दशौं राष्ट्रिय खेलकुदका खेल आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आज मंगलबारदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल भने आजैदेखि सञ्चालन हुन लागेका हुन् ।

आजदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमका साथै लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन् ।

दशौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुँदैछन् । प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पनि पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । प्रतियोगिता मंसिर २७ गते समापन हुने तय भएको छ ।

Share News