सन्दीपको बलिङ र कुशलको ब्याटिङ चम्किँदा यूएईमाथि नेपालको शानदार जित

काठमाडौं । पहिलो खेलको लज्जास्पद हार बिर्साउँदै नेपालले एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा विजयी पुनरागमन गरेको छ । 

कप्तान सन्दीप लामिछानेको धारिलो बलिङ र कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले आइतबार यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २८ ओभर बाँकी छँदै २२ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

नेपालको जितका नायक कुशल भुर्तेल रहे । बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा पनि अर्धशतक प्रहार गर्दै टोलीको जित सहज बनाए। कुशलले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए ।

त्यस्तै, मयन यादवले २७ रन जोड्दा बसिर अहमद १८ रनमा अविजित रहे। यूएईका मुहम्मद मोहसिनले दुई विकेट लिए भने उदीस सुरी र अंश टन्डनले एक–एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईलाई नेपाली बलरले ठूलो योगफल बनाउन दिएनन्। कप्तान सन्दीप र कुशलले समान तीन विकेट लिएपछि यूएई १२१ रनमै समेटिएको थियो । 

नेपालका रासिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले पनि एक–एक विकेट लिए ।

पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको नेपालका लागि यूएईविरुद्धको जित प्रतियोगितामा फर्किने अवसर बनेको छ । यूएई पनि पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ६१ रनले पराजित भएको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। नेपालले समूह चरणको आफ्नो अर्को खेलमा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।

Share News