नेप्से सामान्य अंकले बढ्दा दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । यस साताको शुरुदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार भने उकालो लागेको छ । आजको नेप्से ३.०८ अंकले उकालो लागेर १४७२.२४ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा केही सुधार आएतापनि कारोबार रकममा भने गिरावट भएको छ । सोमबार ३९ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार जम्मा ३५ करोडको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको ४ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार १५९ कम्पनीको ८ लाख ४२ हजार कित्ता सेयर कारोबार भएको हो । सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन ग्रीन डेभलपमेन्ट बैंक र बिशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ९.८४ र ९.८१ प्रतिशत बढी कमाएका छन् । अघिल्लो दिनको तुलनामा ग्रीन डेभलपमेन्टको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ र बिशाल बजारको सेयर मूल्य प्रतिकित्ता १८५ रुपैयाँले बढेको छ । सोही दिन प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६ प्रतिशत गुमाएका छन् । बजारमा ट्रेडिङ समूहको परिसूचक १५ अंकले बढेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक १४ अंकले घटेको छ ।
‘उत्तर र दक्षिण रिझाउने’ राजनीतिक कोपभाजनमा बुढीगण्डकी
काठमाडौं । ‘बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिनु ठिक थियो की थिएन त्यो एउटा सन्दर्भ हो तर एक महिना मात्रै कार्यकाल बाँकी रहेको चुनावी सरकारले दुई देशबिचको कुटनीतिक सम्बन्धमा असर पर्ने गरि सम्झौता रद्ध गर्नु सर्वथा गलत हो, नयाँ सरकारले त्यस्ता निर्णयहरु बदर गर्छ’, यो भनाई हो नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको । ओलीसँगै मञ्चमा बसेका काँग्रेस नेता तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले भने–‘त्यति ठुलो आयोजना प्रतिष्पर्धा नगरि नेपालमा बदनामी कमाएको चिनियाँ कम्पनीलाई दिने कुरा गलत थियो, सरकारले त्यस्तो गलत निर्णय सच्याएको छ, अब टेण्डर गरेर अघि बढ्नुपर्छ ।’ १२०० मेगावाटको बुढिगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय प्रति बामपन्थीहरु लचक थिए र छन् । उता, काँग्रेसले त्यसको कडा शब्दमा बिरोध गर्दै आएको थियो र छ पनि । यद्यपी माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापति रहेको सार्वजनिक लेखा समितिको असोज ९ गते सम्पन्न बैठकले चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । लेखा समिति र कृषि तथा जलश्रोत समितिको निर्देशन पालना गरेको भन्दै यहि कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरिदियो । सो सम्झौता खारेज हुने वित्तिकै केहि भारतीय मिडियाहरुले ‘चिनियाँ कम्पनीसँग खोसियो बुढिगण्डकी आयोजना, के भारतले पाउला ?’ भनेर ठुला ठुला समाचार नै लेखे । केहि भारतीय कम्पनीले त बुढिगण्डकी जलविद्युत आयोजनामा टेण्डर हाल्ने घोषणा पनि गरिसकेका छन् । एमाले अध्यक्षले बुढिगण्डकी आयोजना निर्माण सम्बन्धी चिनियाँ कम्पनीसँग भएको सम्झौता रद्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्ने घोषणा गरिसकेका छन् । अर्थात बामपन्थी सरकार गठन भएपछि बुढिगण्डकी फेरी पनि चिनियाँ कम्पनी गेजुवाले नै पाउनेछ । उता, काँग्रेस नेताहरुले टेण्डर निकाल्ने बताईरहेका छन र भारतीय कम्पनीहरुले टेण्डर हाल्ने घोषणा गरिरहेका छन् । अनि भारतीय सञ्चार माध्यमहरुले चिनसँग खोसियो, अब भारतले पाउला ? भनेर समाचार लेखिरहेका छन् । यसको सिधा अर्थ भनेको १२०० मेगावाटको बहुप्रतिक्षित बुढिगण्डकी जलविद्युत आयोजना उत्तर र दक्षिण रिझाउने राजनीतिको कोपभाजनमा परेको छ । बुढिगण्डकी जलविद्युत आयोजनालाई उत्तर र दक्षिणले रणनीतिक महत्वका साथ हेरेको विज्ञहरु बताईरहेका छन् । भारतले तल्लोतटिय लाभ र आफ्नो सुरक्षा चासोका रुपमा बुढिगण्डकी जलविद्युत आयोजनालाई लिएको बताइन्छ । उता, चिनले भने बुढिगण्डकीमा निर्माण हुने जलासय मार्फत भारतलाई सुरक्षा चुनौती दिने अस्त्रका रुपमा लिएको बिश्लेषण गरिन्छ । ‘बुढीगण्डकीमा निर्माण हुने ड्याम भत्कियो भने भारतमा ठुलो क्षति पुग्छ, त्यसैले त्यस्ता आयोजना चिनलाई दिनु भनेको भारतको सुरक्षा चासोलाई सम्बोधन नगर्नु जस्तै हो, चिनले ड्यामलाई देखाएर भारतसँग निहुँ खोज्न सक्छ’, पुर्व उर्जा सचिव शितलबाबु रेग्मीले लेखा समितिमा भनेका थिए । भारतले तल्लो टटिय लाभका लागि बुढिगण्डकी आयोजनामा बिशेष चासो देखाएको छ । आफ्नो प्रत्यक्ष संलग्नता र लगानी बिनै सो आयोजना निर्माण भैदेओस र तल्लो टटिय लाभका रुपमा निःशुल्क पानी उपयोग गर्न पाईयोस भन्ने भारतीय चाहना थियो । तर आयोजनामा चिनियाँ सरकारी कम्पनीको प्रवेशसँगै भारत सशंकित भएको बताइन्छ । उता, चिनले आफ्नो महत्वकांक्षी परियोजना ओबिओआर अन्तर्गत बुढिगण्डकी आयोजना बनाउन सकिने भन्दै हात अगाडी बढाएको थियो । तर नेपालमा बदनामी कमाएको गेजुवा कम्पनीलाई बुढिगण्डकीमा अघि सारिएपछि नेपालमा त्यसको बिरोध भएको थियो । यतिबेला भने बुढिगण्डकी जलविद्युत आयोजना दुई ठुला छिमेकी चिन र भारतलाई रिझाउने नाममा राजनीतिक कोपभाजनमा परेको प्रष्टै देख्न सकिन्छ । एकथरी दलहरु चिनियाँ कम्पनीसँग आयोजना खोसेकोमा विजयोत्सव मनाईरहेका छन र आफ्नो हित चाहने छिमेकीलाई खुसी पारेको दंग छन् । अर्का थरी दलहरु आफ्नो हितैसीसँग आयोजना खोसिएकोमा आक्रोशित छन र आफ्नो सत्ता आउने वित्तिकै पुनः रिझाउने अभियानमा लागेका छन् । राजनीतिक नेतृत्वले आयोजना बनाउन छाडेर छिमेकी रिझाउने प्रतिष्पर्धा सुरुगरेपछि १२०० सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाकै भविष्यलाई अनिश्चित बनाउने देखिन्छ । यस्तो थियो सम्झौताको नालीबेली गत जेठ ९ गते प्रचण्ड नेतृत्वको मन्त्रि परिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । त्यसको भोली पल्ट अर्थात जेठ १० गते तत्कालिन उर्जा मन्त्री जनार्दन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पुर्वाधार शुल्कबाटै १३ अर्ब बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भनेर लगाईको पुर्वाधार कर वापत १३ अर्ब रुपैंयाँ संकलन भएको छ । नेपाल आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतका अनुसार अक्टोबर महिनासम्ममा सो मात्रामा रकम संकलन भएको हो । सरकारले गत आवको बजेट मार्फत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रति लिटर पाँच रुपैंयाँ पुर्वाधार कर असुल्ने कार्यक्रम ल्याएको थियो । धमाधम बाढिँदै मुआब्जा बुढीगण्डकी जलविद्युत आयोजनाका इञ्जिनियर कृष्ण बहादुर कार्कीका अनुसार आयोजना प्रभावितलाई ५ अर्ब रुपैंयाँ मुआब्जा वितरण गरिसकिएको छ । ‘८ हजार रोपनी जमिनका लागि ५ अर्ब रुपैंयाँ मुआब्जा वितरण भैसकेको छ, चालु आर्थिक बर्षको बजेटले ५ अर्ब रुपैंयाँ दिएको छ, सो रकमबाट पनि थप मुआब्जा वितरणको काम धमाधम अघि बढिरहेको छ’, आयोजनाका इञ्जिनियर कार्कीले विकासन्युजसँग भने । आयोजना प्रभावित धादिङ र गोरखा जिल्लाका बासिन्दालाई सो मात्रामा मुआब्जा वितरण गरिएको हो । आयोजनाले जमिनको मुआब्जाका लागि मात्रै ३३ अर्ब लाग्ने अनुमान गरेको छ । मुआब्जा, पुनस्थापना, पुननिर्माण र पुनर्बासका लागि मात्रै ५९ अर्ब रुपैंयाँ लाग्नेछ । २ खर्ब ६० अर्बको आयोजना स्वदेशी पुँजीमै बनाउन सकिने बताइन्छ ।
बमको हल्लापछि सर्वोच्च अदालतको इजलास रोकियो
काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिए । उनले भने, “बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास जारी राखेका छौँ । अहिलेसम्म केही भेटिएको छैन ।” सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाउ दिएका थिए । इजलास शुरु हुन लागेका बेला आएको हल्लासँगै सर्वोच्चबाट हतारहतार न्यायाधीश, अधिवक्ता, कर्मचारी र सेवाग्राही बाहिरिएका थिए । अहिले सेनाको बम डिस्पोजल टोलीसमेत त्यहाँ पुगेको छ । रासस
चाउचाउ बिक्रीबाट मासिक दुई लाख आम्दानी, दैनिक पाँच क्विन्टलसम्म बिक्री हुने
पाल्पा । रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आएका छन्। एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गरेका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका हुन् । समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा उनी चिनिन्छन् । रामपुरको बजार बढ्दै गएपछि अहिले सोचेभन्दा राम्रो व्यापार हुन थालेको उनको भनाइ छ । यहाँ उत्पादित चाउचाउ पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय बजारमा खपत हुँदै आएको छ । उनले व्यवसाय बढाउँदै जाँदा अहिले यस क्षेत्रमा बाहिरबाट चाउचाउ भित्रने क्रममा कमी आएको छ । “दैनिक पाँच क्विन्टलसम्म चाउचाउ बिक्री हुन्छ,” उनले भने । चाउचाउ उद्योगमा अहिले १० जनाले रोजगारीसमेत पाएका छन् । उनी भन्छन्, “विदेशको मरुभूमिमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर आफ्नो पेशा व्यवसायमा निरन्तररुपमा लागे महिनामा लाखौँ रुपैयाँ कमाउन सकिन्छ ।” उनी सामाजिक कार्यमा समेत निकै सक्रिय छन् । शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुर बजारमा आफ्नो उत्पादन पुर्याउन उनलाई हम्मेहम्मे परेको छ । उद्योगी श्रेष्ठले जस्तै विदेश जान लागेका युवाले उद्यम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । रासस
एनबीआई र पञ्जाव नेशनल बैंकबीच तालिम उपलब्ध गराउने सम्झौता
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई) र पञ्जाव नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फोर्मेशन टेक्नोलोजी (पीएनबी-आईआईटी)बीच तालिम उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार, एनबिआईले नेपाली बैकिङ्ग क्षेत्रलाई आवश्यक हुने बैकिङ्ग प्रविधि, साइबर सेक्यूरिटी, डिजिटाइजेशन तथा यस्ता अन्य तालिमहरु पीएनबी-आईआईटीबाट उपलब्ध गराउन सक्ने छ । उक्त तालिमहरुबाट बैंकहरुको सुचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न निकै सहयोग पुग्ने छ । सोमबार सम्पन्न उक्त सम्झौतामा पीएनबी-आईआईटीका निदेशक दिभ्याङ् रस्तोगी र एनबिआईका प्रमुख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् । भारतको लखनऊ शहरमा स्थित यस पीएनबी-आईआईटी ईन्ष्टिच्युट, बैंकिङ्ग सम्बन्धि सुचना तथा प्रविधि अन्तर्गतका विभिन्न तालिमहरु प्रदान गर्ने एक अग्रणी सँस्था हो ।
एक्सेल डेभलपमेन्ट बैंक र सिभिल बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र सिभिल बैंककोे सेयर मूल्य समायोजन भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोज भएको छ । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ रहेको थियो । सो दिन सिभिल बैंकको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २१२ रुपैयाँ रहेको थियो ।
नेपाल र भारतीय लगानीमा लिखु ४ आयोजनाको निर्माण पुुसदेखि सुरु हुँदै, ४ वर्षमा सक्ने लक्ष्य
काठमाडौं । लामो समयदेखि अवरुद्ध ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजनाको निर्माण पुसदेखि सुरु हुने भएको छ । आयोजना निर्माणका लागि सिभिल र हाइड्रोमेकानिकल ठेकेदार छनौट अन्तिम चरणमा पुगेको छ । आउँदो पुसदेखि आयोजनाको काम सुरु हुने गरी कार्ययोजना तयार भएको आयोजना प्रमुख बद्री रिजालले बताए । नेपाल र भारतको संयुक्त लगानीमा लिखु आयोजना बन्न लागेको हो । आयोजनाको अहिले सिभिल र हाइड्रोमेकानिकल निर्माणमा परेको बोलपत्र मूल्याँकनको काम सकिन लागेको र छनौट हुने ठेकेदारसंग सम्झौता गरेर अघि बढाउने उनले जानकारी दिए । आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिन भेन्चर्स प्रालिले जनाएको छ । आयोजनामा नेपालको त्रिवेणी समूह र भारतको भिल्वरा ग्रुपले ग्रिन भेन्चर्समार्फत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजनामा भिल्बराको ८० र त्रिवेणीको २० प्रतिशत स्वामित्व छ । करिव ९ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा नेपाल बैंकको लगानी हुने छ । आयोजनामा ग्रिनभेन्चर्सले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरिसकेको छ । भिल्वराले भारतीय बैंकबाट आयोजना बनाउन कर्जा लिने तयार गरेपनि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) नेपाली मुद्रामा भएपछि नेपाली बैंकबाट कर्जा लिने प्रक्रिया अघि बढाएको हो । प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ग्रिनभेन्चर्सले भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेकोमा बजार बिजुलीको मूल्य, प्रसारणलाइन पुर्वाधारलगायत अन्य विभिन्न कारणले अनिश्चित भएपछि उसले नेपालमै बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पीपीए गरेको हो । प्राधिकरण र ग्रिनभेन्चर्सबीच सन् २०१६ मेसम्मका लागि ५२.४ मेगावाट बिजुली (५.९९ सेन्ट प्रति युनिटमा केही वर्षका लागि (फलव्याक) पीपीए भएको थियो । आयोजनाबाट वि.सं. ०७१ पुस १६ देखि बिजुली उत्पादन गर्ने प्रतिबद्धता प्रवद्र्धक ग्रिनभेन्चर्सले गरे पनि एक वर्षअघि मात्र पुरा समय पीपीए भएको छ । ऊर्जाले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ । यसअघि अयोजना क्यू २८ मा डिजाइन गर्दा आयोजनाको जडित क्षमता बढेर १२० मेगावाट पूयाइएको थियो । अब क्यू ४० मा डिजाइन गर्दा क्षमता घटेर ५२.४ मेगावाटमा सीमित हुनेछ । आयोजना निर्माणका आईडीआई बैंक भारतबाट सहवित्तीयकरणमा कर्जा ल्याउने तयारी गरेको थियो । आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजनास्थलसम्म पुग्न कम्पनीले सडक निर्माणको काम पूरा गरेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।
दुई संस्था प्राप्ति पछि देवः विकास बैंकको १८ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । दुई संस्था प्राप्ति पछि देवः विकास बैंकको १८ लाख ८२ हजार ९२७ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । देवः विकास बैंकले साझा विकास बैंक र यूनियन फाइनान्स प्राप्ति(एक्वाएर) गरेपछि सो मात्राको सेयर मंगलबार(आज) नेप्सेमा सूचिकृत गराएको हो ।