धुलिखेल अस्पतालमा नबिल बैंकको सहयोगमा १० शय्याको बर्न केयर वार्ड सञ्चालन

काठमाडौं । नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा १० शय्याको विशिष्टीकृत जलन उपचार कक्ष (नबिल बर्न केयर वार्ड) सञ्चालनमा आएको छ ।

मंगलबार (आज) उक्त वार्डको नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरी र अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे ।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको वार्डले जलनका बिरामीलाई विशेषज्ञ उपचार, शल्यक्रिया तथा पुनस्र्थापना सेवा उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा नबिल बैंकका अध्यक्ष चौधरीले सामाजिक आवश्यकतासँग जोडिएका स्वास्थ्य पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए । 

बैंकको सफलता आर्थिक उपलब्धिमा मात्र नभई समाजमा पारेको सकारात्मक प्रभावबाट पनि मापन हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले जलन उपचार सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न धुलिखेल अस्पतालसँग सहकार्य गरिएको बताए । 

उनले यसअघि नबिल केयरअन्तर्गत सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालन गरिएका निःशुल्क जलन शल्यक्रिया शिविरबाट करिब पाँच सय प्रभावितले उपचार सेवा पाएको जानकारी दिए ।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. श्रेष्ठले नयाँ वार्डले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा योगदान पुर्याउने बताए । 

ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई समेत विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने दिशामा यो सहकार्य महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

Share News