३ महिनामा बैंकको कर्जा लगानी ९२.६७ अर्ब बढ्यो, व्यक्तिगत घरकर्जा ११ अर्ब २९ करोड
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४.६ प्रतिशत बढेको छ । गत असोजसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ९२ अर्ब ६७ करोड रुपैयाँ बढेको छ । असोजसम्म कुल कर्जा लगानी २० खर्ब ७८ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२, विकास बैंकहरुको ८.३ र वित्त कम्पनीहरुको १.९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६१.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ र १५.१ प्रतिशत थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा २५.५ प्रतिशत अर्थात १६ अर्ब ४४ करोड रुपैयाँ बढेर ८० अर्ब ९७ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.५ प्रतिशतले बढेको थियो । ३ महिनामा सेयर धितोमा दिने कर्जा १ अर्ब ९६ करोड रुपैयाँ प्रवाह भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि ल्याएको १ करोड ५० लाख रुपैयाँ व्यक्तिगत घर कर्जा अन्र्तगत ३ महिनामा ११ अर्ब २९ करोड ५८ लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित हायर पर्चेज कर्जा १.७, ओभरड्राफ्ट कर्जा २.९ प्रतिशतले बढेको छ । रियल स्टेट कर्जा ०.८ प्रतिशतले बढेको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । असोज मसान्तमा साधारण पुनरकर्जा ७ अर्ब ६१ करोड ५५ लाख र निर्यात पुनरकर्जा ६७ करोड २४ लाख गरी ८ अर्ब २८ करोड ७९ लाख रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ असोज मसान्तसम्ममा ९६ करोड २६ लाख उपयोगमा छ । सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ५ हजार ९२७ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ६ अर्ब २३ करोड ३२ लाख कर्जा बक्यौता रहेको छ । २३ करोड ९१ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।
मंसिर २६ देखि चेमेलिया आयोजनाबाट बिजुली उत्पादन हुदै, बिहीबारदेखि प्रसारणलाइन चार्ज सुरु
काठमाडौं । चमेलिया जलविद्युत आयोजनाबाट मंसिर २६ गतेदेखि बिजुली उत्पादन सुरु हुने भएको छ । नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण भएको आयोजनाको काम सम्पन्न भएको छ । आयोजनाबाट आउदो मंसिर २६ गते मंगलबारदेखि ३० मेगावाट बिजुली उत्पादन हुने भएको हो । काम सम्पन्न भई हाल परीक्षणको काम भइरहेको आयोजना प्रमुख अजय दाहालले बताए ।उनले आउदो बिहीबारदेखि दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया १३२ केभी प्रसारणलाइनबाट सवस्टेशनसम्म बिजुली चार्ज सुरु हुने जानकारी दिए । यो सफल भएपछि मंसिर २६ गतेदेखि औपचारिक रुपमा बिजुली उत्पादन हुने छ । चमेलिया अर्धजलासययुक्त (पिकिङ रन अफ दी रिभर) प्रकृतिको आयोजना हो । सुख्खायाममा पनि साँझ ६ घण्टा ३० मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया सवस्टेशनमा बिजुली जोडिने छ । सुदुरपश्चिममा नेपाली आयोजनाबाट बिजुली आपूर्ति हुने छ । सुदुरपश्चिमका लागि विद्युत प्राधिकरणले भारतको टनकपुरबाट ३० मेगावाट बिजुली आयात गरिरहेको छ । चमेलिया सबैभन्दा महंगो जलविद्युत आयोजना भएको छ । निर्धारित समय भन्दा ६ वर्ष ढिला र काम सुरु गरेको १० वर्षपछि आयोजना सम्पन्न भएको छ । चमेलियाको लागत प्रतिमेगावाट ५२ करोड रुपैयाँ पुगेको छ । यो प्रारम्भीक लागत मात्र हो । वास्तविक खर्च आएपछि आयोजनाको आयोजनाको लागत अझ बढ्ने देखिन्छ । निजी लगानीमा प्रतिमेगावाट औसत १५ देखि २० करोड रुपैयाँ हारहारीमा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । अन्य आयोजनाको तुलनमा चमेलियाको लागत झण्डै ३ गुणा बढी र हालसम्मको सबैभन्दा महंगो आयोजनामा दर्ज भएको छ । ५२ करोडले ३ मेगावाट जलविद्युत आयोजना सम्पन्न हुन्छ । गत असारसम्म चमेलियामा १४ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । त्यसबेलामा ७ अर्ब रुपैयाँ लगानीमा ३ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । ठेकेदारसँगको समझदारी ,सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले ढिलो र लागत बढेको प्राधिकरणको भनाई छ । इलेक्ट्रोमेकानिकल उपकरणमा कोरियाको निर्यात–आयात (एक्जिम) बैंकको ऋण सहयोग छ । चालु आर्थिक वर्षमा सार्वजनिक र निजी लगानीमा मात्रै साढे २ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । २ सय मेगावाट निजी क्षेत्र र बाँकी सार्वजनिक क्षेत्रबाट बिजुली थप हुने प्राधिकरणले जनाएको छ । असोजसम्म प्रणालीमा १० मेगावाट बिजुली थप भइसकेको छ । गत वर्ष निजी क्षेत्रबाट ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको छ । हालसम्म बिजुली जडित क्षमता ९८० मेगावाट पुगेको छ ।
सानिमा क्यापिटलले ल्यायो एक अर्ब २० करोडको म्युचुअल फण्ड, प्रतिफल १२८.१५ प्रतिशत
काठमाडौं । सानिमा क्यापिटलले एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड ल्याएको छ । सानिमाले १० रुपैंयाँ मूल्य अंकित १२ करोड ईकाईको सात बर्षे इक्वीटी फण्ड ल्याएको हो । कुल इकाईको १५ प्रतिशतले हुने एक करोड ८० लाख ईकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको छ । लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि अधिकतम २४ लाख ईकाईसम्म खरिद गर्न सकिनेछ । मंसिर १२ गतेदेखि १५ गतेसम्म सानिमा इक्वीटी फण्डका लागि आवेदन दिन सकिनेछ । आश्वा प्रणालीको सदस्य रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट सानिमा इक्वीटी फण्डमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ । सानिमा क्यापिटलका स्किम मेनेजर जनार्दन आचार्यले ७ बर्षमा १२८.१५ प्रतिशत प्रतिफल दिने गरि इक्वीटी फण्ड तयार पारिएको बताए । पुराना र नाम चलेका कम्पनीहरुको म्युचुअल फण्डमा पनि लगानी कर्ताको ठूलो आकर्षण नदेखिएको अवस्थामा पनि सानिमाको इक्वीटी फण्ड भने सहजै बिक्ने दावी पनि उनले गरे । ‘सानिमाको ब्राण्ड नामले पनि इक्वीटी फण्ड बेच्न समस्या हुन्न, जारी गरिएको इकाई भन्दा ठूलो मात्रामा आवेदन आउँछ भन्ने विश्वास छ, लगानी कर्ताको राम्रो रेस्पोन्स आईरहेको छ’, आचार्यले भने ।
सोल्टी होटलको साधारणसभा मंसिर २८ गते, २१ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । होटलले बोनस सेयर दिनका लागि मंसिर २८ गते ४३ औं वार्षिक साधारणसभा बोलाएको छ । होटलले २० कित्ता बराबर ३ कित्ता हकप्रद दिने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै चुक्तापुँजीको ६ प्रतिशत नगद लाभाँश पनि दिने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।
अब घरैमा बसेर अनलाईनबाट बैंकको खाता खोल्न सकिने
काठमाडौं । तपाइलाई बैंकमा खाता खोल्न लामो लाइन बस्नु परेको छ ? अब चिन्ता नगर्नुस लाइन नै नबसी घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था सनराइज बैंकले गरेको छ । बैंकले घरैमा बसेर २४ सै घण्टा खाता खोल्न मिल्ने व्यवस्था गरेको छ । सनराईले सहायताका लागि १६६००१२२४४४ मा सम्पर्क गर्न भनेको छ । सनराईजले पहिलो पटक यस्तो सुविधा ल्याएको हो ।
रिलायन्स फाइनान्सको मंसिर २२ देखि हकप्रद बिक्री खुला हुदै
काठमाडौं । पुँजी बढाउन रिलायन्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले २३ करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद मंसिर २२ देखि बिक्री खुला भई पुस २७ गतेसम्म तोकिएको छ । फाइनान्सले १० बराबर ४.५ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्तापँुजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको चुक्तपुँजी ८० करोड रुपैयाँ पुर्याउनु पर्ने छ ।
सानिमामाई हाइड्रोको हकप्रद सेयर लिलामीमा, मंसिर १९ गते अन्तिम दिन
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर लिलामी गर्ने भएको छ । सानिमाले बिक्री नभएको १ लाख ४६ हजार ५९२ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर १९ गते तोकेको छ । कम्पनीले साउन १९ देखि भदौ २९ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेका सेयर लिलामी गर्न लागेको हो ।
पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज खरिद अर्डर, एयरबस बोइङ भन्दा अगाडि
दुबई– युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा पाँच दिनसम्म चलेको १५औं ‘दुबई एयर सो’ मा करिब एक खर्ब १४ अर्ब अमेरिकी डलरबराबरको जहाज खरिद अर्डर भएको छ । उड्डयन क्षेत्रमा यो नयाँ कीर्तिमान भएको आयोजकले दाबी गरेका छन । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुँदै आएको दुबई एयर सो आयोजकका अनुसार सन् २०१५ को दाँजोमा यसपालि कारोबारसँगै दर्शक पनि २० प्रतिशतले बढेर ७९ हजार तीन सय ८० जना पुगेका छन्। युरोपेली जहाज निर्माता कम्पनी एयरबसले पाँच दिनसम्ममा ६२ अर्ब ५० करोड डलरमा पाँच सय ३५ थान जहाज जहाज बेच्न विभिन्न वायुसेवासँग सम्झौता गरेको छ । यसमा एयरबसको प्रतिस्पर्धी अमेरिकी जहाज निर्माता कम्पनी बोइङ थोरै परिमाणले पछाडि परेको छ । बोइङले भने पाँच दिनभित्र विभिन्न कम्पनीलाई ५० अर्ब डलरमा दुई सय ९६ थान जहाज बेच्ने सम्झौता गरेको छ। एयरबसले भारतको सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स इन्डिगोसँग ४९ अर्ब ५० करोड डलरबराबरको जहाज खरिद अर्डर सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एयरबसले इन्डिगोलाई ‘ए३२० निओ’ सिरिजका चार सय ३० थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्। त्यसैगरी बोइङले पनि एयर सोको अन्तिम दिनसम्ममा दुबईको बजेट एयरलाइन्स फ्लाई दुबईसँग २७ अर्ब डलरबराबरको जहाज खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार बोइङले फ्लाई दुबईलाई ‘बि७३७ म्याक्स’ सिरिजका दुई सय २५ थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्। ‘दुबई एयर सोको १६औं संस्करण सन् २०१९ मा हुने छ । युएईको इमिरेट्स एयरलाइनले १६ अर्ब डलरमा ‘बि७८७–१०’ सिरिजका ४० थान जहाज खरिद सम्झौता गरेको छ । यो सम्झौताअनुसार पहिलो जहाज सन् २०२२ मा आपूर्ति हुने छ । इमिरेट्स एयरबसको सबैभन्दा धेरै यात्रु बोक्ने ‘ए३८०’ र बोइङको सबैभन्दा धेरै यात्रु बोक्ने ‘बि७७७’ सिरिजका जहाज धेरै सञ्चालन गर्ने संसारकै एकमात्र वायुसेवा कम्पनी हो ।