आर्थिक सहायता, हवाई र रेल सम्पर्कदेखि ऊर्जा पूर्वाधारसम्म भारतसँग नेपालको नयाँ सहमति

२४ बुँदे सहमतिको पूर्णपाठ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहायता, हवाई तथा रेल कनेक्टिभिटी, ऊर्जा, व्यापार र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा सहमति भएको छ । लामो समयदेखि छलफलमा रहेका केही महत्त्वपूर्ण परियोजनालाई अघि बढाउने विषयमा पनि दुवै देशले समझदारी गरेका छन् ।

सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान तथा ऋण सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

भ्रमणका क्रममा दुई देशबीच हवाई तथा रेल सम्पर्क विस्तारलाई विशेष प्राथमिकता दिइएको छ । काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई एकतर्फीबाट द्वितर्फी बनाउने सहमति भएको छ । त्यसैगरी, लामो समयदेखि चर्चामा रहेको रक्सौल–काठमाडौं सीमापार रेलमार्ग निर्माण प्रक्रियालाई अघि बढाउने विषयमा पनि दुवै पक्षबीच सहमति जुटेको छ ।

शिक्षा तथा प्रविधिको क्षेत्रमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना गर्ने सहमति भएको छ । यसले नेपालमा प्राविधिक तथा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ऊर्जा तथा जलस्रोतको उपयोगका विषयमा पनि दुई देशबीच छलफल भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउने सहमति भएको छ । साथै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआरसम्बन्धी कामलाई तीव्रता दिने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् । 

Share News