३ अर्बमा नयाँ उद्योग बनाउँदै एसियन पेन्ट्स

काठमाडौं । एसियन पेन्ट्सले करिब ३ अर्ब रुपैयाँको लगानीमा हेटौंडा औद्योगिक क्षेत्रमा आफ्नो तेस्रो उत्पादन प्लान्ट स्थापना गर्ने भएको छ ।

सन् २०२३ मै लगानी विस्तारको घोषणा गरे पनि जग्गा अभाव तथा जेनजी आन्दोलन लगायतका विविध कारणले रोकिएको उक्त परियोजना हेटौंडा औद्योगिक क्षेत्रभित्रको एक बन्द उद्योगको जग्गा उपलब्ध भएसँगै अघि बढ्ने निश्चित भएको हो ।

अब रङमा मात्र सीमित नरही घर निर्माण र आन्तरिक सजावटका लागि आवश्यक बाथरुमका विभिन्न सामग्रीसमेत नेपालमै उत्पादन गर्ने कम्पनीको योजना छ ।

भारतमा सफल भइसकेको बाथरुम सामग्री उत्पादनको अनुभवलाई नेपालमा विस्तार गर्दै उपभोक्तालाई घरका सामग्री किन्न फरक-फरक ठाउँ धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा आयोजित नेपाल-भारत बिजनेस राउन्डटेबल बैठकमा एसियन पेन्ट्सका प्रतिनिधिले तेस्रो प्लान्ट स्थापनाको प्रक्रिया अघि बढिसकेको जानकारी गराएका थिए ।

उक्त बैठकमा सहभागी होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार एसियन पेन्ट्स र डाबरलगायतका बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको भन्दै थप लगानी विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गर्दै नाफा तथा लाभांश लैजाने प्रक्रियामा देखिएका नीतिगत र प्रशासनिक झन्झट हटाएर सहज वातावरण निर्माण गर्ने विश्वास दिलाएका छन् ।

Share News