कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा हुने उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन् । 

टर्कीको अन्टाल्यामा आयोजना हुने सम्मेलनअन्तर्गत आगामी नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य: एक विश्वव्यापी दृष्टिकोण’ विषयक उच्चस्तरीय छलफल आयोजना हुँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालको सहकार्यमा हुने उक्त कार्यक्रमको अध्यक्षता मन्त्री मेहताले गर्नेछिन् ।

छलफलमा जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा देखिएका चुनौती, जलवायुजन्य विपद्ले स्वास्थ्य सेवा प्रवाहमा पार्ने प्रभाव तथा जलवायु अनुकूल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा विभिन्न देशका प्रतिनिधि र अन्तर्राष्ट्रिय साझेदारबीच विचार आदानप्रदान हुनेछ ।

जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अत्यधिक गर्मी, संक्रामक रोगको बदलिँदो स्वरूप तथा खाद्य र पानीको असुरक्षाजस्ता जोखिम बढ्दै गएका छन् । यस्ता जोखिमले स्वास्थ्य संस्थाका पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र अत्यावश्यक स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्ने भएकाले स्वास्थ्य क्षेत्रलाई जलवायु अनुकूलनका योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने विषय छलफलको प्रमुख एजेन्डा रहनेछ ।

कार्यक्रममा जलवायु जोखिममा रहेका मुलुकको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य क्षेत्रका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको उपलब्धता, स्वास्थ्यसम्बन्धी राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन तथा जलवायुजन्य विपद्बाट हुने स्वास्थ्यसम्बन्धी हानि तथा नोक्सानीको मूल्याङ्कनका विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ ।

नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका प्रयासमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकतासहित अन्तर्राष्ट्रिय सहकार्य, वित्तीय सहयोग र नीतिगत प्रतिबद्धताको मुद्दा सम्मेलनमा उठाउने तयारी गरेको छ ।

Share News