सरकारविरुद्ध साझा मोर्चा कस्ने तयारीमा कांग्रेस, पाँच प्रतिपक्षी दलको बैठक आज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधिविरुद्ध साझा धारणा बनाउन पाँच प्रतिपक्षी दलको बैठक बोलाएको छ । सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूलाई एकै ठाउँमा बोलाएको हो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दै  छ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ ।

बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल हुनेछ। विशेषगरी पत्रकार पक्राउ, सञ्चारमाध्यममा प्रहरी परिचालन तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपका विषयमा प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने तयारी गरेका छन्।

त्यस्तै, विभिन्न घटनाको छानबिनका लागि गठित समितिका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र अनुसन्धान प्रक्रियालाई निष्पक्ष तथा प्रभावमुक्त बनाउनुपर्ने विषय पनि बैठकको एजेन्डामा छन्।

कांग्रेसले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र नागरिक स्वतन्त्रतामाथि चुनौतीका रूपमा देखिएको भन्दै प्रतिपक्षी दलहरूको साझा भूमिका आवश्यक ठानेको छ।

बैठकमार्फत सरकारका गतिविधिविरुद्ध प्रतिपक्षी दलहरूको साझा आवाज निर्माण गर्ने र आगामी दिनमा संसदीय तथा राजनीतिक मोर्चामा सहकार्यको आधार तयार गर्ने कांग्रेसको प्रयास देखिन्छ। 

Share News