारी समेत गराइरहेका छ ।  राहत सङ्कलन तथा वितरण कति प्रभावकारी भइरहेको छ भनेर हामीले हाम्रा सचिवालयका सदस्यहरु र कर्मचारीहरुलाई समेत प्रभावित क्षेत्रमै परिचालन गरिरहेकोसमेत उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले बाढीका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भू-भाग पुनःसडक सञ्जालमा जोडिएको बताएका छन् । गल्छी-त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी भएर त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ । नुवाकोटका ठूलो सङ्ख्याका रहेका नागरिकको सदरमुकामसँग पुनःसीधा सडक पहुँच स्थापित भएको प्रधानमन्त्री शाहको भनाइ छ ।  ‘यसबाट प्रभावित क्षेत्रहरूमा उद्धार, राहत सामग्री वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा थप सहज हुने भएको छ । रसुवा, नुवाकोटदेखि धादिङका अधिकांश स्थानका पुल भत्किएका छन् । यसले आवातजावतमा असर परेको छ । सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको छ । हामीसँग ४८ मिटर लम्बाइका ६ र ७० मिटरको एक थान बेलिब्रिज छ । अहिले तीन ठाउँ (देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजार) मा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ’, प्रधानमन्त्री शाहले भने ।  साथै, भारत सरकारबाट २३० फिट सिङ्गल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ । साथै, भारतले थप सात वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको र चीन सरकारबाट ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुने उनको भनाइ छ । प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफलसमेत अघि बढाएको उल्लेख गरेका छन् । त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको सङ्ख्या तथा भौतिक क्षतिको विवरण समेत संकलन सुरु भइसकेको उनको भनाइ छ । ‘हजारौं नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ । उहाँहरुले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ । उहाँहरुको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो हो । उहाँहरुलाई मानसिक र शारीरिक रुपमा सशक्त बनाउँदै पुनःस्थापना गर्न सरकार लाग्नेछ । पुनःस्थापनाका आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी छ’, प्रधानमन्त्री शाहले भने ।

रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा भीषण क्षति, १६८ जना अझै सम्पर्कबिहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र सम्बद्ध आयोजनाहरूका अनुसार सञ्चालनमा रहेका ८ वटा (२८१ मेगावाट) र निर्माणाधीन ४ वटा (३८८ मेगावाट) आयोजना बाढीबाट प्रत्यक्ष प्रभावित भएका हुन् ।  बाढीका कारण जलविद्युत् क्षेत्रमा कार्यरत तथा आयोजनास्थल वरपरका १६८ जना व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन् । रसुवा र नुवाकोट जिल्लाका ११ वटा क्षतिग्रस्त आयोजनाहरूबाट मात्रै १६८ जना हराइरहेको विवरण प्राप्त भएको छ । रसुवा जिल्लाका प्रभावित प्रमुख आयोजनाहरूमध्ये २१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ मा परामर्शदाता, ठेकेदार र कर्मचारी गरी ५७३ जना बेपत्ता रहेका छन् ।  उक्त आयोजनाबाट हालसम्म ८७३ जनाको उद्धार तथा सम्पर्कमा आएका छन् भने ३ जनाको मात्र सकुशल उद्धार सम्भव भएको छ । यस्तै, १११ मेगावाटको सञ्चालनमा रहेको रसुवागढी जलविद्युत् आयोजनाबाट ४९ कर्मचारीसहित ९३ जना हराइरहेका छन् । लाङटाङ भोटेकोशी (१२० मेगावाट) बाट ९३ जना, चिलिमे (२२ मेगावाट) बाट ४१ जना, मैलुङ खोला (५ मेगावाट) बाट ८ जना र परीक्षण चरणमा रहेको लाङटाङ खोला (२० मेगावाट) बाट ४ जना सम्पर्कविहीन भएका छन् ।  नुवाकोटतर्फ नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाहरूमध्ये २५ मेगावाटको सूर्य विद्युत् आयोजनाबाट १७६ जना तथा निर्माणाधीन मिड्ल त्रिशूली गंगा (१५.६ मेगावाट) बाट १२२ जना हराइरहेका छन्। यसैगरी निर्माणाधीन माथिल्लो त्रिशूली-३ बी (३७ मेगावाट) बाट ४२ जना, माथिल्लो त्रिशूली-३ ए (६० मेगावाट) बाट १ जना र देवीघाट जलविद्युत् (१४.१ मेगावाट) बाट १ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । माथिल्लो त्रिशूली-३ बी आयोजनाका सम्पूर्ण संरचनासँगै २२० केभी त्रिशूली ३ बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीपछि विभिन्न आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेकाहरूको उद्धारका लागि २४ सै घण्टा खोज तथा उद्धार कार्य जारी राखिएको छ । माथिल्लो त्रिशूली–३ ए को सुरुङमा फसेकाहरूको उद्धारका लागि केबल टनेल पोर्टल सफा गर्ने, क्राउन ब्लास्ट गरी पानी निकाल्न वाटर पम्प सेट प्रयोग गर्ने र ढुंगा-माटोको थुप्रो हटाउने काम भइरहेको छ ।  चिलिमे जलविद्युत् केन्द्रको २५० मिटर लामो सुरुङमध्ये ९० मिटरसम्म टोली पुगेको छ भने नेपाली सेना, पदतारोही र भारतीय प्राविधिक टोलीले मार्ग खुलाउने प्रयास गरिरहेका छन् ।  यस्तै, रसुवागढी र लाङटाङ खोला आयोजनामा नेपाली सेना, इन्जिनियर र ड्रोन टोलीले सुरुङभित्र निरीक्षण गरे पनि कसैलाई भेट्टाउन सकिएको छैन ।

बाढी पीडितलाई शंकर ग्रुपको ४ करोड सहयोग, गृह मन्त्रालयको समन्वयमा टार्पोलिन टेन्टसमेत वितरण

काठमाडौं । देशमा आइपरेको विनाशकारी प्राकृतिक विपद्का पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि शंकर ग्रुपले ‘प्रधानमन्त्री राहत कोष’मा ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले सोमबार एक कार्यक्रमका बीच अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।   यसका साथै ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रुपन्देही (भैरहवा) का प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूका लागि अस्थायी आश्रय निर्माण गर्न २५ लाख बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको जनाएको छ । विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति गहिरो श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै शंकर ग्रुपले बेपत्ता भएकाहरूबारे सकुशल उद्धारको कामना गरेको छ । उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय, स्वयंसेवक र सरकारी अधिकारीहरूप्रति आभार व्यक्त गर्दै ग्रुपले राष्ट्रिय सङ्कटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको र भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

रसुवाको टिमुरेमा 'रियल टाइम' सीसी क्यामेरा जडान, बाढीको प्रत्यक्ष निगरानी र पूर्वसूचना पाउन सहज हुने

काठमाडौं । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल-टाइम सीसी क्यामेरा जडान गरिएको छ । सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामेरा जडान गरिएको हो ।  जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा जडान गरिएको क्यामेराबाट टिमुरे-रसुवागढी क्षेत्रको नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न सकिनेछ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले  केन्द्र र जल तथा मौसम विज्ञान विभागका अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा मौसम र सम्भावित बाढी जोखिमबारे छलफल गरेका थिए ।  छलफलमा नदीको निरन्तर निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीलाई तीव्रता दिने विषयमा जोड दिइएको थियो ।  सोही छलफलपछि टिमुरेमा निगरानी प्रणाली विस्तारको काम अघि बढाइएको हो । क्यामेरा जडान भइसके पनि प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन भिस्याट तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।  आवश्यक प्राविधिक काम पूरा भएपछि सम्भवतः रातिदेखि नै प्रणाली सञ्चालनमा आउनेछ । क्यामेराबाट प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान र पूर्वसूचना सेवासँग एकीकृत गरिनेछ ।  यसबाट नदीको अवस्था निरन्तर निगरानी गर्दै बाढीको प्रारम्भिक संकेत पहिचान गर्न सहज हुनेछ । विशेषगरी चीनसँगको सीमावर्ती क्षेत्रसमेत रहेको टिमुरे-रसुवागढी क्षेत्रमा बाढीको सम्भावित जोखिमबारे तत्काल जानकारी प्राप्त गर्न नयाँ प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ ।  समयमै सूचना प्रवाह र पूर्वसूचना जारी गर्न सकिने भएकाले यसले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् ।  रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो । प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो ।  त्यसयताकै सबैभन्दा धेरै रकम सोमबार अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ । भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत चेक हस्तान्तरण गरेर उपलब्ध गराएका थिए ।  मन्त्रालयको तथ्याङ्कअनुसार चार दिनमा अर्थमन्त्रीमार्फत कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ ।  त्यसमध्ये ८० हजार रुपैयाँ नगद थियो भने बाँकी सबै ‘एकाउन्ट पेयी’ चेक रहेका छन् । यस्तै, दुई लाख अमेरिकी डलरको चेक पनि मन्त्रालयमा प्राप्त भएको छ ।      

बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि सिप्रभ्य समूहको ५ करोड १ लाख सहयोग

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु‍र्याउन सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत वितरण, स्वास्थ्य उपचार र बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना लगायतका कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ । सिप्रभ्य समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिप्रदियन सहायता संस्थामार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ । संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमै पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत सामग्री वितरण गरिरहेका छन् ।  प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमै समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराउँदै आएको समूहले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउँदै सिप्रभ्य समूहले उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बाढीपीडितका लागि आइएमई ग्रुपको  १० करोड सहयोग, अर्थमन्त्रीलाई बुझाइयो चेक

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनस्र्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा ग्रुपअन्तर्गतका कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।  महासंघका निवर्तमान अध्यक्ष ढकालले प्राकृतिक विपत्तिले सिर्जना गरेको विषम परिस्थितिमा पीडित समुदायको घाउमा मलम लगाउन आइएमई ग्रुप हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।  उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकमका अतिरिक्त आइएमई फाउण्डेशनमार्फत प्रभावित क्षेत्रमा थप आवश्यक राहत तथा जिन्सी सामग्रीहरू निरन्तर उपलब्ध गराइने जानकारीसमेत दिएका छन् । 

बाढीपीडितको राहतमा शारदा ग्रुप : १ करोड १ लाख सहयोगदेखि गाउँ पुनर्निर्माणसम्म

काठमाडौं । भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थमन्त्रीको कार्यालयमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । ग्रुपका विभिन्न कम्पनीमार्फत उक्त सहयोग गरिएको हो । जसअनुसार पशुपति खाद्य तेल उद्योगले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख, प्रिमियर वायर्सले १५ लाख र प्रिमियर डिस्टिलरीले १० लाख रुपैयाँ योगदान गरेका छन् । आर्थिक सहयोगसँगै ग्रुपले तत्काल राहतका लागि खाद्य तथा पेय पदार्थसमेत उपलब्ध गराएको छ । गुडलाईफ तथा रमपमका चाउचाउ, गुडलाइफ बिस्कुट र जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका सामग्री नेपाल सरकारलाई उपलब्ध गराइएको ग्रुपले जनाएको छ । उक्त सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा वितरण गरिनेछ । त्यस्तै, प्रभावित जिल्लामा उद्धार तथा राहतका क्रममा आवश्यक पर्ने अक्सिजन निःशुल्क उपलब्ध गराउने घोषणा पनि ग्रुपले गरेको छ । शारदा ग्रुपद्वारा प्रवद्र्धित शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २१ लाख रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, शिवम् सिमेन्ट लिमिटेडले बाढीपहिरोबाट प्रभावित एउटा गाउँको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ । विपद्का कारण घाइते भएका व्यक्तिका लागि रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । ग्रुपका अध्यक्ष शिवरतन शारडाले विपदमा आफ्ना परिवार तथा आफन्त गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायसँग उभिनु आफ्नो जिम्मेवारी भएको बताए। शारदा ग्रुपले विपद्मा प्रभावित व्यक्ति तथा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ ।  ग्रुपले आवश्यकता अनुसार आगामी दिनमा पनि राहत, उद्धार तथा पुनर्निर्माणका काममा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।