काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोबार अपेक्षित रुपमा कम भएको उनीहरुको भनाई छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यकाअनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मुल्यवृद्धि भएको हो ।
विशेषगरी पिस्ता र बदामको मूल्य केही बढेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उनको भनाई छ । सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो ।
ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले जानकारी दिए । उनकाअनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उनले बताए ।
‘यसपालि भाइमसलाको मूल्य बढेको छ । केही सामानमा मूल्य धेरै नै बढेको छ भने केहीमा खासै बढेको छैन । पोहोर सालको तुलनामा पिस्ता र बदामको मूल्य बढेको छ । नरिवल र ओखरमा प्रतिकिलो एकदेखि डेढ सय रुपैयाँसम्म बढेको छ,’ उनले भने, ‘मूल्य बढेका कारण एक किलो मसला लैजाने ग्राहकले आधा किलो र आधा किलो लैजानेले २०० वा १०० ग्राम मात्रै लैजान थालेका छन् । आवश्यक पर्ने भएकाले उपभोक्ताले काम चलाउनका लागि भए पनि खरिद गरिरहेका छन् ।’
बज्राचार्यले मूल्यवृद्धिका कारण खपतमा केही कमी आए पनि तिहारमा भाइमसला दिने परम्परा पुरानै भएकाले व्यापारलाई नराम्रो भन्न नमिल्ने बताए । उनका अनुसार यस वर्ष भाइमसलाको कारोबार सामान्य रहेको छ ।

तिहारको भाईटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । मूल्य वृद्धिका कारण खपतमा केही कमी देखिएपनि व्यापार सन्तोषजनक रहेको उनको भनाई छ । यस्तै, तिहारमा ढाकाटोपीको बिक्री भने उत्साहजनक रहेको व्यवसायीहरुको भनाई छ । तिहारमा दाजुभाईलाई ढाकाटोपी लगाइदिएर टीका लगाउने परम्परा रहेको छ । तिहारको लागि टोपीको माग उल्लेख्य रहेको व्यवसायीहरुले बताएका छन् ।
उनीहरुकाअनुसार सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको विक्री दुईदेखि तीन गुणासम्म बढेको छ । ग्राहकको मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले विभिन्न डिजाइन र गुणस्तरका ढाकाटोपी पर्याप्त मात्रामा मौज्दात राखेको बताएका छन् । तिहारमा दिदिबहिनीले दाजुभाईलाई टीका लगाएर भाईमसला, ढाकाटोपी, मिठाई लगायत उपहारका रूपमा दिने परम्परा रहेको छ ।