काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ ।
भारत भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।
समझदारीअनुसार दुवै देशले सुरक्षा, प्रशासन, स्वास्थ्य, शिक्षा, सञ्चार, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सहकार्य गर्नेछन् ।
नेपाल र भारतबीच फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, सहरी विकास, स्वास्थ्य र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
समझदारीअनुसार भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ ।
त्यसैगरी, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षण तथा क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने समझदारी भएको छ ।
प्रशासनिक क्षेत्रमा भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले संयुक्त रूपमा नेपाली सरकारी अधिकारीलाई तालिम तथा प्रशिक्षण प्रदान गर्नेछन् ।
नेपाल र भारतले आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको विकास, अध्ययन र अनुसन्धानमा समेत सहकार्य गर्ने भएका छन् ।
भूउपग्रह सञ्चारका क्षेत्रमा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रहको प्रयोगका लागि सञ्चार सञ्जाल निर्माण गर्ने विषयमा समझदारी भएको छ ।
सहरी विकासतर्फ दुवै देशले दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहयोग र अनुभव आदानप्रदान गर्ने भएका छन् । त्यस्तै, पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासका लागि पनि आपसी सहकार्य गर्ने सहमति भएको छ ।