महालक्ष्मी विकास बैंकद्वारा छात्रा मुस्कान खातुनलाई ५० हजार छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले झापाकी छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–१४ स्थित श्री सिताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा खातुनलाई उक्त छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले स्वर्गीय सिताराम प्रसाईको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गरिएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रा खातुनलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेका थिए ।

आर्थिक अभावका कारण विद्यार्थीले अध्ययनबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ । 

Share News