रिजनको दोहोरो धमाका, दीपेन्द्रलाई ५ लाख, कसले के-के पुरस्कार पाए ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो ।

प्रतियोगितामा चितवन राइनोजका बलर रिजन ढकालले दोहोरो सफलता हात पारेका छन् । उनले सर्वोत्कृष्ट नेपाली खेलाडी र उत्कृष्ट बलरको अवार्ड जित्दै कार र मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

ढकालले प्रतियोगितामा आठ खेल खेल्दै सर्वाधिक १७ विकेट लिएका थिए । उनी गोल्डेन क्याप विजेतासमेत बने । चितवन राइनोज प्लेअफमा पुगे पनि फाइनलसम्म पुग्न सकेन । टोली प्रतियोगितामा तेस्रो भएको थियो ।

सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका ढकालले ओमोडा कार प्राप्त गरे भने उत्कृष्ट बलर घोषित हुँदै पल्सर मोटरसाइकल पनि जिते ।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए । उनले तीन अर्धशतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिएका थिए । यससँगै उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर विराटनगर किङ्सका लोकेश बम घोषित भए । उनले कुल २४२ रन बनाएका थिए । उनले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

त्यस्तै, जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव इमर्जिङ प्लेयर घोषित भए । उनले पनि पल्सर मोटरसाइकल पुरस्कार जिते ।

सुदूरपश्चिम रोयल्सलाई फाइनलमा १० विकेटको जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका जर्ज मन्से प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, उपविजेता लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको छ । चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिशारा रेड बुल इनर्जेटिक प्लेयर घोषित भए । उनले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । 

Share News