काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९२ अंकले घटेर २६५२ बिन्दुमा झरको छ ।
नेप्सेका अनुसार ५६ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै नेपाल रिइन्योरेन्सको १४ करोड, अपि पावरको १३ करोड र एनआईसी एसिया बैंकको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार सेयर बजारका अधिकांश उपसूचक घटेका छन् । नेप्सेका १३ उपसूचकमध्ये १२ वटामा गिरावट आएको छ भने माइक्रोफाइनान्स उपसूचक मात्रै बढेको छ ।
आज विकास बैंक उपसूचक सबैभन्दा धेरै ०.७० प्रतिशतले घटेको छ । यो उपसूचक ३८.९० अंकले घटेर ५ हजार ४८८.६८ विन्दुमा झरेको छ ।
त्यस्तै, जलविद्युत् उपसूचक ०.६७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६२ प्रतिशत, बैंकिङ ०.५७ प्रतिशत र फाइनान्स ०.५० प्रतिशतले घटेका छन् ।
जीवन बिमा उपसूचक ०.४६ प्रतिशत, होटल तथा पर्यटन ०.४२ प्रतिशत, निर्जीवन बिमा ०.३९ प्रतिशत, लगानी ०.२९ प्रतिशत, व्यापार ०.१४ प्रतिशत, म्युचुअल फन्ड ०.१२ प्रतिशत र अन्य उपसूचक ०.४८ प्रतिशतले घटेका छन् ।
बजार घट्दा पनि माइक्रोफाइनान्स उपसूचक भने ०.०९ प्रतिशतले बढेको छ । यो उपसूचक ४.२२ अंकले बढेर ४ हजार ४९८.७० विन्दुमा पुगेको छ ।