रामबागमा केन्द्रीय सदस्य जुटे, च्यासलमा सचिवालय बैठक अझै जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा पुगिसकेका छन् ।

केन्द्रीय कमिटी बैठक बस्ने तयारी भइरहे पनि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठक भने अझै टुंगिएको छैन ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तथा पार्टी पुनर्गठन र निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने विषयमा सचिवालयमा छलफल जारी रहेको एक एमाले नेताले जानकारी दिए ।

सचिवालय बैठकले कार्यदलबाट आएका सुझाव तथा प्रतिवेदनमाथि आवश्यक निर्णय गरेपछि मात्रै केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने विषय टुंगो लाग्ने ती नेताले बताए । 

कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित विभिन्न प्रस्तावलाई समेटेर प्रतिवेदन तयार पारे पनि केही विषयमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबीच सहमति जुटाउन बाँकी रहेको बताइएको छ ।

च्यासलमा सचिवालय बैठक लम्बिँदा रामबागमा पुगेका केन्द्रीय सदस्यहरू भने केन्द्रीय कमिटी बैठक सुरु हुने प्रतीक्षामा छन् । 

आजको बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन परिणामको समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशासहितका विषयमा छलफल हुने तयारी छ ।

सचिवालय बैठकले टुंग्याउने निर्णय र प्रस्तावकै आधारमा केन्द्रीय कमिटी बैठकका एजेन्डा अन्तिम रूप दिइने भएकाले दुवै बैठकलाई एमालेभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

रामबाग महलमा केन्द्रीय सदस्यहरू जम्मा भइरहे पनि च्यासलको सचिवालय बैठक कहिले सकिन्छ भन्नेमा स्पष्ट समय तय भइसकेको छैन । 

सचिवालय बैठक सकिएपछि मात्रै केन्द्रीय कमिटी बैठक औपचारिक रूपमा सुरु हुने सम्भावना छ ।

Share News