कानूनी शासन स्थापित नगरी जेनजीका माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल
काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने बताए । प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको बताए । कुनैपनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको बताए । रुल अफ ल स्थापित भएपछि मात्रै जेनजीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए । आन्दोलन पछि पनि कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध नभएको बताए । कानूनी शासन स्थापित गर्न अहिले पनि नसकिएको जानकारी दिए । ‘हामी जे बोल्छौँ, त्यही गर्नको निमित्त हामी कतिपय अवस्थामा सक्दैनौँ । प्रणालीमा वाक इन द टकको ठूलो समस्या छ । कुनैपनि दायित्व नलिइकन बोल्दाखेरी जति खुला तरिकाले बोल्न सकिन्छ, त्यही कुरा दायित्व लिँदा गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्रै बोल्ने र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थालियो भने आशा गरेअनुसारको परिवर्तन सम्भव छ,' उनले भने । अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरूले वित्तीय प्रशासनमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो उनीहरुबीच हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रहनेछन् । उक्त छलफल आगामी निर्वाचनका विषय केन्द्रित रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरुसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ । सोही सन्दर्भमा शुक्रबार नेपाल सरकारका प्रवक्ता तथा मन्त्री खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई उनीहरुको निवासमा पुगेर भेटवार्ता गरेका थिए । भेटका अवसरमा उनीहरुले सरकारलाई वर्तमान राजनीतिक निकासका लागि निर्वाचन एक मात्र विकल्प रहकाले त्यसका लागि आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए ।
मदन भण्डारी सडकबाट ७५० केजी गाँजासहित दुई जना पक्राउ
उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।
काठमाडौं महानगरको पूर्वाधार विकासका लागि १२ अर्ब ९ करोडको प्रस्ताव पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाको १८औँ नगरसभा अधिवेशनले पूर्वाधार विकासतर्फ १२ अर्ब ९ करोड ४५ लाख ६० हजार रुपैयाँ बजेट कायम गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि १७औँ नगरसभाले पूर्वाधार विकासका लागि १२ अर्ब १० करोड ८१ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगरसभाले विनियोजन ऐनको पहिलो संशोधन, बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विभिन्न ऐन संशोधनसहित ९ वटा कार्यसूचीका प्रस्ताव पेश, छलफल र पारित गरेको हो । नगरसभाले आर्थिक विकास क्षेत्रमा ६७ करोड ६३ लाख ४ हजार रुपैयाँ बजेट कायम गरेको छ, जुन अघिल्लो अधिवेशनको ६८ करोड ७४ लाख ५४ हजार रुपैयाँभन्दा कम हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब १२ करोड ३७ लाख १४ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ५ अर्ब ८० करोड ४१ हजार रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ अर्ब ४१ करोड ९७ लाख २२ हजार रुपैयाँ बजेट कायम गरिएको छ । १७औँ नगरसभाले चालु आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट स्वीकृत गरेको थियो । यसमध्ये आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ जुटाउने लक्ष्य छ भने संघ र प्रदेश सरकारबाट सशर्त, समानीकरण तथा राजस्व बाँडफाँडमार्फत बाँकी रकम प्राप्त गर्ने लक्ष्य लिइएको छ । सभामा उपप्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षको पुस ९ गतेसम्म ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिन्, जुन विनियोजित बजेटको १८.४८ प्रतिशत हो । यस अवधिमा चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत रहेको छ । क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत र सुशासन क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने ४५.९९ प्रतिशत खर्च भएको छ । सभामा महानगर प्रहरी ऐन, सहकारी ऐन र भवन निर्माण मापदण्डसम्बन्धी संशोधन विधेयक पेश गरिएको थियो । यस्तै, लेखा समितिले २६ करोड ३९ लाख रुपैयाँभन्दा बढी बेरुजु नियमित तथा समपरीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
२५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलियो
काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । उक्त यो ढुङ्गेधारा लिच्छवीकालीन हो । महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका सङ्गत भन्छन्, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्नसक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत बृहत् ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने, ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र नौदेखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’ पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै सङ्गत भन्छन्, ‘यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इन्जिनियरिङिको जीवन्त दशी हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।’ उनका अनुसार सुन्धारा वास्तुकलात्मक छ । ढुुङ्गाहरूमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, ‘यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागीश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।’ जयवागीश्वरी माताको मन्दिर र सुन्धाराको स्थापनाका विषयमा स्थानीय मुकुन्दराज वैद्य भन्छन्, ‘लिच्छवीकालीन राजा नरेन्द्र देवले आफ्ना जनतामाथि कुनै समस्या नहोस् । सबै टाठाबाठा हुन् भनेर माताको आह्वान गर्नुभएको थियो । उहाँको आह्वानपछि शिवजीको आशीर्वाद प्राप्त गरेर मानसरोवरबाट जयवागीश्वरी आउनुभएको हो । शिला नदी तरेर आएपछि माताको इच्छाअनुसार उहाँले स्नान गर्ने पानी शिलानदीबाट ल्याइएको हो । माताको दर्शन गर्दा मुहारको होइन । पाउको दर्शन गर्ने चलन छ ।’
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ । वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व संकलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए । त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट १२ अर्ब ७४ करोड रुपैयाँ रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ । त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै कपडाहरूको आयातबाट भने चार अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा रु ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ ।
अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६०.१० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ । पाँच महिनाको अवधिमा २ हजार ६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/०८२ को सोही अवधीमा ३ अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको उनले बताए । कार्यालयको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१.४० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्ब ८५ करोड ६२ लाख ७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/०८२ को सोही अवधिमा २ अर्ब ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९.९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८.७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५.५० प्रतिशत र फलामे पाता निर्यातमा ९७.८० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आव २०८२/०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।
सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
काठमाडौं । ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा, धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाका साथ निर्माण व्यवसायीबाट काम भइरहेको हो । निर्माण व्ययवासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मङ्सिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत कमला पुल निर्माण हुन सकेको छैन । पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्नु बाध्यता छ । १७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहा (पूर्व)तर्फको २ वटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम)पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ । सोही बमोजिम भासिएको जगलाई दह्रो बनाएर स्लाव लिफ्टिङको काम अब सुरु हुने छ । लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरूले भ्रमण तथा निरीक्षण गरी अध्ययन गरी कार्ययोजना बनाइरहेका छन् । पुलको पूर्वतर्फ (सिराहा)को सबस्टक्चर काम सकिएको छ । सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुइवटा जग राखी जगसहित सब स्ट्रक्चरको का सकिएको छ । अब प्लेट गडर राख्न बाँकी रहेको छ । उक्त प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ । गडर तयार भएपछि पुलमा लगेर जडान गरिनेछ । ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको निर्माण भने सुरु हुन सकेको छैन । गत असोजमा कमला नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन परिवर्तन भएको हुँदा डिजाइनको विषयमा छलफल भइरहेको र डिजाइनको टुङ्गो लागेपछि निर्माण सुरु हुनेछ । तराई-मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौँ पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ ।