विकासन्युज

शिवम सिमेन्टले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न बोलायो विशेष साधारणसभा

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि शिवमले माघ २१ विशेष साधारणसभा बोलाएको छ । गत पुस २५ गते बसेको दोस्रो वार्षिक साधारणसभाले निर्णय नगरेपछि आईपीओ निष्कासन विशेष साधारणभा बोलाएको हो । शिवमको आईपीओ प्रतिकित्ता १ सय रुपैयाँ नपाइने भएको छ । उद्योगको हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र यसका लागि प्रवन्धपत्र संशोधन हुने भएको छ । कुल ४ करोड ४० लाख कित्ता मध्ये ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानियबासिन्दाका लागि समेत निष्कासन गर्ने भएको हो । कम्पनीले कुल जारी पुँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हो । अन्य सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् । गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो । उसले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने पाउने छ । यस्तै गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरेको छ । शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो ।चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।

एनआईडीसीलाई गाभ्न राष्ट्रिय वाणिज्य बैंकले बोलायो विशेष साधारणसभा, स्वाप रेसियो १ः१

काठमाडौं । एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभ्न राष्ट्रिय वाणिज्य बैंकले माघ २० गते विशेष साधारणसभा बोलाएको छ । मर्जरका लागि दुबै बैंकले सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ अनुपात हुने सहमति गरेका छन् । स्वाप रेसियो सभाले पारित गर्ने छ । दुबै बैंक गाभिने प्रयोजनका लागि खुदसम्पत्ति मूल्याँकनका लागि मूल्याँकनकर्ताको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने कार्यसुचि रहेको छ । एनआईडीसीले पनि राष्ट्रिय वाणिज्यसंग गाभिन विशेष साधारणसभा बोलाइसकेको छ । दुबैं बैंकले माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने गत भदौ १२ गते सम्झौता भएको थियो । गाभ्ने प्रक्रियाका लागि विशेष साधारणसभा बोलाएकाले ढिलाइ हुन गएको छ । बाणिज्य बैकले ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भनेपनि हालसम्म प्रक्रिया अघि बढेको छैन् । तत्तकाल वाणिज्य बैंकको आईपीओ निआउने भएको छ । ०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ । दुबै बैंकको गाभिएपछि पूँजी ९ अर्ब रुपैयाँ पुग्ने छ ।

पञ्चकन्यामाई हाईड्रोपावरको ११ करोडको आईपीओ आजदेखि निष्कासन

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आज शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९गतेसम्म हुनेछ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ । स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । पञ्चकन्यामाईले वार्षिक २ सय प्रतिशतले खुदनाफा बढाउन भएको छ । कम्पनीले आउदो ४ वर्षमा खुदनाफा गत आर्थिक वर्ष ०७३/०७४ को तुलनामा ७९७ प्रतिशत बढाएर बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । एक वर्षदेखि बिजुली उत्पादन थालेका कम्पनीले आयोजना बनाउदा लिएको कर्जा विस्तारै भुक्तानी गर्दै आउदो ४ वर्षमा नाफा बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने भएको हो । गत आवमा कम्पनीको नाफा १ करोड ६७ लाख रुपैयाँ थियो । चालु आवमा नाफा ७ करोड ६२ लाख, आगामी वर्ष ०७५/०७६ मा १० करोड, ०७६/०७७ मा १२ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ । नाफा बढ्दै गएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढ्ने भएको छ । आगामी आव ०७७/०७८ मा ईपीएस बढेर १३ रुपैयाँ ६३ पैसा पुग्ने छ । गत आवमा ईपीएस १.९१ प्रतिशत थियो । चालु आवमा ६.९३, आगामी आवमा ९.१६, आव ०७६/०७७ मा ११.३२ रुपैयाँ पुग्ने छ ।

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज १० अर्ब बजारमा पठाउदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर भएपछि नेपाल राष्ट्र बैंकले आज शुक्रबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएकाे छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप तरलता प्रवाह गर्न लागेको हो ।   पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतको हारहारीमा पुगेको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । केही बैंकलाई तरलता व्यवस्थापन गर्न समस्या आएको राष्ट्र बैंकले जनाएको छ । अधिकाँश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले सीसीडी रेसियो ७९ प्रतिशत पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइसकेका छन् । केही बैंकहरुले कर्जा प्रवाह बन्द गरेको जानकारी दिएका छन् । सानिमा बैंकका सीईओ भुवन दाहाल सीसीडी रेसियो ७८ प्रतिशत पुगेको बताउछन् । सानिमाले अब थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाई छ । बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “यदी तरलताको अवस्था कसिलो भएको भए अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघने थियो” उनले भने “अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् ।” रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन लागेको उनले बताए । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हारहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । त्यसमध्ये राष्ट्र बैंकले बजारबाट पुनः २ अर्ब रुपैयाँ प्रशोचन गरेको थियो ।

एनआरएनएको सहयोगमा ६ महिनाभित्र सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार गरिने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । बिहीबार राजधानीमा एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न सम्झौता भएको हो । सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरेका छन् । एनआरएनले सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना आगामी ६ महिनाभित्र तयार गरेर कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै सिन्धुलीगढीको गुरुयोजना निर्माण गर्न समृद्ध सिन्धुली अभियानले सक्रिय रुपमा सहयोग गर्ने बताएको छ । गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत राख्न प्रयास गर्ने, गुरुयोजना बनाउन लाग्ने खर्चको व्यवस्थापन एनआरएनएले गर्ने, बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाउने सम्झौतामा उल्लेख छ । सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले बिरता देखाएर अंग्रेज सेनालाई परास्त गरेको स्थल हो ।  

टाटा मोटर्सले ल्यायो फेसबुकबाटै ५ तोला सुन र स्मार्ट फोन जित्ने मौका

काठमाडौं । टाटा मोटर्सले ग्राहकहरुका लागि फेसबुक अभियान ल्याएको छ । जस अन्तर्गत ५ जना भाग्यशाली विजेताले टाटा नेक्सनमा एक/एक तोला सुन जित्ने अवसर पाउनेछन् । यस अभियानमा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाईक गर्नुपर्ने छ । त्यसैगरि, टाटा नेक्सनले ल्याएको अर्को उत्साहजनक अभियान अन्तर्गत फेसबुक प्रयोगकर्ताहरुले नयाँ स्मार्टफोन जित्न सक्नेछन् । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमाटाटा नेक्सन फ्रेम राखेर अपडेट गर्नुपर्नेछ । अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुले स्मार्टफोन जित्न सक्नेछन् । लक्की ड्र मार्फत पाँच जनाले एक-एक तोला सुन र तीन जनाले एक-एक ओटा स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो ब्रान्डिङको लागी आक्रामक योजनाहरु ल्याएको हो । यो योजना फागुन १६ गते (अर्थात फेब्रवरी २०१८)सम्म रहनेछ ।

कृषि विकास बैंकको आइतबारसम्म एटीएम र मोबाइल बैंकिङ बन्द

काठमाडौं । कृषि विकास बैंकले आउदो आइतबारसम्म एटीएम र मोबाइल बैंकिङ सेवा बन्द गरेको छ । बैंकले नयाँ प्रविधि जडान गर्न भन्दै बिहीबारदेखि बैकिङ सेवा बन्द गरेको हो । बैंकले सीबीएस—टेमेनोस टी ट्न्टी भर्सन अपग्रेड गर्न मोबाइल बैंकिङ सेवा बन्द गरेको जानकारी दिएको छ । एटीएम र मोबाइल बैंकिङ सेवा बाहेक अन्य सेवा यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । भर्सन अपग्रेडपछि उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।यस्तै सीबीएस जडान भएका कार्यलयमा शुक्रबार १ दिन बन्द हुने बैंकले जानकारी दिएको छ ।

रसुवागढी र सान्जेनको आईपीओ १ महिना पछि धकेलियो, फागुनको पहिलो साता २ अर्ब ५१ करोडको आउने

काठमाडौं । दुई जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अझै १ महिना ढिला हुने भएको छ । कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ निष्कासन फागुनको पहिलो साता मात्र हुने भएको हो । यसअघि माघको पहिलो साताभित्र आईपीओ निष्कासन गर्ने तयारी दुबै कम्पनीको थियो । प्रक्रियागत ढिलाइले आईपीओ निष्कासन १ महिना पर सरेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । एकैदिन आब्हानपत्र सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको उनले सुनाए । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा रसुवागढीको सिद्धार्थ क्यापिटल लिमिटेड र सान्जेनको नागरिक लगानी कोष रहेका छन् । दुबै कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानिय निकायका कर्मचारीलाई २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । जसअनुसार रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । यी दुबै जलविद्युत कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र तेस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेका छन् । यस्तै सिद्धार्थ क्यापिटल, कर्मचारी संचय कोष र नागरिक लगानी कोषले आईपीओ भर्न हितग्राही खाता (डीम्याट एकाउन्ट) र बैंकमा खाता खोल्न अनुरोध गरेका छन् । धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो । सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ ।