रोहित पौडेललाई एसपीजी अटोमोबाइल्सको सम्मान, जे फाइभ ईभीसहित ब्रान्ड एम्बासडर घोषणा
काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ । नेपाली क्रिकेटमा ऐतिहासिक सफलता दिलाउँदै पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले हालै एनपीएल सिजन-२ को उपाधि जित्न सफल भएको थियो । उक्त उल्लेखनीय उपलब्धिको सम्मानस्वरूप एसपीजी अटोमोबाइल्सले पौडेललाई अत्याधुनिक जे फाइभ ईभी गाडी प्रदान गरेको छ । कम्पनीले गाडी मात्र होइन, गाडीमा लाग्ने सम्पूर्ण करसमेत स्वयं व्यहोर्ने घोषणा गर्दै पौडेलप्रतिको सम्मान र विश्वासलाई अझ बलियो बनाएको छ । यस अवसरमा एसपीजी अटोमोबाइल्सले यसअघि ब्रान्ड एम्बासडरको भूमिका निर्वाह गरेका राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पनि विशेष सम्मान गरेको छ । एसपीजी अटोमोबाइल्सले खेलकुद क्षेत्रसँगको सहकार्यमार्फत युवा पुस्तालाई प्रेरणा दिने र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्य रहेको जनाएको छ ।
मैदानमै सिकाइसँगै गणित : क्वालिटी काठमाडौं स्कुल्सको पाँचौं एथलेटिक्स सम्पन्न
काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) ले आयोजना गरेको पाँचौं वार्षिक एथलेटिक्स प्रतियोगिता राजधानीमा सम्पन्न भएको छ । राजधानीका विभिन्न विद्यालयका सयौं विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न प्रतियोगितालाई इम्बार्क अनम्याथले मुख्य प्रायोजकको रूपमा साथ दिएको थियो । यस वर्षको प्रतियोगितालाई विशेष बनाउने पक्ष खेलकुदसँगै गणितको व्यावहारिक प्रयोग हो । विद्यार्थीहरूले दौड, हामफाल र रिलेजस्ता खेलमा सहभागी हुँदै समय, दूरी, औसत गति तथा चक्रको गणना स्वयं गरेर खेल र पढाइबीचको प्रत्यक्ष सम्बन्ध अनुभव गरे । कक्षाकोठामा सिकेका सूत्र र अवधारणालाई मैदानमै प्रयोग गर्न पाउँदा विद्यार्थीहरूमा सिकाइप्रतिको रुचि थप बढेको क्यूकेएसले जनाएको छ । कार्यक्रमका क्रममा बोल्दै इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले खेल र शिक्षाको संयोजनले सिकाइलाई अझ प्रभावकारी बनाउने बताए । रिले दौडमा विद्यार्थीहरूले गणितीय तर्क र विश्लेषण प्रयोग गरी टोलीको रणनीति तयार गरेका थिए । मुख्य प्रायोजक इम्बार्क अनम्याथले शारीरिक तन्दुरुस्तीका साथै विश्लेषणात्मक र समस्या समाधान क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रमलाई समर्थन गरेको जनाएको छ । प्रतियोगिताका विभिन्न विधा र वर्गका विजेताहरूलाई पुरस्कृतसमेत गरिएको थियो ।
नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा शुक्रबार (आज) काठमाडौंमा सम्पन्न भएको छ। सभामा संघका अध्यक्ष वीरेन्द्र बैदबार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । साधारण सभामा संघका वीरेन्द्रले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा संघका गतिविधि, बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू तथा भावी कार्ययोजनाका बारेमा चर्चा गरिएको थियो । सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, आय व्यय विवरण, आगामी कार्ययोजना तथा कार्यक्रमहरू सर्वसम्मत रूपमा पारित गरेको छ । साथै बीमा क्षेत्रको सुदृढीकरण तथा बीमा पहुँच विस्तारका विषयमा निर्णयहरूसमेत गरेको छ ।
निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत, कसको हिस्सा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिरसम्ममा) १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ४ वटा लघु निर्जीवन बीमा कम्पनीले सो अवधिमा ४९ करोड ६० लाख रुपैयाँ कुल व्यवसाय आर्जन गरेका छन् । १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्ममा मोटर बीमामार्फत सर्वाधिक व्यवसाय आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा बीमा कम्पनीहरूले मोटर बीमामार्फत ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल व्यापारमा मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत रहेको छ । दोस्रो धेरै व्यापार सम्पत्ति बीमामार्फत ४ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २४.८४ प्रतिशत रहेको छ । तेस्रोमा व्यापार इन्जिनियरिङ र ठेक्का बीमामार्फत २ अर्ब ९१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कुल व्यापारमा इन्जिनियरिङ बीमाको हिस्सा १४.५८ प्रतिशत रहेको छ । कम्पनीहरूले विविध बीमामार्फत २ अर्ब ५ करोड ४१ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । जुन कुल व्यापारमा विविधको हिस्सा १०.२८ प्रतिशत रहेको छ । त्यस्तै, बीमा कम्पनीहरूले सामुन्द्रिक बीमामार्फत १ अर्ब १७ करोड ९९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । कुल व्यापारमा सामुन्द्रिक बीमाको हिस्सा सामुन्द्रिकको ५.९० प्रतिशत रहेको छ । यस्तै, मंसिरसम्ममा हवाई बीमामार्फत ८६ करोड ३ लाख रुपैयाँ संकलन गरेका छन् । कुल व्यापारमा हवाई बीमाको हिस्सा ४.३० प्रतिशत छ । कम्पनीहरूले ५ महिनामा कृषि तथा बाली बीमामार्फत ७१ करोड ९७ लाख रुपैयाँ र लघु बीमामार्फत ५० करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा कृषि तथा बालीको ३.६० प्रतिशत र लघुको २.५२ प्रतिशत रहेको छ ।
नेपाल कम्युनिभर्सिटी र केयूको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम सुरु हुँदै
काठमाडौं । नेपाल कम्युनिभर्सिटी र काठ्माडौं विश्वविद्यालय (केयू) बीच समुदायमा आधारित ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता कार्यक्रम सुरु गर्ने सहमति भएको छ । शुक्रबार दुईपक्षबीच स्नातकोत्तर तहमा ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता कार्यक्रम सुरु गर्ने सहमति भएको हो । यो कार्यक्रमले देश र युवाको वर्तमान आवश्यकतालाई केन्द्रमा राखी नेपालमा शिक्षाको परिदृश्यलाई पुनर्परिभाषित गर्ने अपेक्षा गरिएको छ । समुदायमै गएर अध्ययन गर्ने, सिक्ने र सिकेका कुरा अभ्यास गर्ने हेतुले तयार गरिएको कार्यक्रममा विद्यार्थीहरू सीप सिक्न पाउने छन् । आफ्नै समुदायमै बसोबास गरी, स्थानीय परिवेशमा घुलमिल हुँदै स्थानीय विषयवस्तुहरूको अध्ययन गर्नेछन्। समुदाय आफैँमा एक पाठ्यक्रम हो भन्ने दर्शनमा आधारित यस कार्यक्रममा विद्यार्थीहरूले जम्मा १० हप्ता बिताउनेछन्। यस अवधिमा उनीहरूले वैश्विक र सैद्धान्तिकसँगै स्थानीय समुदाय, सामाजिक उद्यम र स्थानीय तहमा भएका विभिन्न पहलहरूमा प्रत्यक्ष संंलग्न भएर नेपालका विविध सामाजिक र आर्थिक यथार्थहरूको अनुभव प्राप्त गर्नेछन्। समुदायबाट प्राप्त सिकाइलाई शैक्षिक रूपमा अन्तरसम्बन्धित बनाइने र त्यसका लागि प्रत्येक क्षेत्रमा विद्यार्थीहरूले उद्यमशीलता, सामाजिक विज्ञान, प्रविधि, समुदाय–आधारित परियोजना तथा समग्र विकाससम्बन्धी अन्तर विषयगत पाठ्यक्रमहरू अध्ययन गर्नुपर्नेछ । सम्झौता कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले विभिन्न क्षेत्रहरूमा प्रत्यक्ष अनुभव र व्यावहारिक सिकाइसँग शैक्षिक अध्ययनलाई जोड्दै सामाजिक रूपमा सचेत विद्यार्थी उत्पादन गर्नु नै यस कार्यक्रमको उद्देश्य भएको बताए । यसले विद्यार्थीलाई आफू र समुदायलाई बुझ्न, आवश्यक सीप विकास गर्न तथा उद्यमशील चेतनाको विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको । नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम आर्यालले यस कार्यक्रम सामाजिक विज्ञान, प्रविधि र उद्यमशीलताका पाठ्यक्रमहरू समेटिएको नेपालको पहिलो अन्तर विषयगत स्नातकोत्तर कार्यक्रम भएको बताए । उनले भने, ‘कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले आफूलाई गहिरो रूपमा आत्मपरीक्षण गर्न, सामाजिक–राजनीतिक तथा आर्थिक गतिशीलताहरूको विश्लेषण गर्न, प्राविधिक सीप हासिल गर्न र उद्यमशील सोच विकास गर्न सक्षम हुनेछन्।’ यो स्नातकोत्तर कार्यक्रम २०२६ को अक्टोबरबाट सुरु हुने छ ।
बल्झिँदै कांग्रेसमा महाधिवेशन विवाद, संक्षिप्त कि विशेष भन्नेमा बहस
काठमाडौं । नेपाली कांग्रेसमा निर्धारित समयमै नियमित महाधिवेशन हुने नहुनेबारे अन्योल देखिएको छ । यही अन्याैलताका बीच पार्टीमा विशेष महाधिवेशन कि संक्षिप्त महाधिवेशन भन्ने बहस सुरु भएको छ । पछिल्लो समय विशेष महाधिवेशन पक्षमा रहेका नेताहरूले नेतृत्वलाई स्मरणपत्र बुझाएपछि फेरि कांग्रेसभित्र महाधिवेशनको बहस तातिएको हो । नियमित महाधिवेशनका लागि पार्टी नेतृत्वले स्पष्ट पहल नगरेको र प्रक्रिया अघि नबढेको निष्कर्षसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाएको नेता जगदीशनरसिंह केसीले जानकारी दिए । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन नै विकल्प हुने उनको ठहर छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानमा रहेका नेता केसीले स्मरणपत्र बुझाएको जानकारी दिँदै पार्टीभित्र नियमित महाधिवेशन नै पहिलो प्राथमिकता रहेको बताए । तर निदाएको स्वाङ पारेको नेतृत्व ब्यूँझने सम्भावना नरहेको केसीको दाबी छ । संक्षिप्त महाधिवेशनको प्रक्रियाबाट भएपनि नियमित महाधिवेशन गर्न आफूहरूले पहल गरिरहेको तर नेतृत्व त्यसका लागि तयार नभएको केसीले बताए । उनका अनुसार कांग्रेस बचाउने हो भने तोकिएकै मितिमा महाधिवेशन नगरी हुँदैन । पुष २८ गते जसरी पनि महाधिवेशन गर्नैपर्छ । त्यो महाधिवेशन संक्षिप्त पनि हुनसक्छ विशेष पनि हुनसक्छ । सभापति शेरबहादुर देउवा एमालेले देखाएको ललिपपमा भुल्दा कांग्रेस क्रमश : ओरालो लागेको ठहर केसीको छ । यता कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने निर्वाचनमा तन मन दिएर पार्टी लाग्नुपर्ने बेलामा महाधिवेशनको बहस निरर्थक भएको बताउँछन् । ‘अहिले पार्टी निर्वाचनभन्दा आम निर्वाचन महत्त्वपूर्ण छ,’ उनले भने ।
चितवनमा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु
चितवन। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस १३ गतेसम्म सञ्चालन हुनेछ। शुक्रबार आयोजित महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले गरेका हुन्। कार्यक्रममा पर्यटन, वन तथा वातावरण क्षेत्रका सरोकारवाला, स्थानीय व्यवसायी, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ। हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलहरूको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ। महोत्सवकै अवसरमा पर्यटकलाई आकर्षित गर्न सौराहाका होटल तथा रेष्टुरेन्टहरूले खाना र आवास सेवामा विभिन्न छुटका व्यवस्था समेत गरेका छन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ ले महोत्सवको अवसरमा हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति, इतिहास र पहिचानको अभिन्न अंग भएको उल्लेख गरेका छन्। उनले नेपाललाई विश्वमा केवल प्रकृतिमय देशका रूपमा मात्र बुझ्ने अपूर्ण धारणा रहेको उल्लेख गर्दै हात्ती नेपालको संस्कृतिसँग गहिरो रूपमा जोडिएको विषय स्पष्ट हुनुपर्ने बताए । सीईओ जोशीले हात्ती महोत्सव पर्यटनसँग जोडिने सशक्त माध्यम हो र हात्ती संरक्षण तथा संख्या वृद्धि गर्न बोर्डले दीर्घकालीन रोडम्यापसहित नेतृत्वदायी भूमिका निर्वाह गरिने उल्लेख गरेका छन् । साथै, रिजेनेरेटिभ टुरिजमलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रका सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । महोत्सव अवधिभर विभिन्न सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । पहिलो दिन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट शोभायात्रा सुरु भएको थियो । त्यसैगरी हात्तीको पेनाल्टी सुटआउट प्रतियोगिता र विविध सांस्कृतिक प्रस्तुति गरिएको छ । दोस्रो दिन मङ्गलधुनसँगै प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्ती स्वास्थ्य शिविर, अन्तरक्रिया कार्यक्रम, डुङ्गा दौड तथा थप खेलकुद प्रतियोगिता र लोकदोहोरीसहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। महोत्सवको अन्तिम दिन हात्ती पूजा, हात्ती बनभोज कार्यक्रम, विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन, पुरस्कार तथा प्रशंसापत्र वितरण र औपचारिक समापन कार्यक्रमसँगै साँझ सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार हात्ती तथा पर्यटन महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणसम्बन्धी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
रिहा भए प्रभु बैंकका सीईओ शेरचन
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरिक्षक डा. मनोज कुमार केसीले जानकारी दिए । उनी गत मंसिर १४ गते बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ परेका थिए । शेरचनलाई म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको हो । अब शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने सीआईबीले जनाएको छ ।