काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न सरकारी निकायले गैरकानुनी रूपमा प्राप्त गरेका सुन तथा चाँदीका धातु प्रशोधन गरी करिब ७ किलो सुन र साढे ५६ किलोभन्दा बढी चाँदी खरिद गरेको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा भन्सार ऐनलगायत प्रचलित कानुनविपरीत भएका कामकारबाहीका क्रममा नेपाल सरकारका विभिन्न निकायले प्राप्त गरेका सुन तथा चाँदी भनिएका धातु प्रशोधन गरी ७ हजार ३८४.९० ग्राम सुन र ५६ हजार ५६६.२० ग्राम चाँदी खरिद गरिएको हो ।
यसैगरी, समीक्षा अवधिमा विभिन्न सार्वजनिक निकाय तथा सङ्घसंस्थाको अनुरोधमा १ हजार ४८२ थान विभिन्न प्रकारका पदक टकमरी गरी उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ । सार्वजनिक समारोह तथा विशेष अवसरमा प्रदान गरिने पदकको मागअनुसार टकमरी सेवा उपलब्ध गराइएको बैंकको भनाइ छ ।
राष्ट्र बैंकले सार्वजनिक निकाय, परोपकारी संस्था तथा मठमन्दिरको मागअनुसार कच्चा सुन र चाँदी बिक्रीसमेत गरेको छ । समीक्षा अवधिमा ७३ ग्राम कच्चा सुन र २ हजार ५७९.१ ग्राम कच्चा चाँदी बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, सर्वसाधारणको दैनिक कारोबारलाई सहज बनाउन चलनचल्तीमा रहेका एक रुपैयाँ र दुई रुपैयाँ दरका सिक्काको नियमित बिक्री वितरणसमेत जारी राखिएको छ ।