विकासन्युज

विपद्पछिको पुनःनिर्माणका लागि १०० अर्ब बजेट आवश्यकः मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछिको पुन:निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब एक सय अर्ब रुपैयाँ बजेट आवश्यक रहेको बताएका छन्।  सोमवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले हालको विपद् क्षति र भविष्यको पूर्वतयारीसहितको योजनाका लागि सो मात्रामा रकम आवश्यक पर्ने बताएका हुन् ।  मन्त्री लम्सालकाअनुसार विपद्पछि क्षतिग्रस्त संरचनाहरूको तत्काल मर्मतसम्भार र कनेक्टिभिटी पुनःस्थापनाका लागि सरकारले ‘इमर्जेन्सी टेन्डर’ प्रक्रियामार्फत काम अघि बढाइसकेको छ ।  जटिल भौगोलिक अवस्था रहेको कृष्णभीरलगायतका स्थानमा भू–प्राविधिक विज्ञहरूको सहयोग र सडक विभागको तिब्र सक्रियताले कामले गति लिएको उनले जानकारी दिए ।  विपद् प्राधिकरणले हालै ९० अर्ब रुपैयाँको प्रारम्भिक माग प्रस्तुत गरेको छ । यसमा क्षतिग्रस्त सडक र पुलहरूको पुनर्निर्माणका साथै दुईवटा वैकल्पिक मार्गहरूको निर्माण र भविष्यमा हुने जोखिम न्यूनीकरणका कामहरू समावेश छन् ।  मन्त्री लम्सालले खानेपानी तथा अन्य पूर्वाधारको लागत थपिँदा कुल आवश्यकता एक सय अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको बताए ।  उनले भने, ‘पुनर्निर्माणको कामलाई चरणबद्ध रूपमा अघि बढाइएको छ । पुनःनिर्माणका लागि विपद् प्राधिकरणले करिब ९० अर्ब रुपैयाँको आवश्यकता प्रस्तुत गरेको छ ।  भवन, खानेपानीलगायतका थप क्षति समेट्दा कुल आवश्यकता करिब १०० अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।  आर्थिक स्रोत व्यवस्थापनका सम्बन्धमा मन्त्री लम्सालले अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र बजेटको अभावमा काम नरोकिने स्पष्ट पारे । खानेपानीको सन्दर्भमा उनले तत्कालका लागि अस्थायी व्यवस्था गरिएको भए पनि दुई महिनापछि हुने सुक्खायामलाई मध्यनजर गर्दै खोलाको पानी शुद्धीकरण गरी वितरण गर्ने योजना रहेको जानकारी दिए ।  सरकारले ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा टेण्डर आह्वान गर्दै पुनःनिर्माणका कामहरूलाई ‘फास्ट ट्र्याक’मा अगाडि बढाउने प्रतिवद्धता जनाएको छ । 

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

काठमाडौं । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । हालसम्म झापामा जापानिज इन्सेफलाइटिसका १३ जना संक्रमित र ७ जनाको मृत्यु भएको छ । अभियानका लागि झापामा ४ लाख ८५ हजार लक्षित जनसंख्या रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । मन्त्रालयले लक्षित समूहका सबैलाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ । साथै लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने र घरवरिपरि पानी जम्न नदिने उपाय अपनाउन अनुरोध गरेको छ । 

बाढी प्रभावितलाई नेपाल टेलिकमको थप राहत, फाइबर र राउटर निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित जिल्लाका नागरिकका लागि विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका नागरिकलाई लक्षित गरी कम्पनीले विभिन्न सुविधा उपलब्ध गराउने भएको हो । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका बाढी प्रभावित नागरिकले समेत यी सुविधा पाउनेछन् । बाढीका कारण क्षति भएका तर पुनः प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका एनटी फाइबर केबल तथा राउटर नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराई जडान गर्ने जनाएको छ । एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि सकिएमा थप तीन महिनाका लागि निःशुल्क सेवा उपलब्ध गराइनेछ । बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा रहेको सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था पनि कम्पनीले गरेको छ । यसका लागि सम्बन्धित ग्राहकले पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ भने ती नम्बर बाढी प्रभावित क्षेत्रमा प्रयोग भएको हुनुपर्ने र सम्बन्धित ग्राहकको पहिचान प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको टेलिकमले जनाएको छ । त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाढी प्रभावित क्षेत्रबाट सूचना, क्षतिको विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो र भिडियो समयमै संकलन तथा प्रवाह गर्न एक वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट र प्राविधिक सहयोग उपलब्ध गराइएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल सीएमसी–नेपालसीएमसी–नेपाल को नाममा जडान गरिएको टोल फ्री नम्बर १८१०५०००४०२ मा बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा उपलब्ध गराउन तीन महिनासम्मको मासिक बिल निःशुल्क गर्ने व्यवस्था पनि गरिएको छ । कम्पनीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार तथा प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रमा राहत संकलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन युनिटका लागि एक वर्षसम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइसकेको जनाएको छ । बाढीबाट क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको पुनर्निर्माण कार्य पनि जारी रहेको कम्पनीले जनाएको छ ।

त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक लामा घाइते

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसमा आगजनी हुँदा चालक घाइते भएका छन् ।   बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका हुन् । उक्त बस मुलपानी–थानकोटको रुटमा चल्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।  घाइतेलाई किर्तिपुरस्थित बर्न अस्पताल उपचारका लागि पठाइएको उनले बताए । प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ ।  आगलागीलगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो । 

बाढीले क्षति पुर्‍याएका होटल व्यवसायीलाई पुनःस्थापना गर्न महासंघको पहल

काठमाडौं । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा होटल तथा रेस्टुरेन्ट व्यवसायमा ठूलो क्षति भएपछि होटल व्यवसायी महासंघ नेपालले प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि पहल थालेको छ । महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिका पदाधिकारीसँग भेट गरी बाढीबाट प्रभावित होटल, रेस्टुरेन्ट तथा खाजाघरको प्रारम्भिक क्षतिको विवरण र नामावली बुझाएका छन् । एफएनसीसीआईको पर्यटन समितिले आयोजना गरेको बैठकमा अध्यक्ष भण्डारीले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुगे पनि क्षतिग्रस्त व्यवसायलाई पुरानै अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापना आवश्यक रहेको बताए । महासंघले प्रभावित व्यवसायीका लागि विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदान उपलब्ध गराउन माग गरेको छ । साथै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पुनःसंरचना गर्न, ब्याजमा छुट दिन तथा सरकारले आवश्यक पहल गर्नुपर्ने माग राखिएको छ । त्यस्तै, बिमा गरेका व्यवसायीको क्षतिपूर्ति दाबी तत्काल भुक्तानी गराउन तथा बिमा नभएका ग्रामीण क्षेत्रका साना होटल र खाजाघरलाई क्षतिको आधारमा विशेष आर्थिक सहयोग उपलब्ध गराउन महासंघले माग गरेको छ। महासंघका अनुसार प्रस्तुत विवरण र मागप्रति एफएनसीसीआई अध्यक्ष श्रेष्ठ तथा पर्यटन समितिले समर्थन जनाएका छन्। प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बिमा दाबी भुक्तानी तथा वित्तीय सहुलियतका लागि सरकार र नेपाल राष्ट्र बैंकसँग पहल गर्ने प्रतिबद्धता एफएनसीसीआईले जनाएको छ। होटल व्यवसायी महासंघ नेपालले प्रभावित साना तथा मझौला पर्यटन व्यवसायीको व्यवसायिक सुरक्षा र पुनःस्थापना नभएसम्म आफ्नो पहल जारी राख्ने जनाएको छ।

घुस बार्गेनिङको आरोपपछि गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो

काठमाडौं । अस्पतालको बेड संख्या बढाउन अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि प्रदेश सरकारले छानबिन अघि बढाएको छ । गण्डकी सरकारले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहार्ने भएको छ । गण्डकी सरकारको आइतबार  बसेको मन्त्रिपरिषद बैठकले सो घुस काण्डको छानबिन गर्न एक समिति बनाउनुका साथै अख्तियारलाई पनि छानबिनका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले प्रदेश स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति वा अस्पताल स्तरोन्नतिको कानुनी व्यवस्था, अभ्यासलगायतका विषयमा छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले जानकारी दिए ।  उनका अनुसार समितिको सदस्यमा को–को रहने छन् भन्ने खुलाइएको छैन भने समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । त्यस्तै, मन्त्रिपरिषद बैठकले घुस काण्डमा मुछिएका स्वास्थ्य मन्त्रालयका सचिव बसौलाको जिम्मेवारी खोसेको छ ।  अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी खोसेर उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा काजमा हाजिर गराउने निर्णय भएको मन्त्री शेरचनले बताए । मन्त्रिपरिषद बैठकले घुस बार्गेनिङमार्फत स्तरवृद्धिको अनुमति दिइएको पद्मनर्सिङ होमको नवीकरण गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।  मन्त्री शेरचनले भने, ‘सो विषय छानबिनको चरणमा रहेको हुँदा उक्त अनुमति कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने निर्णय बैठकले गरेको छ ।’ सो ५० शय्याको अस्पताल स्तरोन्नति गरी एक सय शय्याको बनाउन दिइएको ६ महिने परीक्षण काल सकिएपश्चात नवीकरण गर्ने क्रममा तत्कालीन प्रदेशमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौलाले ३० लाख रुपैयाँ घुस मागेको अडियो भिडियो सार्वजनिक भएको थियो ।  सो अडियो भिडियोमा मन्त्री क्वार्टरमै पैसाको बार्गेनिङ भएको देखिन्छ भने उक्त रकम लिन मन्त्रीका स्वकीय सचिव पौडेलले ताकेता गर्दै फोन संवाद गरेका थिए । बार्गेनिङ गरेको अडियो भिडियोमा मन्त्री र स्वकीय सचिवले आर्थिक लेनदेनका लागि बार्गेनिङ गरे पनि रकम लिएको अस्वीकार गरेका छन् ।  उनीहरूले मन्त्रालयका सचिव बसौलाले रकम मागेकाले सोही अनुसार आफूहरूले आर्थिक लेनदेनको कुरा गरेको आरोप लगाएका छन् ।  तर सचिव बसौलाले भने आफूले कसैसँग पनि आर्थिक लेनदेनको कुरा नगरेको भन्दै घुस बार्गेनिङको आरोप अस्वीकार गरेका छन् । यसअघि, यही घुस काण्डबारे छानबिन गर्न नेकपा एमाले संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा एमालेले पनि छुट्टै समिति गठन गरिसकेको छ । सो समितिले छानबिन सुरु गरिसकेको जनाएको छ ।

ब्रोकरको डेटा सेन्टरमा साइबर आक्रमण

काठमाडौं । ब्रोकर कम्पनीहरूको सर्भर तथा डेटा राखिएको डेटा हब प्रालिको प्रणालीमा साइबर आक्रमण भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबार (आज)को नियमित सेयर कारोबार स्थगित भएको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । समस्या समाधानका लागि प्रयास भइरहे पनि पूर्ण रूपमा समाधान नभएको र यही अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने देखिएपछि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।  स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम २०८३ असोज ५ गतेको कारोबार स्थगित गरेको जनाएको छ । एक ब्रोकर व्यवसायीका अनुसार डेटा हबमा राखिएको ब्रोकर कम्पनीहरूको डाटामा साइबर आक्रमण भएको हो । आक्रमणकारीले डेटा चोरी गर्ने तथा प्रणालीमाथि नियन्त्रण कायम गर्ने प्रयास गरेको भए पनि हालसम्म डेटा चोरी भने हुन नसकेको उनले बताए । उनका अनुसार आक्रमणपछि प्रणालीमा केही गडबडी देखिएपछि तत्काल नेप्सेको कारोबार प्रणाली सञ्चालन गर्दा समस्या थप फैलिन सक्ने जोखिम देखिएको हो । त्यसैले डेटा हबका प्रणाली परीक्षण गरी देखिएका समस्या पहिचान तथा निराकरण गरेपछि मात्रै कारोबार सञ्चालन गर्ने तयारी गरिएको हो । ‘डेटा लस भएको होइन, अहिले आक्रमण मात्रै भएको हो,’ ती ब्रोकर व्यवसायीले भने । उनका अनुसार ब्रोकर कम्पनीहरूको डेटा नेप्सेको प्रणालीसँग जोडिने भएकाले डेटा हबमा देखिएको समस्या नेप्सेको प्रणालीसम्म फैलिन सक्ने जोखिमका कारण कारोबार रोकिएको हो । डेटा हबमा ब्रोकर कम्पनीहरूको मात्रै नभई अन्य कम्पनी तथा केही एजेन्सीहरूको डेटा पनि राखिएको बताइएको छ । डेटा हब थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको र विभिन्न कम्पनीसँग सम्झौता गरी उनीहरूको डेटा सुरक्षित राख्ने तथा डाटा सेन्टर सञ्चालन गर्ने काम गर्दै आएको बताइएको छ । ब्रोकर कम्पनीहरूले सुरक्षित भण्डारणका लागि डेटा हबको सेवा प्रयोग गर्दै आएका थिए । डेटा सुरक्षित राखिएको स्थानमै साइबर आक्रमण भएपछि समस्या उत्पन्न भएको ब्रोकर व्यवसायीको भनाइ छ । नेप्सेका एक अधिकारीका अनुसार डेटा हबमा र्यान्समवेयर आक्रमण भएको छ । र्यान्समवेयर एक प्रकारको मालवेयर हो, जसले कम्प्युटर, मोबाइल वा नेटवर्कमा रहेका महत्त्वपूर्ण फाइल तथा डेटालाई अवरुद्ध गरी प्रयोग गर्न नदिने गर्छ । उनका अनुसार आक्रमणकारीले प्रणालीमा प्रवेश गरी डाटा तथा प्रणालीलाई नियन्त्रणमा लिएर रकम माग गर्ने र रकम नदिएसम्म प्रणाली नखोल्ने चेतावनी दिने गर्छन् । डेटा हबको प्रणालीबाट आक्रमणसम्बन्धी समस्या हटाउने काम भइसके पनि प्रणाली पूर्ण रूपमा सुरक्षित भएको पुष्टि भइनसकेको नेप्सेका ती अधिकारीले बताए । ‘क्लिन गरिसके पनि पूर्ण रूपमा क्लिन भएको हो कि होइन भनेर ढुक्क हुने अवस्था छैन,’ उनले भने । प्रणाली पूर्ण रूपमा सुरक्षित भएको पुष्टि नभएसम्म ब्रोकर कम्पनीहरूको डेटा नेप्सेको कारोबार प्रणालीसँग जोड्दा थप जोखिम हुन सक्ने भएकाले ब्रोकर कम्पनीहरूको अनुरोधमा कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ललितपुरको भनिमण्डलमा नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य भनिमण्डलस्थित बैठकस्थलमा पुगेका छन् । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलले तयार पारेको प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तथा छलफलका विषय टुंगो लगाउने प्रयास गरेको थियो । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच केही विषयमा सहमति जुटाउन छलफल जारी रहेकाले सचिवालय बैठकसमेत लामो समय चलेको थियो । आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा कार्यदलबाट प्रस्तुत प्रतिवेदन, पार्टीको आगामी संगठनात्मक कार्यदिशा र निर्वाचनपछि पार्टीको अवस्थाबारे समीक्षा हुने अपेक्षा गरिएको छ । बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको एमाले नेताहरूले बताएका छन् ।