बैंकहरूको निक्षेप भन्दा कर्जा ३३ करोड बढी, निक्षेप १२.७, कर्जा १६.१ प्रतिशत विस्तार
काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म बैंकले निक्षेप संकलन भन्दा बढी कर्जा लगानी गरेका छन् ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्रीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ । निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा लगानी बढेपछि अहिले राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाहेक अधिकाँश वाणिज्य बैंकको कर्जा÷निक्षेप तथा पुँजी (सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको छ । मंसिरसम्म बैंकले १ खर्ब ३८ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी बढाएका छन् । यस्तै निक्षेप परिचालन १ खर्ब ५ अर्ब ९४ करोड रुपैयाँ मात्र गरेका छन् । ५ महिनामा निक्षेप संकलन भन्दा कर्जा लगानी ३३ करोड रुपैयाँ बढी रहेको छ । केही बैंकहरुमा तरलता असहजता देखिए तापनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको राष्ट्र बैंकले जनाएको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने अनुमान केन्द्रीय बैंकको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने सीसीडी अनुपातमा स्पष्ट अडान र खुला बजार कारोवार तथा ब्याजदर करिडोर मार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको भनाई राष्ट्र बैंकको छ । वित्तीय स्थायित्वको अंकुशकोे रुपमा रहेको कर्जा÷निक्षेप तथा पुँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुका साथै कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने छ । राष्ट्र बैंककाअनुसार मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २४ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी २१ खर्ब २४अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यसअवधिमा व्यक्तिगत निक्षेप १३ खर्ब २० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रमा प्रवाह गर्ने कर्जा ७.२, विकास बैंकहरुको १२.२ र वित्त कम्पनीको १.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.० प्रतिशत कर्जा चालू सम्पत्ति धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४८.९ प्रतिशत अर्थात ३१ अर्ब ५८ करोड बढेर ९६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ४.७ र ओभरड्राफ्ट कर्जा ४.३, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.१ प्रतिशतले बढेको छ । पुरनरकर्जा ८ अर्ब ९० करोड उत्पादनशील क्षेत्रमा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउन सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत मंसिरमा साधारण पुनरकर्जा ८ अर्ब ११ करोड ८९ लाख र निर्यात पुनरकर्जा ७९ करोड ३ लाख गरी ८ अर्ब ९० करोड ९२ लाख रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शुन्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ मंसिर मसान्तसम्ममा १ अर्ब ३ करोड ६२ लाख पुनरकर्जा उपयोगमा रहेको छ ।
लगानीकर्तालाई एनआईडीसी डेभलपमेन्ट बैंकले प्रतिसेयर ४४८४ फिर्ता दिने
काठमाडौं । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा चित्त नबुझने लगानीकर्तालाई एनआईडीसी डेभलपमेन्ट बैंकले रकम फिर्ता दिने भएको छ । स्वाप रेसियोमा चित्त नबुझेका लगानीकर्तालाई एनआईडीसीले प्रतिकित्ता ४ हजार ४८४ रुपैयाँ फिर्ता दिने भएका हो । सम्पत्ति तथा जायजेथा मूल्याँकनअनुसार हाल कायम भएको मूल्यमा सो रकम पाउने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकमा गाभिन एनआईडीसीले १ बराबर १ अनुपातमा स्वाप रेसियो कायम गरिएको छ । कतिपय लगानीकर्ताले त्यसमा असन्तुष्ठि जनाएपछि रकम फिर्ता दिने निर्णय गरिएको एनआईडीसीले जनाएको छ । वाणिज्य बैंकसंग गाभिन एनआईडीसीले माघ १९ गते विशेष साधारणसभा बोलाएको छ । सभाले यसअघि वाणिज्य बैंकसंग भएको स्वाप रेसियो र अन्तिम सम्झौता अनुमोदन गर्ने भएको छ । दुबै बैंक एकआपसमा गाभिनका लागि मूल्याँकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गर्ने कार्यसुची रहेको बैंकले जनाएको छ । गत भदौमा दुई बैंक एकआपसमा गाभिने विषयमा सम्झौता भएको थियो । दुबै बैंक गाभिएर माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार सुरु गर्ने भनेपनि ढिलाइ हुन गएको छ । यसअघि नेपाल औद्योगिक विकास निगम रहेकोमा पछि यसलाई एनआईडीसी डेभलपमेन्ट बैंक बनाइएको हो । बाणिज्य बैकले ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भनेपनि हालसम्म प्रक्रिया अघि बढेको छैन् । तत्तकाल वाणिज्य बैंकको आईपीओ निआउने भएको छ । ०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ । दुबै बैंकको गाभिएपछि पूँजी ९ अर्ब रुपैयाँ पुग्ने छ ।
पेट्रोल र डिजेलको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगम बुधबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो । पेट्रोलमा १, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ ।प्रत्येक महिनाको १५ दिनमा मूल्य समायोजन गर्ने नीति अनुसार मूल्य बढेको हो । भारतीय आयल निगम लिमिटेडले नयाँ मूल्य पठाएपछि निगमले पनि बिहीबारदेखि भाउ बढाएको हो । बिहीबारदेखि एक लिटर पेट्रोललाई १०३, डिजेल र मट्टतिेलको भाउ ८१ रुपैयाँ पुगेको छ । यसअघि गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।
उपत्यकामा नयाँ शहरको काम सुरु, डीपीआर बनाउने जिम्मा इआरएमसीलाई
काठमाडौं । काठमाडौ उपत्यका विकास प्राधिकरणले भक्तपुर र ललितपुरको २० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि विदेशी परामर्शदातालाई जिम्मा दिएको छ । प्राधिकरणले इआरएमसी एनइएसटी एडीए जेभी कम्पनीसँग डीपीआर तयारीका लागि बुधबार सम्झौता गरेको छ । नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखालीले अबको एक हप्तापछि कम्पनीले काम अगाडी बढाउने जानकारी दिए । जेभी कम्पनीले आउदो १ वर्षभित्र भक्तपुर र ललितपुरको नयाँ शहरको डीपीआर तयार पार्ने भएको छ । ‘प्रारम्भिक छनौटमा परेका ११ कम्पनीहरुले विस्तृत योजना बुझाएका थिए, त्यसमध्ये उत्कृष्ठ प्राविधिक क्षमता, वित्तीय प्रस्ताव, कामको अनुभव लगायतलाई आधार मानेर इआरएमसीलाई डीपीआर निर्माणको जिम्मेवारी दिएका हौं’, खोखालीले विकासन्युजसँग भने । डिपीआर निर्माणका लागि प्रधिकरणले २ करोड रुपैंयाँ छुट्याएको थियो । नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । नयाँ शहर निर्माणका लागि तोकिएको क्षेत्रमा जमिनको कित्ताकाट र नयाँ भवन निर्माणमा रोक लगाईसकिएको छ । यस्ता छन् नयाँ बन्ने दुई शहरहरु काठमाडौं आग्नेय भक्तपुरमा मात्रै निर्माण हुने यो शहर १० हजार रोपनीमा फैलिएको हुनेछ । यसको पुर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकबाट सुर्यविनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । काठमाडौं नैऋत्य १० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदी छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ ।
किन रोकियो ‘छ लेन’ सडक निर्माण कार्य ?
धनगढी । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ । विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाविना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ जना घर धनीले दिएको मुद्दामा सर्वोच्च अदालतको अन्तरिम आदेश आएपछि सो क्षेत्रको सडक निर्माणको काम रोकिएको मोहनापुल-अत्तरिया छ लेन सडक आयोजनाका प्रमुख मनिषकुमार साहले बताए । सडक ऐन २०३१ ले सडकको चौडाइ (सीमा) ८२ फिट (२५ मिटर) तोकेको भए पनि तत्कालीन धनगढी नगरपालिकाले ७५ फिटमा घरको नक्सा पास गरिदिएकाले अहिले आएर सडक निर्माणमा समस्या भएको साहले बताएका छन् । “अदालतको अन्तिम फैसलापछि काम सञ्चालन हुन्छ”, साहले भने, “अदालतले गर्ने फैसला सबैका लागि मान्य हुन्छ ।” ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको करिब दुई किलोमिटर लामो सडकको भागमा संरचना भत्काउन नपाएर काम रोकिए पनि बाँकी क्षेत्रमा सडक निर्माण कार्य सञ्चालन रहेको छ । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया बजारसम्मको यो १४ किमी लामो सडकमध्ये बजार क्षेत्रको १० किमी लामो भागमा ‘छ लेन’ र ग्रामीण क्षेत्रको चार किमी लामो भागमा ‘चार लेन’ सडक निर्माण गर्ने लक्ष्य रहेको छ । कूल लागत रु एक अर्ब ५० करोडको यो सडक निर्माणका लागि चालु वर्षमा रु ५० करोड ८० लाख बजेट विनियोजन भएको बताइएको छ । छ लेन सडक निर्माणका लागि ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको दुई किमी सडक आसपासका करिब १५० घर संरचना भत्काउनुपर्ने देखिएको छ । धनगढी क्षेत्रमा सडक सञ्जालको विकासका लागि पहिलो पटक ठूलो बजेट रकमसहित छ लेन सडक निर्माण आयोजनाले काम थालेपछि खुशी भएका नगरवासी सडक निर्माणमा भइरहेको बाधा अवरोधले निराश भएका छन् । रासस
सिमेन्ट र रड उद्योगीले अटेर गर्दा विभागले काट्यो २४ घन्टे पुर्जी
काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा सिमेन्ट र रडको भाउ बढेपछि चारैतिरबाट सरकारको आलोचना भएको थियो । त्यसलाई मध्यनजर गर्दै आपूर्ति मन्त्रालयको निर्देशनमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले धादिङको धार्केमा पुस २४ गते सिमेन्ट तथा रड बोकेको २४ ओटा ट्रकलाई नियन्त्रणमा लिई कागजात जफत गरेको थियो । जगदम्बा स्टिल उद्योग, अम्बे स्टिल उद्योग, मारुती सिमेन्ट उद्योग, शिवम् सिमेन्ट, नारायणी, अग्नि लगातका विभिन्न सिमेन्ट तथा रड उद्योगका ती ट्रकहरुबाट विभागले अनुसन्धानको लागि कर भर्पाइ, बिलबिजक चलानी लगायतका आवश्यक कागजात नियन्त्रणमा लिइसकेको छ । कागजात नियन्त्रणमा लिएसँगै अनुसन्धानको लागि सम्बन्धित उद्योगका आधिकारिक प्रतिनिधिलाई विभागमा तत्काल उपस्थित हुन निर्देशन दिइएको थियो । निर्देशनलाई अटेर गरेपछि मंलबार ती सम्पूर्ण २४ ओटै ट्रक सम्बन्धि उद्योगहरुको नाममा २४ घन्टे पुर्जी काटिसकेको शाखा अधिकृत राजेशकाजि श्रेष्ठले बताए । पुर्जी पत्र प्राप्त गरेको २४ घन्टाभित्र अनुसन्धानको लागि ती उद्योगहरुको प्रतिनिधिहरु विभागमा उपस्थित हुनु पर्ने भनिएको छ । यदि उपस्थित नभएको अवस्थामा कार्बाही प्रक्रियाअघि बढाउने जनाइएको छ । कम्तिमा पनि माघ महिनाभित्र सम्बन्धित उद्योगीहरु अनुसन्धानको दायरामा आउने र अनुसन्धान अघि बढ्नेमा उनी विस्वस्त छन् । ‘छानविनपछि कसरी अघि बढ्ने निक्र्यौल हुन्छ,’ उनले भने ‘पूर्जी काटेयता केही उद्योगहरु विभागमा उपस्थिति हुन थालेका छन् ।’ उनको अनुसन्धानको क्रममा ठगी अथवा कालोबजारी गरेको भेटएमा सोही अनुसार कार्वाहीको प्रक्रिया अघि बढ्नेछ । विभागको अनुसार पछिल्लो समय प्रतिबोरा सिमेन्टमा २ सय र रडमा किलोको १० रुपैयासम्म बढेको उजुरी आएको छ । सिमेन्ट उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थको मूल्य बढेकोले मूल्य बढाउन बाध्य भएको बताएका छन् भने, निर्माण व्यवसायीहरुले पुनर्निर्माणको मौका छोपि उद्योगीहरुले सिमेन्ट र रडको भाउ बढाइ कालोबजारी गरेको आरोप लगाएको छ ।
सिद्धार्थ बैंकले शरु गर्यो भाइबर बैंकिङ्ग सेवा, खाता नभएकाले पनि उपयोग गर्न पाउने
काठमाडौं । सिद्धार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित गरि भाइबर बैंकिङ्ग सेवा शुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन् । भाइबर बैंकिङ्ग सेवा लिन ग्राहकको मोबाइल नम्बर बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङ्गमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्ने, कर्जा सुविधा, मुद्दती खातालगायत बैंकका अन्य सेवाबारे जानकारी पाउन सक्नेछन् । यो सेवा बैंकका ग्राहकले मात्र नभई यस बैंकमा खाता नभएका सर्वसाधारणले पनि उपयोग गर्न सक्नेछन् । खाता नभएको व्यक्तिले यस सेवामार्फत बैंकका शाखा, एटीएम तथा अन्य सेवा सम्बन्धि जानकारी लिन सक्ने बैंकले जनाएको छ । बैंकले हाल देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८२ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड र कर्जा लगानी ७६ अर्ब ९५ करोड परिचालन गरेको छ ।
सनराइज बैंकको २०औं शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो २०औं शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त स्थानमा नयाँ शाखा खोलेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोदावरी नगरपालिकाका अध्यक्ष आत्माराम थापाले एक समारोहका बीच गरेका हुन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । साथै, बैंकको भैँसीपाटी शाखाका प्रवन्धक सिम्खडाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उदेश्य प्रष्ट पारेका छन् ।उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस शाखा सहित बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २० पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।