टीकापुर घटनाका अभियुक्त चौधरी अदालतमा उपस्थित
धनगढी । टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ ।-रासस
शाइन रेसुङ्गाको थप ४ शाखा कार्यालय सञ्चालनमा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले नवौं बर्ष पुरा गरी दशौं बर्षमा प्रवेश गरेको अवसरमा थप ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले शुक्रबारदेखि रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको बनकट्टी, मणिग्राम र बुटवल उपमहानगरपालिकाको बेलवास तथा सैनामैना नगरपालिकाको मुर्गियामा गरी उक्त ४ शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । बनकट्टी र मणिग्राम शाखा कार्यालयको नेपाल राष्ट्र बैक, सिद्धार्थनगर कार्यालयका निर्देशक अशोककुमार पौडेल, बेलवास शाखा कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदी र मुर्गिया शाखा कार्यालयको सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकले २१ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो । साथै, बैंकले १६ वटा आमा समुहसंग सीपमुलक तथा व्यवसायीक तालिम प्रदान गरि उद्यमी बनाउने सम्बन्धी समझदारीपत्र आदान प्रदान गरेको थियो । उक्त अवसरमा स्थानिय सामुदायीक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि ५ विद्यालयहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरी २१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो । साथै, ट्राफिक जनचेतना तथा दुर्घटना न्यूनीकरण र अनुगमनका लागी पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयलाई ४ थान साइकल, रोड डिभाइडर र ट्राफिक जनचेतनामूलक बोर्डहरु प्रदान गरेको थियो । बनकट्टी स्थित टिकुलीगढ स्वास्थ्य चौकीलाई बेड र बिश्रामका लागि वेटिगं चेयर प्रदान गरेको थियो ।
होन्डाले ल्यायो नयाँ डब्लुआर – भी कार, मूल्य ४१ लाख
काठमाडौं । नेपालमा विभिन्न मोडेलका गाडीहरु बेच्दै आएको स्याकर ट्रेडिङ कम्पनीले विनसम रुनाबोट भेकल्स (डब्लु आर भी) नामकाे नयाँ मोडेलको गाडी नेपाली बजारमा ल्याएको छ । नयाँ सार्वजनिक गरिएको गाडीमा २२५५ एमएमकोे चौडाई ३९९९ एमएम लम्बाईको टायर प्रयोग गरिएको छ । साथै गाडीको बडी जमिन सतहबाट १८८ एमएम माथी रहेको छ । गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम प्रयोग गरिएको छ जसले तीब्र गतिमा पनि गाडीलाई सजिलै नियान्त्रणमा लिन सकिन्छ । गाडीमा आकर्षक देखिने सनरुफ र रेयर क्यामेरा प्रयोग गरीएको छ । ग्राहकले डिजल वा पेट्रोलबाट चल्ने गाडी छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । जुनसुकै होन्डाको स्वरुमबाट सो गाडीको बुकिङ गर्न सकिनेछ । कम्पनीले गाडीको बजार मूल्य ४१ लाख २५ हजार तोकेको छ साथै गाडीलाई फाइनान्सको सुविधाबाट पनि निकाल्न सकिनेछ ।
नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने भएको छ । सेयरधनीलाई ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर र ८८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । नियामक बीमा समितिबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।
झापा, दमकको औद्योगिक क्षेत्र स्थापना कार्य सुरु, मुआब्जा दावी गर्न जग्गाधनिलाई अनुरोध
काठमाडौं । प्रदेश नम्बर १ को झापा, दमकमा स्थापना हुने औद्योगिक क्षेत्रको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले जग्गा प्राप्ती सम्बन्धी सूचना निकाल्दै औद्योगिक क्षेत्रमा पर्ने जग्गाधनिहरुलाई मुआब्जा दावी गर्न अनुराेध गरेकाे हाे । उक्त औद्यागिक क्षेत्रभित्रको सिजुवा, दमक, राजघाट र मधुमल्ला हाल कमल गाउपालिका र दमक नगरपालिकाभित्र पर्ने ४३० जग्गाधनिहरुकाे जग्गा स्थानिय रुपले प्राप्त गर्नु पर्ने भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ । त्यसैले सम्बन्धीत जग्गाधनि, मोही लगायत व्यक्ति तथा कम्पनीहरुले मुआब्जा दावी गर्न आआफ्नो हकदैया वा भोगचलन सम्बन्धी सवुत प्रमाण सहित ३५ दिनभित्र रित पुर्वक निवेदन दमक नगरपालिका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दमक औद्योगिक क्षेत्रको जग्गा प्राप्ती सम्बन्धिक सम्पर्क कार्यालयमा सम्पर्क गर्न जानकारी दिएकाे छ । सरकारले संघीय संरचाना अनुसार सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना आनुसार धमाधम जग्गाको व्यवस्थापन अघि बढिरहेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश नं १ मा झापा दमकमा, प्रदेश नं २ मा सर्लाहीको मुर्तीया, ३ मा मकवानपुरस्थित हेटौंडाको मयुरधाम र चितवनको शक्तिखोर, प्रदेश नं ४ मा गोरखाको पालुङटारमा औद्योगीक क्षेत्र बनाउने तयारी गरिरहेको छ । त्यस्तै प्रदेश नं ५ मा रुपन्देही र दाङको लक्ष्मीपुर, प्रदेश नं ६ मा सुर्खेतको साताखानी र प्रदेश नं ७ मा कैलालीको लम्की , कन्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने मन्त्रालयको भनाइ छ ।
सेयर मार्केट कम्प्लेक्समा रहेको सीडीएसको सेयर डाटा सुरक्षित
काठमाडौं । राजधानीको पुतलिसडकस्थित सेयर मार्केट कम्प्लेक्समा रहेको सीडीएस क्लियरिङ हाउस लिमिटेडको सेयर डाटा सुरक्षित रहेको छ । आगलागीबाट सीडीएसको कार्यलयमा कुनै क्षति नभएको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए । भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
ईश्वर पोखरेल अर्थमन्त्री बन्ने ९० प्रतिशत पक्का
काठमाडौं । अन्ततः एमाले महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्ने सम्भावना बढेको छ । पोखरेल र प्रदिप ज्ञवालीबिचको भद्र सहमतिमै ओलीले पोखरेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिन लागेको श्रोतले बतायो । ‘महासचिव अर्थमन्त्री बन्ने ९० प्रतिशत पक्का भएको छ, १० प्रतिशत दाया बायाले भयो भने प्रदिप ज्ञवाली अर्थमन्त्री बन्नु हुनेछ’, एमाले श्रोतले भन्यो । श्रोतका अनुसार उनले अर्थमन्त्रालय सञ्चालनका लागि उपयुक्त टिम बनाउनेबारेमा पनि केहि गृहकार्य गरिसकेका छन् । ‘महासचिवको तयारी हेर्दा उहाँले अर्थमन्त्रालयको जिम्मेवारी लिँदै हुनुहुन्छ, त्यसका लागि टिम बनाउने काम पनि गरिसक्नुभएको छ’, श्रोतले भन्यो । सुरेन्द्र पाण्डे, बिष्णु पौडेललाई पछि पार्दै पोखरेल अर्थमन्त्री बन्न लागेका हुन् । खर्चिलो भनिएको संघिय व्यवस्थापमा श्रोत साधनको उपयुक्त बाडफाँट र ओलीले अघि सारेका महत्वकांक्षी विकासे योजनाहरुको कार्यान्वयनका लागि श्रोत जुटाउने चुनौती पनि रहनेछ । तीन तहका सरकारहरुलाई वित्तिय अनुशासनको कडिमा राख्नु पनि नयाँ अर्थमन्त्रीका लागि चुनौती नै हुनेछ ।
सस्तोमा किन्न खोज्दा किसानले खाद्य संस्थानलाई दिएनन् धान, दुर्गम जिल्लामा कसरी पुग्ला चामल ?
काठमाडौं । सस्तो मूल्यमा किन्न खोजेपछि नेपाल खाद्य संस्थानले किसानबाट धान पाउन छाडेको छ । चालु आर्थिक बर्षमा २ लाख ७६ हजार क्वीटल धान खरिद गर्ने लक्ष्य राखेको संस्थानले अहिलेसम्म ९४ हजार ८४४ क्वीटल धान मात्रै खरिद गरेको छ । धान खरिद गर्ने समय घर्किनै लाग्दा समेत संस्थानले लक्ष्यको आधाभन्दा कम मात्रै धान खरिद गरेको हो । किसानसँग सिजनमा धान खरिद गर्ने र आवश्यकता अनुसार विभिन्न दुर्गम जिल्लाहरुमा बिक्री वितरण गर्ने जिम्मेवारी पाएको सरकारी स्वामित्वको खाद्य संस्थानलाई किसानले धान बेच्न किन नबेचेको ? भन्ने प्रश्न खडा भएको छ । तर, खाद्य संस्थानलाई किसानले नै नपत्याएको तथ्य उजार भएको छ । किसानलाई बजार मूल्य भन्दा प्रतिकिलो ४ रुपैंयाँ कम मूल्यमा धान बेच्न प्रस्ताव गरेपछि संस्थानलाई धान बेच्न किसान तयार नभएका हुन् । त्यस्तै विगतमा प्रशस्त मात्रामा अनौपचारिक बाटो हुदै भारतबाट भित्रिने गरेको धान आउन छोडेपछि संस्थानले धान खरिद गर्न नसकेको हो । यसको प्रत्यक्ष असर कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुर्याउने खाद्यान्न ढुवानीमा पर्ने देखिएको छ । त्यसलाई सम्बोधन गर्न संस्थानले चामल किन्ने लगायतको तयारी गरिहेको जनाएको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाले चालु आर्थिक वर्ष ६४ करोड रुपैयाँ बजेट विनियोजन गरी २ लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको भएपनि हालसम्म ९४ हजार ८४४ क्वीटल मात्र खरिद भएको बताए । उनले भने, ‘अबको केही हप्तासम्ममा करिब १ लाख २५ हजार क्वीटल धान खरिद हुने अपेक्षा गरेका छौं ।’ सापकोटकाअनुसार बजारमा अस्वाभाविक रुपमा धानको मूल्य बढेको कारणले संस्थानले निर्धारण मूल्यमा धान खरिद गर्न नसकेको हो । ‘बजारमा संस्थाकोेभन्दा प्रतिकिलो ३÷४ रुपैयाँ बढी धानको मूल्य छ । त्यसलाई पच्छ्याउन सकिएको छैन,’ उनले थपे ‘त्यस्तै विगत बर्षहरुमा अनौपचारिक रुपमा निजी क्षेत्रले भारतबाट धान आयात गर्दै आएको थियो । अहिले त्यस्ता धान आउन सकेन । ’ भारतमा ‘जीएसटी’ प्रणाली लागु भएसँगै अनौपचारिक रुपमा भित्रिने धान मुलुकमा आउन नसेको हो । विभिन्न जिल्लामा संस्थानले धानको निर्धारित मूल्य पुनरावलोकन गरे पनि धानको खरिदमा सुधार आउन सकेको छैन । केही महिना अघिदेखि सुरु भएको धानको खरिदक्रममा संस्थानले निर्धारण गरेको मूल्यमा पुनरावलोकन गर्दै आएको छ । संस्थानका अनुसार पछिल्लो समय अञ्चल कार्यालय लहानबाट प्रतिक्वीटल २ हजार ३७५ मा खरिद गर्ने भनिएको धानको मूल्य बढाएर २ हजार ५१५ रुपैयाँ पुयाइएको छ । त्यस्तै जनकपुरमा २ हजार ४३० रुपैयाँमा खरिद गर्ने भनिएको धानको मूल्य बढाएर प्रतिक्वीटल २ हजार ६५० रुपैयाँ निर्धारण गरिएको छ । यो वर्ष संस्थानले आफ्नो विभिन्न शाखा, अञ्चल लगायतका कार्यालयहरुबाट एक हजारदेखि ५० हजार क्वीटलसम्म धान खरिद गर्न कोटा निर्धारण गरेको छ । जसमा सबैभन्दा कम संस्थनको शाखा कार्यालय जुम्लाको मार्सी धान १ क्वीटल रहेको छ । सबैभन्दा बढी अञ्चल कार्यालय लहानबाट ५० हजार क्वीटल जिरा मसिनो र ३० हजार क्वीटल सोना मंसुली चामल खरिद गर्ने कार्याक्रम रहेको छ । हालसम्म सबैभन्दा बढी अञ्चल कार्यालय धनगढीबाट ४४ हजार ५१७ क्वीटल र सबैभन्दा कम संस्थाको शाखा कार्यालय महेन्द्रनगरबाट १ हजार १८८ क्वीटल मात्र धान खरिद भएको संस्थानको प्रवक्ता सापकोटाले जानकारी दिए । संस्थानले गएको आर्थिक वर्ष समेत १ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरी ४ लाख क्वीटल धान गरिद गर्ने लक्ष्य राखेकोमा २ लाख १८ हजार क्वीटल मात्र धान खरिद गर्न सकेको थियो ।