स्वास्थ्य क्षेत्र विकास गर्न नेपाल–भारतबीच ६ बुँदामा सहकार्य हुने

काठमाडौं । नेपाल र भारतले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, औषधीको सहज उपलब्धता, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा अनुसन्धानमा सहकार्य गर्ने भएका छन् ।

दुई देशबीचको साझेदारीलाई नयाँ ढंगले अघि बढाउने उद्देश्यसहित सार्वजनिक गरिएको दस्तावेजमा स्वास्थ्य क्षेत्रको सहकार्यलाई प्राथमिकताका साथ समेटिएको छ ।

दस्तावेजमा उल्लेख भए अनुसार नेपाल सरकारको आवश्यकताअनुसार उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पताल निर्माणका परियोजनालाई निरन्तरता दिँदै स्वास्थ्य पूर्वाधार सुदृढ गरिनेछ ।

त्यस्तै, नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नतिका लागि भारतले सहकार्य गर्ने उल्लेख छ । 

गुणस्तरीय औषधी सर्वसाधारणको पहुँचमा पुर्याउन नेपाल–भारत जनऔषधी केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ ।

स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम (आईटीईसी) अन्तर्गत स्वास्थ्यसम्बन्धी विषयमा आवश्यकताअनुसार विशेष तालिम कार्यक्रम सञ्चालन गरिने दस्तावेजमा उल्लेख छ । 

यसैगरी, दुवै देशका प्रतिष्ठित चिकित्सा संस्थाबीच सम्बन्ध विस्तार गरी विद्यार्थी तथा प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिनेछ ।

स्वास्थ्य अनुसन्धानका क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने योजना छ। यसअन्तर्गत भारतको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) र नेपालको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) बीच अनुसन्धान सहकार्य सुदृढ गरिनेछ ।

त्यस्तै, भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) र नेपालको औषधी व्यवस्था विभागबीच पनि सहकार्य बढाइने दस्तावेजमा उल्लेख छ । 

नेपालमा आधारभूत स्वास्थ्य सेवालाई देशभर एकीकृत रूपमा विस्तार गर्ने सरकारको प्राथमिकता र भारतको स्वास्थ्य क्षेत्रसम्बन्धी दृष्टिकोणबीच समानता रहेकाले विद्यमान सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य राखिएको दस्तावेजमा जनाइएको छ ।

Share News