विकासन्युज

अग्नि मोटो इन्कद्धारा हेटौडामा मोजो बाइकको बिक्री वितरण शुरु

हेटौडा । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले  मोजो बाइक हालै हेटौडामा आफ्नो आधिकारीक विक्रेता भिजन मोट्र्स माफर्त बिक्री शुरु गरेको छ । महिन्द्राको मोजोले अब हेटौडामा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास गरेको छ । कम्पनीका अनुसार महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सीसी इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिनजसले २७ विएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रदान गर्छ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ ।

विकासको युग आरम्भ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन् । ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत सुखी नेपाल र समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको बताए । दशकौँदेखिको राज्यका केन्द्रीकृत संरचनालाई संघीयताको ढाँचामा ७ प्रदेश, ७५३ स्थानीय तहसहितको शासकीय पद्धतिमा ढाल्ने कार्य अगाडि बढेको चर्चा गर्दै उनले तीन वटै तहका सरकारले आ–आफ्ना अधिकारका सीमा र सम्बन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको शुरुवात् भएको बताए । समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सशासन, स्थिरता, विकास र समृद्धि अबको कार्यदिशा रहने बताए ।रासस  

जगदम्बा सिमेन्टको रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाभन्दा बढीको सहभागिता

काठमाडौं । जगदम्बा सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । सिमेन्टले “जगदम्बा योगदान” भन्ने कार्यक्रम अन्तर्गत स्वस्थ्य क्षेत्रमा आफ्नो नियमित कार्यक्रम अनुरुप स्वावलम्बी परिवार समाजको अग्रसरतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको उद्घाटन जगदम्बा सिमेन्ट परिवारका निर्देशक दुर्गाप्रसाद न्यौपानेले र स्वाबलम्बी परिवार समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा ६० जनाभन्दा बढि व्यक्तिहरुको सहभागीता रहेको थियो भने ४२ व्यक्तिहरुले रक्तदान गरेका थिए ।

सिटिजन्स बैंक र यूकेको सुपरजोनिक बिच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुपरजोनिक लिमिटेड(यूके) बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पश्चात यूनाईटेड किङडम लगायत युरोपियन मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीतथा सुपरजोनिक लिमिटेड(यूके)का निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरेका छन् । यस सम्झौता बमोजिम अब यूनाईटेड किङडम लगायत युरोपियन मुलुकबाट सुपरजोनिक मार्फत नेपालमा पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको सम्पूर्ण शाखा र ४,५०० भन्दा बढि सहायक प्रतिनिधिहरुबाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने छ । बैंकले यस अघि कुबेतको डलरको एक्सचेन्ज लिमिटड, यू.के कोक्यासको फाईनान्सीयल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरियो, अलअन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसँग सम्झौता गरि ती विप्रेषण कम्पनीहरुबाट बैंकिङ्ग प्रणाली मार्फत नेपाल आएको विप्रेषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ । यसको अतिरिक्त स्वदेशको विभिन्न विपे्रषण कम्पनी संग सहकार्य गरि बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि.एम.ई. रेमिट, पृथ्वी एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, आईपे रिलायबल, बुम रेमिट, ओभरसिज रेमिट र सिजिमनि बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । साथै, बैंकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीसँग सम्झौता गरि विप्रेषण सेवालाई विस्तार गर्दै लैजाने बताएको छ ।

मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्ने महासंघको अपेक्षा

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठन भएसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरेको छ । मुलुकभर तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता सङ्गठन महासंघले मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहन घोषणापत्रमार्फत सबै राजनैतिक दलहरुले प्रतिवद्धता जाहेर गरेको भन्दै नयाँ सरकार र प्रमुख राजनैतिक दलहरू मुलुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराएको छ । नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसातगरी आर्थिक समृद्धिको एजेण्डाहरुलाई प्राथमिकतामा राख्नुपर्ने महासंघको जोड छ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा लामो समयको अन्तरालपछि मुलुकमा वामपन्थी स्थायी सरकार गठन भएको भन्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुककोे आर्थिक समृद्धि, आत्मनिर्भरता तथा रोजगारी सिर्जना आजको आवश्यकता रहेको बताए । उनकाअनुसार रोजगारीको प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले स्थिर सरकारले त्यस्ता उद्योगहरुको विकास र उद्योगहरुबाट हुने उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गर्नुपर्दछ । ‘स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्ने हाम्रो अपेक्षा छ,’ उनले भने । नयाँ सरकारले मुलुकमा दुरदर्शीता, अग्रगामी सोच र सबल नेतृत्व प्रदान गर्ने अपेक्षा महासंघकाे छ । जसबाट लघु, घरेलु तथा साना उद्योग क्षेत्रको विकास र प्रवद्र्धनमा फड्को मार्ने विश्वास गरिएको छ । प्रदेश सरकार तथा स्थानीय सरकारले समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्वद्र्धन र संरक्षण गर्दै स्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयाेग पुर्याउन पर्ने महासंघको जोड छ ।

एनआईसी एशिया बैंकको शाखा रुपन्देहीको खैरेनीमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा विस्तार भएको छ । बैंकले आइतबार एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीद्धारा उक्त शाखाको उद्घाटन भएको थियो । खैरेनी शाखाको उद्घाटनसँगै हाल यस बैंकले १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।

बाजुरामा भोकमरीको संकेत, २५ हजार क्विन्टल खाद्यान्न माग

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रमा भोकमरी बढ्न सक्ने भन्दै खाद्यान्नको माग गरिएको छ । स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटा लगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरेको हो । खडेरीले बढी प्रभावित बनेका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका वासिन्दाले खाद्यान्न माग गरेको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले बताए । ४ स्थानीय तहमा सिँचाइ नहुने, हिउँदे बाली नउम्रने र पानीका मूल सुकेर गएका कारण वर्षेनी ५० देखि ६० प्रतिशत उत्पादन घट्दै गएकाले चरम खाद्यान्न अभाव हुनाका साथै भोकमरी हुने सम्भावना देखिएको हो । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकबाट आपूर्ति मन्त्रालयमा पत्र पठाइसकेको जिल्ला दैवी प्रकोप समितिले जनाएको छ । खडेरी प्रभावित क्षेत्रका लागि कबाडी खाद्य डिपो, कोल्टी खाद्य संस्था र मार्तडी खाद्य संंस्थानमार्फत खाद्य ढुवानीका लागि आवश्यक व्यवस्था गर्ने निर्णय गरिएको प्रजिअ क्षेत्रीले बताए । रासस

अनलाइन सेयर कारोबार परीक्षण जेठमा, साउनदेखि पूर्ण कार्यान्वयन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आउँदो जेठदेखि परीक्षणको रुपमा सेयर कारोबार अनलाईनमार्फत गर्न भएको छ । नेप्सेले जेठभित्र परीक्षणको रुपमा सेयरको कारोबार अनलाईनमार्फत सुरु गर्न लागेको हो । जेठभित्र परीक्षणको रुपमा अनलाईन काराबार सुरु गरेर साउनदेखि पुर्ण रुपमा लागु गर्ने तयारी भएको नेप्से स्रोतले बतायो । स्रोतकाअनुसार हाल सफटवयेर निर्माणका लागि वाइको आइटी कम्पनीले काम गरिरहेको छ । यस अघि नेप्सेले कात्तिक २१ देखि नै सेयर कारोबार अनलाइनबाट गर्ने भनेको थियो । तर सफ्टवेयर निर्माणको काम नसकिएको भन्दै उसले जेठको नयाँ भाका अघि सारेको हो । अनलाईनमार्फत सेयर कारोबार गर्नका लागि आवश्यक विभिन्न १६ वटा मोड्युलमध्ये वाइकोले १० वटा तयार पारिसकेको छ । बाँकी ६ वटा मोड्युलको तयार पारेर फागुन २८ मा उसले नयाँ प्रविधिको विकासमा भएको प्रगतिको बारेमा जानकारी दिने छ । फागुनभित्र वाइकोले अनलाइन कारोबारको सफ्टवेयरको काम सम्पन्न गर्ने नेप्से स्रोतले बतायो । जेठदेखि आँशिक र साउनदेखि पुर्ण रुपमा सेयर कारोबार अनलाइनमार्फत हुने स्रोतको भनाई छ । अनलाइनमार्फत हुने भएपछि लगानीकर्ता सेयर किन्न र बेच्नका लागि ब्रोकर कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । हाल सेमी अनलाइन ट्रेडिङ भइरहेकोमा यसलाई अझ विकसित गरी पुरै कारोबार अनलाइनमार्फत हुनेछ । अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीमा नगइ घर वा कार्यलयबाट आफनो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद बिक्रीको अर्डर गर्ने सक्ने छन् । अनलाइन कारोबार गर्नुअघि लगानीकर्ता र ब्रोकर कम्पनीबीच सम्झौता हुने छ । जसअनुसार बैंक खाता, हितग्राही (डीम्याट) खाता, दैनिक सेयर खरिद बिक्री कारोबार रकम र संख्या सेयर कारोबार गर्ने डिभाइसलगायतका विषयमा पहिला सम्झौता भएपछि मात्र सेयरको अनलाइन कारोबार गर्न पाइने छ ।