पेट्रोलियम पूर्वाधारमा फड्को : झापामा पाइपलाइन, अमलेखगञ्जमा स्तरोन्नति

काठमाडौं । नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विस्तारमा नयाँ सहकार्य अघि बढेको छ ।

भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको छ भने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण पनि सम्पन्न भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (आज) नयाँ दिल्लीबाट संयुक्त रूपमा बटन थिचेर अमलेखगञ्ज पेट्रोलियम टर्मिनलको दोस्रो चरण हस्तान्तरण तथा झापामा नयाँ ग्रीनफिल्ड आयल स्टोरेज टर्मिनलको शिलान्यास गरेका हुन् ।

झापामा निर्माण हुने नयाँ परियोजनाले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको भण्डारण र आपूर्ति व्यवस्थापनलाई सहज बनाउने नेपाल आयल निगमले अपेक्षा गरेको छ ।

निगमका अनुसार भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो पाइपलाइन निर्माण गरिनेछ । ८ इन्च व्यासको उक्त पाइपलाइनमध्ये ३६ किलोमिटर भारतमा र १४ किलोमिटर नेपालमा पर्नेछ ।

परियोजनाअन्तर्गत चारआलीमा पेट्रोल र डिजेल भण्डारणका लागि छुट्टाछुट्टै ट्याङ्क निर्माण गरिनेछ । 

पेट्रोलका लागि ६ हजार ६०० किलोलीटर र डिजेलका लागि १२ हजार ३०० किलोलीटर क्षमताका ट्याङ्क बनाइनेछन् । अत्याधुनिक सुविधासहितको उक्त टर्मिनल भारत सरकारको पूर्ण अनुदानमा निर्माण हुने निगमले जनाएको छ ।

यस्तै, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणअन्तर्गत अमलेखगञ्जस्थित टर्मिनलको क्षमता र प्रविधि स्तरोन्नति गरिएको छ ।

यसक्रममा ४ हजार १०० किलोलीटर क्षमताका दुईवटा पेट्रोल भण्डारण ट्याङ्क निर्माण गरिएको छ । त्यस्तै, २४(बेको स्वचालित ट्याङ्कर लोडिङ प्रणाली, टर्मिनल स्वचालन प्रणाली, गुणस्तर परीक्षण प्रयोगशाला र आगलागी नियन्त्रण सुविधा पनि थप गरिएको छ ।

दोस्रो चरणको काम सम्पन्न भएसँगै अमलेखगञ्ज नेपालको पहिलो अत्याधुनिक पेट्रोलियम टर्मिनल बनेको छ ।

यी परियोजनाले नेपालको पेट्रोलियम भण्डारण क्षमता विस्तार गर्नुका साथै ढुवानी, आपूर्ति र वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने निगमले अपेक्षा गरेको छ ।

निगमका अनुसार विशेषगरी झापामा नयाँ पाइपलाइन र भण्डारण केन्द्र निर्माण भएपछि पूर्वी नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा सहजता आउनेछ ।

अमलेखगञ्ज परियोजना नेपाल सरकार र भारत सरकारबीच सन् २०१५ मा भएको अन्तरसरकारी (जीटुजी) सम्झौता तथा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच भएको व्यावसायिक (बीटुबी) सम्झौताअनुसार निर्माण गरिएको हो ।

Share News