रसुवा- भोटेकोशी जलविद्युत आयोजनामा एउटा शव फेला
काठमाडौं । १२० मेगावाटको रसुवा- भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एउटा शव फेला परेको छ। मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ। हेलिकोप्टरमार्फत २० जनाको उद्धार गरेको छ । मंगलबार बाढी प्रभावित जिल्लाका विभिन्न ठाउँबाट २० जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । सेनाले हालसम्म हेलिकोप्टरमार्फत ४ हजार ४० जनालाई उद्धार गरिसकेको छ । नेपाली ३ हजार ७५७ र विदेशी २ सय ८३ जनाको उद्धार गरेको सेनाले जनाएको छ । सेनाले रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावर हाउससम्म पुगी खोजी कार्य गरिरहेको छ ।
बीमा कम्पनीहरूले दायित्व बीमार्फत संकलन गरे १ करोड बढीको व्यवसाय
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले दायित्व बीमामार्फत १ अर्बभन्दा बढीको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको आव २०८३/८४ को एक महिना (साउन) को तथ्याकअनुसार बीमा कम्पनीहरूले १०२ बीमालेखबाट १ करोड २९ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका हुन् । प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरूले सबैभन्दा धेरै बागमती प्रदेशबाट दायित्व बीमामार्फत बीमा शुल्क संकलन गरेका छन् । बागमती प्रदेशबाट ९१ वटा बीमालेखमार्फत १ करोड २४ लाख रुपैयाँ बीमा बीमा शुल्क संकलन गरेका छन् । दायित्व बीमामार्फत दोस्रो धेरै व्यवसाय गण्डकी प्रदेशबाट २ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, मधेश प्रदेशबाट १ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट २३ हजार रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ७ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । एक महिनामा बीमा कम्पनीहरूले स्वास्थ्य बीमामार्फत ३२ करोड ३२ लाख रुपैयाँ कुल बीमा संकलन गरेका छन्।
सेनाद्वारा हेलिकोप्टरमार्फत ४ हजार ४० को उद्धार, २८३ विदेशी
काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरमार्फत २० जनाको उद्धार गरेको छ । मंगलबार बाढी प्रभावित जिल्लाका विभिन्न ठाउँबाट २० जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । सेनाले हालसम्म हेलिकोप्टरमार्फत ४ हजार ४० जनालाई उद्धार गरिसकेको छ । नेपाली ३ हजार ७५७ र विदेशी २ सय ८३ जनाको उद्धार गरेको सेनाले जनाएको छ । सेनाले रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावर हाउससम्म पुगी खोजी कार्य गरिरहेको छ । सेनाले संयुक्त टोलीले रसुवा भोटेकोशीजलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा १ एक जनाको शव फेला परेको जनाएको छ । सेनाका अनुसार लाङटाङ जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य जारी रहेको छ । चिलिमेहाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले ४ वटा ६/ ६ मिटर लम्बाइका ठूला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिएको सेनाले उल्लेख गरेको छ । स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म ह्याभी इक्वुपमेन्ट लैजानको लागि सडकमा रहेको ठुलो ढुङ्गालाई ब्लाष्टिङ्ग गरी हटाउने कार्य भएको छ । ठूला ढुंगा सम्म पुग्नका लागि ९५ मिटर बाँकी रहेको छ । वीन्च मेसिन र बकेट र बाट डेर्बिस हटाउने कार्य भइरहेको तथा संयुक्त टोलीबाट टनेलको १ सय १५ मि सम्म प्रवेश गरी खोजी कार्य भइरहेको छ ।
कांग्रेसले सार्वजनिक गर्यो १५ औं महाधिवेशनको परिमार्जित कार्यतालिका
काठमाडौं । नेपाली कांग्रसले असोज ३ गतेबाट वडातहको निर्वाचन गर्नेगरी १५औं महाधिवेशनको परिमार्जित कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते देश भरका ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन गर्ने भएको हो । यसअघि भदौ २४ गते वडा अधिवेशन तोकिएको थियो । यस्तै, गाउँ-नगरपालिका अधिवेशन असोज ७ गतेका लागि तोकिएको छ भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गतेका लागि तोकिएको छ। केन्द्रीय अधिवेशन भने पहिले तोकिएको मिति असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
‘जेनजी आन्दोलनको माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैन’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्ने बताएका छन् । जेनजी सहिद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले अब गोली चलाउने हिम्मत कसैको नभएको बताएका हुन् । सहिद परिवार, घाइते तथा जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । उनले सहिद परिवार र घाइतेलाई सरकारले माग पूरा नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रहसमेत गरे । गृहमन्त्री गुरुङले जनताले आफूलाई दिएको जिम्मेवारी इमानदारीताका साथ पूरा गर्ने दाबी गरे । मन्त्रीको पद र शक्ति आफ्नो लागी सामान्य भएको उनको भनाइ छ । आफूमा सत्ताको लोभ वा घमण्ड कहिल्यै नआउने पनि उनले दाबी गरे । वर्तमान सरकारले भाषणभन्दा कामलाई प्राथमिकता दिएको उनले बताए । हरेक दिन मन्त्रालय प्रवेश गर्दा आफूले जिम्मेवारी पूरा गर्न सक्ने कि नसक्ने भन्ने आफूमा डर रहने गरेको उनले जिकिर गरे । सुरक्षाकर्मीको मनोबल बढाउने, जेन–जी पुस्ताको सपना साकार पार्ने र नेपाली नागरिकको आशा पूरा गर्ने जिम्मेवारी आफूहरूमाथि रहेको उनको भनाइ छ । जेनजी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्छ गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्ने बताए । उनले भने, ‘शहीदका परिवारले पनि कतिचोटी भन्नुहुन्छ हाम्रो माग पूरा हुँदैन कि क्या हो भनेर भन्नुहुन्छ । सम्पूर्ण घाइतेहरू, शहीद परिवारहरूलाई र सम्पूर्ण जेन–जी युवा पुस्ताहरूलाई के भन्न चाहन्छु भने हाम्रो माग पूरा नहुन अर्को एउटा देशमा गोली चल्नुपर्छ ।’ सहिद परिवार, घाइते तथा जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । उनले सहिद परिवार र घाइतेलाई सरकारले माग पूरा नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रह गरे ।
बाढी प्रभावित रसुवामा डिशहोमको निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवामा सञ्चार सेवा प्रभावित बनेपछि डिशहोमले युटेलस्याट वानवेबको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को स्वीकृति र समन्वयमा सुरु गरिएको यो सेवा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा उपलब्ध गराइएको डिशहोमले जनाएको छ । प्राथमिकताका आधारमा भदौ २० गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । कम्पनीका अनुसार बाढीका कारण क्षति पुगेको सञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको हो । यसबाट सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार टोली, राहत शिविर र समन्वय केन्द्रमा सञ्चार सेवा सहज हुने अपेक्षा गरिएको छ । डिशहोमले यो सेवाले उद्धार, राहत र पुनःस्थापनाका काममा सूचना आदान–प्रदान, समन्वय र आवश्यक डाटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने जनाएको छ । कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार स्याटेलाइट इन्टरनेट सेवा थप विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
भारत आउँदै रुसी राष्ट्रपति पुटिन, प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन् । उनले आगामी ११ सेप्टेम्बर (शुक्रबार) नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार यसको जानकारी दिएका हुन् । उनका अनुसार भेटवार्ताको एजेन्डामा व्यापार तथा आर्थिक सहकार्य प्रमुख विषयका रूपमा रहनेछन् । पेस्कोभले शान्ति समाधानका लागि भइरहेका प्रयासमा भारतको सहयोगलाई रुसले स्वागत गर्ने पनि बताएका छन् । रुसी कच्चा तेल खरिद गर्ने देशमाथि अमेरिकाले १०० प्रतिशत अतिरिक्त भन्सार लगाउने प्रस्तावबारे पनि पेस्कोभले प्रतिक्रिया दिएका छन् । उनले यस्तो कदमलाई ‘अवैध र अस्वीकार्य’ बताएका छन् । यसैबीच, चीनका राष्ट्रपति सी चिनफिङ १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने वा नहुनेबारे भने अझै स्पष्ट भइसकेको छैन ।
बाढीपीडितका लागि सर्वोत्तम र जगदम्बा सिमेन्टको १ करोड ११ लाख सहयोग
काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । दुवै कम्पनीले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका हुन् । सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टिकाराम न्यौपाने, पूर्वसञ्चालक बिमलकुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीनप्रकाश अधिकारी र कम्पनी सचिव कमलकुमार भारती सहभागी थिए । कम्पनीका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको हो । उक्त रकमबाट बाढी प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका काममा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । सर्वोत्तम र जगदम्बा सिमेन्टले सामाजिक उत्तरदायित्वलाई आफ्नो प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएको उल्लेख गरेका छन् । आगामी दिनमा पनि विपद्का बेला सरकार र प्रभावित समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ । कम्पनीले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र प्रभावित समुदायको शीघ्र राहत तथा पुनःस्थापनाको काम सफल होस् भन्ने कामना गरेको छ ।