डीडीएकाे भन्दा स्वाप रेसियाे बढी भएपछि मेगाको विशेष साधारणसभामा विवाद
काठमाडौं । सम्झौता विपरित चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) मा सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) आएपछि मेगा बैंकको वार्षिक साधारणसभामा विवाद भएको छ । मेगाले टुरिजम् डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अघि बढेपछि तयार भएको डीडीएमा स्वाप रेसियो ९१.९७ प्रतिशत भएपछि विवाद बढेको हो । डीडीएअघि नै मेगाले टुरिजमसंग ९५ मा स्वाप रेसियो कायम गर्ने सम्झौता गरेको थियो । सेयर सदस्यहरुले स्वाप रेसियो डीडीए अनुसार हुनुपर्ने अडान लिएका छन् । मेगाले सोमबार टुरिजमसंग मर्जरमा जान विशेष साधारणसभा बोलाएको छ । विहान ११.३० बजे बोलाइएको साधारणसभा विवादका कारण दिउसो ३ बजे सम्म अगाडि बढ्न सकेको छैन । बैंकका सेयरधनी तथा लगानीकर्ताले डीडीएको प्रतिवेदन अनुसार मर्जरमा जानु पर्ने बताएका छन् । तर पदाधिकारी तथा संचालकहरु सम्झौता अनुसार अघि बढ्नु पर्ने पक्षमा छन् । यता मेगाका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह मर्जमा जानुपर्ने अडानमा रहेका छन् । मेगाले ६५ प्रतिशत हकप्रद निष्काशन गरेपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै टुरिजमले पनि साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउने भएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकलाई ४०० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्रीन डेभलपमेन्ट बैंकलाई ४०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई मंसिर ३ गते १ बराबर ४ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ४०० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ ।
वामपन्थी सरकार बनेपछि रक्सौल-अमलेखगञ्ज पाइपलाईन खारेज : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलगतै बन्ने वामपन्थी गठवन्धनको सरकारले रक्सौल अमलेखगन्ज पाइपलाइन सम्झौता रद्ध गर्ने बताएका छन् । पाइपलाइन सम्झौतामा भएका कतिपय विषय मुलुकहितमा नभएको बताउदै उनले सकेसम्म सच्याउने र नभए सम्झौता खारेज गर्ने जानकारी दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाइपलाइन संरचना बनेपछि भारतबाट १५ वर्षसम्म पेट्रोलियम पदार्थ किन्नुपर्ने वाध्यकारी सम्झौता राष्ट्रहित विपरित भएको दावी गर्दे सम्झौता रद्ध गर्ने बताएका हुन् । ‘मलाई त्यस्तो सम्झौता भएको छ जस्तो लाग्दैन, त्यस्तोे सम्झौता भएकै हो भने हामीलाई मान्य हुन्न, हामी नाका बन्दी लगाउँदा पनि नलाग्ने गरि देश बनाउन चाहान्छौं, आफ्नै घाँटीमा पासे लगाउने काम गर्दैनौं, त्यस्ता सम्झौता सच्याइन्छ’, ओलीले भने । नेपाल र भारतबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ३९ किलोमिटर पाइपलाइन नेपाल भूभागमा निर्माण गरिनेछ भने दुई किलोमिटर भारतीय भूमिमा पर्नेछ । निर्माण आरम्भ भएको ३० महिनामा पाइपलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कुल ४ अर्ब ४० करोड नेपाली रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि नेपालले एक अर्ब २० करोड र भारतले ३ अर्ब २० करोड लगानी गर्नेछन् । पाइपलाइनले पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत आयात गर्नेछ भने हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत आयात गर्नेछ । तर नेपालले आगामी १५ वर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नुपर्नेछ ।
४ वर्षपछि चिलिमे हाइड्रोपावरले ४ आयोजनाबाट वार्षिक १ अर्ब लाभांश पाउने
काठमाडौं । निर्माणधिन ४ जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछिको वर्षदेखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक १ अर्ब रुपैयाँ बढी थप लाभांश पाउने भएको छ । हाल निर्माणधिन १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, १४ मेगावाटको सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेन आयोजनाबाट २७० मेगावाट बिजुली बिक्री गरेर सो रकम बराबर लाभांश पाउने कम्पनीका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । उनका अनुसार यी आयोजना आउँदो ३ वर्षदेखि बिजुली उत्पादन गर्नेछन् । आयकर (कर्पोरेट ट्याक्स) का कारण केही वर्ष सेयरधनीलाई दिने लाभांश घटेपनि ४ वर्षपछि आयोजनाले बिजुली उत्पादन गरेको वर्षदखि वर्षेनी १ अर्ब रुपैयाँको हाराहारीमा लाभांश प्राप्त गर्ने उनको भनाई छ । बैकको कर्जा घट्दै गएपछि लाभांश बढ्दै जाने उनको भनाई छ । “पहिलो वर्ष चिलिमेको समेत गरी १ अर्ब रुपैयाँ हाराहारीमा लाभांश पाउने अनुमान गरिएको छ” उनले भने । सरकारले जलविद्युत आयोजनालाई १५ वर्षसम्म आयकर छुट दिएको छ । चिलिमेको आयकर छुट सुविधा यो वर्षदेखि सकिदै छ । आगामी आर्थिक वर्षदेखि सरकारलाई आयकर बुझ्नुपर्ने भएपछि आम्दानी घटेर यसको असर लाभांशमा परेपनि केही वर्षपछि सहायक कम्पनीबाट प्राप्त हुने लाभांशले सेयरधनीलाई दिने प्रतिफल बढ्ने उनको भनाई छ । आगामी वर्षदेखि कम्पनीले नाफाको २० प्रतिशत आयकर तिर्नुपर्ने छ । चिलिमेको नाफा ९० करोड रुपैयाँ छ । चिलिमेले आगामी आर्थिक वर्ष ०७५/०७६ देखि संचित कोषमा रहेको ५ अर्ब २१ करोड ५३ लाख रुपैयाँ बोनस सेयरको रुपमा वितरण गर्ने भएको छ । कम्पनीले संचित कोषको रकम एकैपटक नभई वर्षेनी १५ प्रतिशतका दरले सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने छ । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ छ । चिलिमेले आव ०६०/०६१ देखि बिजुली उत्पादन थालेको हो । चालु आवमा गरेको नाफाबाट मात्र चिलिमेका सेयरधनीले राम्रो लाभांश पाउने छन् । चालु आवमा पनि चिलिमेको लाभांशमा गिरावट आएर २५ प्रतिशतमा झरेको छ । चिलिमेले ४० प्रतिशतसम्म लाभांश दिएको छ । ५८५ मेगावाटको दुई आयोजना बनाउने चिलिमेले सहायक कम्पनीमार्फत ५८५ मेगावाट क्षमताका २ ठुला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । चिलिमेलाई ऊर्जा मन्त्रालयले ४२० मेगावाटको बुढीगण्डकी प्रोक र १६५ मेगावाटको बझाङमा रहेको सेती नदी ३ जलविद्युत आयोजनाको सर्वेक्षण गर्न अनुमतिपत्र (लाइसेन्स) दिएको हो । चिलिमेले अध्ययन गरेपछि आयोजनाको क्षमता विस्तार हुने छ । आयोजना अन्य ४ वटा आयोजनाको जस्तै सहायक कम्पनी बनाएर निर्माण गरिने श्रेष्ठले जानकारी दिए । यस्तै, चिलिमेले टावर निर्माण गर्ने भएको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको मंसिर १५ गते बुक क्लोज
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर १५ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । यस इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० प्रतिशत(१०ः३को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्दै छ ।
बजाजले ल्यायो “पेट्रोल बाहेक सबै खर्च हाम्रो” नामक योजना
काठमाडौं । बजाज अटोको नेपालको लागि आधिकारिक वितरक हन्सराज हुलास चन्द एण्ड कम्पनीले “पेट्रोल बाहेक सबै खर्च हाम्रो” नामक ग्राहक योजना ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि बजाज डिस्कभर बाइकको खरिदमा खरिदकर्ताले २ वर्षसम्म सम्पूर्ण स्पेयर पार्टस्, इञ्जिन आयल, सर्भिसिङ र लेबर चार्ज पूरै निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो कुराको निश्चिन्तताको लागि खरिदकर्तालाई सबै जानकारी र निःशुल्क कुपनहरु भएको एउटा ठूलो बुकलेट पनि प्रदान गरिनेछ । कम्पनीका अनुसार डिस्कभरको विश्वासलाई अझ प्रगाढ बनाउन कम्पनीले योे योजना ल्याएको हो ।
सोल्टी होटलको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २६९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको चन्द्रगढीमा, बीमितलाई सबैभन्दा बढी लाभांश प्रदान गरिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार झापा जिल्लाको चन्द्रगढीमा उपशाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा केही समयदेखि उत्साहजनक योगदान पुर्याउँदै आएको कार्कीले बताए । पछिल्लो समय बीमा क्षेत्रले बैंकिङ क्षेत्रसँग स्वस्थ प्रतिस्पर्धा एवं परिपूरक क्षेत्रको रुपमा भूमिका निर्वाह गर्दै आएको उनको भनाई छ । कार्यक्रममा कार्यकारी प्रमुख अधिकृत विवेक झाले कम्पनीले बजार विस्तार रणनीति अन्तर्गत चालु आर्थिक वर्षमा थप शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिने बताएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी भएकोले बीमितको सर्वोपरी हित र त्यसका मापदण्डबारी बीमितलाई जागरुक बनाउन कम्पनीले प्रयास गरिरहेको उनले बताए । बीमितलाई कुन कम्पनीमा बीमा गर्दा बढी हित हुन्छ भन्ने कुरा बुझाउने कार्यमा अभिकर्ताहरुको भूमिका निकै ठूलो भएको उनले बताए । अभिकर्तालाई समाजमा स्थापित गर्न प्रयास गर्दै आएको उनको भनाई छ । कम्पनीका अभिकर्ता र कर्मचारीले बीमितको हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दिगो विकासमा ध्यान दिएको झाले बताए । कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल बीमा शुल्क आर्जन तीन अर्ब ८० करोड रुपैयाँ छ । त्यस्तै कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको भन्दा तीन गुणाले बढेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार तीन महिनामा कम्पनीले १७ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ३६ करोड रुपैयाँ भएको छ भने कुल लगानी ५० अर्ब रुपैयाँ भन्दा बढी छ । यस कम्पनीले बीमितलाई प्रतिहजार ६५ देखि ८२ रुपैयाँ बोनस प्रदान गर्दै आएको छ । बीमितलाई सबैभन्दा बढी बोनस दिदै आएको यस कम्पनीले सर्वाधिक बोनस दरलाई कायम गर्दै अगाडि बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले बताए ।