काठमाडौं । वर्षमा एकपटक आउने नेपालीहरूको महान् चाड दशैं सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । नयाँ कपडा, जुत्ता, गरगहना र घरायसी सामान किनमेल गर्नेको भीड सहरका गल्लीदेखि ठूला बजारसम्म देखिन थालेको छ । रोजगारी, अध्ययन र विभिन्न कामको सिलसिलामा सहरमा बस्दै आएकाहरू गाउँ फर्किन थालेका छन् । परदेशमा रहेका आफन्तसमेत परिवारसँग दशैं मनाउन घर आउने क्रम बढेको छ ।
परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद थाप्ने तथा मीठोमसिनो खाने दशैंको आफ्नै सांस्कृतिक महत्त्व छ । नयाँ कपडा लगाउने, मीठा परिकार खाने र परिवारसँग खुसी साटासाट गर्ने चलनले पनि यो पर्वलाई विशेष बनाएको छ ।
तर, दशैंमा नयाँ कपडा किन्नैपर्छ रु आर्थिक अवस्था कमजोर भए पनि अरूको देखासिकीमा खर्च गर्नुपर्ने बाध्यता किन महसुस हुन्छ रु चाडपर्व मनाउन ऋण लिनुपर्ने अवस्था परम्पराको निरन्तरता हो कि सामाजिक प्रतिष्ठा जोगाउने दबाब रु
दशैंको रौनकसँगै यी प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन् । किनकि चाडपर्वको खुसीसँग जोडिएको खर्च गर्ने प्रवृत्तिले कतिपय परिवारलाई आर्थिक बोझमा पार्ने गरेको छ । आफ्नो क्षमताअनुसार चाड मनाउनु र सामाजिक दबाबमा परेर ऋण काढी खर्च गर्नुबीचको भिन्नता छुट्याउन आवश्यक देखिन्छ ।
अभावबाट सुरु भएको नयाँ कपडाको संस्कृति
सांस्कृतिक दृष्टिकोणबाट दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ । दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको प्रसंगसँग जोडिएको यो पर्वमा शुद्धता, आस्था र नयाँपनको विशेष महत्त्व छ ।
संस्कृतिविद् डा। प्रकाश ढकालका अनुसार विजयादशमीका तीन मुख्य पक्ष सत्यता, शुद्धता र नयाँपन हुन् । विगतमा आजको जस्तो सहज रूपमा कपडा उपलब्ध हुँदैनथ्यो । मानिसहरूले स्थानीय स्रोतबाट प्राप्त सामग्री प्रयोग गर्दै पहिरनको व्यवस्था गर्थे । कपास खेती, घरमै तान बुन्ने परम्परा र स्थानीय उत्पादन हुँदै कपडा बजारमा सहजै उपलब्ध हुने अवस्थासम्म आइपुगेको हो ।
पहिले कपडा किन्नसमेत सहज नहुँदा मानिसहरू अन्न, घिउ वा तेलसँग साटेर लुगा जुटाउँथे । वर्षभरि खेतीपातीमा पसिना बगाउने किसानका लागि दशैं नयाँ कपडा फेर्ने र बालबालिकालाई मामाघर लैजाने आत्मीय अवसर बन्ने गरेको ढकाल बताउँछन् ।
‘वर्षभरि हिलोमैलो र खेतीपातीमा पसिना बगाएका किसानले वर्षमा एकपटक हिलोमैलोबाट मुक्त भई नयाँ कपडा फेर्ने र बालबालिकालाई मामाघर लैजाने एउटा आत्मीय अवसर दशैं नै बन्थ्यो,’ उनी भन्छन् ।
तर, दशैंमा नयाँ कपडा लगाउनैपर्छ भन्ने धार्मिक बाध्यता भने नरहेको उनको भनाइ छ । धार्मिक मान्यताअनुसार पूजाआजा गर्दा शुद्ध वस्त्र लगाउनुपर्ने भए पनि नयाँ नै कपडा किनेर लगाउनुपर्ने अनिवार्य व्यवस्था नरहेको उनी बताउँछन् ।
‘धार्मिक मान्यताअनुसार पूजाआजा र पर्वका लागि शुद्ध वस्त्र आवश्यक हुन्छ, नयाँ नै किनेर लगाउनुपर्छ भन्ने अनिवार्य धार्मिक शास्त्रीय विधानमा छैन,’ ढकाल भन्छन् ।
उनका अनुसार दशैंमा नयाँ कपडा फेर्ने चलन मुख्यतः सामाजिक परम्परा र सांस्कृतिक अभ्याससँग जोडिएको हो । जन्म, मृत्यु तथा अन्य संस्कारमा समेत वस्त्रको महत्त्व रहँदै आएको छ । दानका क्रममा पनि वस्त्रलाई महत्त्वपूर्ण मानिन्छ । यसले कपडा मानिसको दैनिक जीवन, सामाजिक सम्बन्ध र संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने देखाउँछ ।
समयसँगै कपडा किन्ने र लगाउने अभ्यासमा परिवर्तन आएको छ । पहिले वर्षमा एकपटक नयाँ कपडा लगाउने अवसरका रूपमा हेरिने दशैं अहिले वर्षभरि आवश्यकताअनुसार कपडा किन्न सकिने अवस्थामा आइपुगेको छ । आम्दानीका स्रोत विस्तार हुनु र बजारमा कपडा सहजै उपलब्ध हुनुले पनि दशैंमै नयाँ कपडा किन्नुपर्ने बाध्यता कम गर्दै लगेको ढकालको बुझाइ छ ।
‘अहिले मान्छेले चाहेको समयमा कपडा किन्न सक्छन् । दशैंमा नै नयाँ कपडा किन्नुपर्छ भन्ने चलनमा परिवर्तन आएको छ,’ उनी भन्छन् ।
दशैंमा हुने किनमेलले व्यापार व्यवसायलाई चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन पनि योगदान पुर्याउँछ । त्यसैले नयाँ कपडा लगाउने परम्परालाई धार्मिक तथा सांस्कृतिक पक्षबाट मात्र नभई सामाजिक र आर्थिक दृष्टिकोणबाट पनि हेर्नुपर्ने ढकाल बताउँछन् ।
नयाँ कपडाबाट प्रतिष्ठाको प्रतिस्पर्धासम्म
कपडा मानिसको आधारभूत आवश्यकता हो । तर, समाजमा मानिसले लगाउने कपडालाई उसको आर्थिक अवस्था र सामाजिक हैसियतसँग जोडेर हेर्ने प्रवृत्ति पनि छ । यही सोचले दशैंमा नयाँ कपडा लगाउने परम्परालाई कतिपय अवस्थामा प्रतिष्ठाको विषय बनाइदिएको छ ।
दशैंजस्तो सामूहिक उत्सवमा पुरानो वा फाटेको कपडा लगाउँदा अरूले आफ्नो आर्थिक अवस्थाबारे नकारात्मक टिप्पणी गर्लान् भन्ने डर कतिपयमा हुने ढकाल बताउँछन् । यही डरले सामान्य सांस्कृतिक अभ्यासलाई देखावटी प्रतिस्पर्धामा बदल्न सक्छ ।
नयाँ कपडा लगाउने चलन आफैंमा समस्या होइन । समस्या तब सुरु हुन्छ, जब मानिसले आफ्नो आवश्यकता र आर्थिक क्षमताभन्दा बढी खर्च गरेर अरूको अगाडि आफ्नो हैसियत देखाउन खोज्छ । परिवारको आम्दानीले नधान्ने किनमेल, महँगो लुगा र अन्य उपभोग्य वस्तु खरिद गर्नुपर्ने दबाबले चाडपर्वको खुसीलाई आर्थिक तनावमा बदल्न सक्छ ।
समाजशास्त्री डा। रमेश थापा पनि दशैंमा देखासिकीका कारण अनावश्यक खर्च गर्ने प्रवृत्ति रहेको बताउँछन् । उनका अनुसार चाडपर्व खुसीका साथ मनाउनु स्वाभाविक भए पनि आफ्नो आर्थिक अवस्थाभन्दा बाहिर गएर खर्च गर्नु उचित होइन ।
‘आफ्नो आवश्यकताअनुसार खर्च गर्नुपर्छ । आफूसँग पैसा छैन भने दशैंमा नयाँ कपडा किनेरै लगाउनुपर्छ भन्ने छैन,’ उनी भन्छन् ।
आफूसँग खरिद गर्ने क्षमता नभएको अवस्थामा ऋण लिएर नयाँ कपडा वा अन्य सामान किन्नु उपयुक्त नहुने थापाको भनाइ छ । दशैं मनाउन नयाँ कपडा नै चाहिन्छ वा अरूले जे किनेका छन्, आफूले पनि त्यही किन्नुपर्छ भन्ने सोचले परिवारमा अनावश्यक आर्थिक बोझ थप्ने उनी बताउँछन् ।
थापाका अनुसार समाजमा देखावटी खर्च गर्ने प्रवृत्तिमा केही परिवर्तन आए पनि यसको प्रभाव अझै कायम छ । विगतमा विवाह, भोजभतेरलगायत सामाजिक कार्यक्रममा बढी खर्च गरेर प्रतिष्ठा देखाउने चलन व्यापक थियो । अहिले मानिसहरूको सोचमा परिवर्तन आउन थालेको भए पनि ग्रामीण क्षेत्रमा र न्यून आय भएका परिवारमा छिमेकी तथा साथीभाइको देखासिकी गर्ने प्रवृत्ति अझै देखिन्छ ।
विशेषगरी बालबालिकाले अरूले नयाँ कपडा लगाएको देखेर आफूलाई पनि त्यस्तै कपडा चाहिने भन्दै जिद्दी गर्दा अभिभावक दबाबमा पर्ने गरेका छन् । यस्तो अवस्थामा परिवारको वास्तविक आर्थिक अवस्था र बालबालिकाको चाहनाबीच सन्तुलन मिलाउन कठिन हुन सक्छ ।
थापाका अनुसार देखावटी उपभोगको संस्कृति सहरमा मात्र सीमित छैन । सहरबाट गाउँसम्म यस्तो प्रभाव फैलिँदै गएको छ । सामाजिक सञ्जाल, साथीभाइको व्यवहार र वरपरको उपभोग संस्कृतिले पनि मानिसको खर्च गर्ने निर्णयलाई प्रभावित पार्न सक्छ । त्यसैले आफ्नो आम्दानी र आवश्यकताअनुसार खर्च गर्ने बानी विकास गर्नु आवश्यक रहेको उनी बताउँछन् ।
ऋणको बोझले खोस्न सक्छ चाडपर्वको खुसी
दशैंको खर्च नयाँ कपडा र जुत्तामा मात्र सीमित हुँदैन । खाद्यान्न, मासु, पेय पदार्थ, घरायसी सामान, आफन्तलाई उपहार र यात्रामा समेत खर्च बढ्छ । परम्परा र पारिवारिक आवश्यकतासँग जोडिएका यस्ता खर्च स्वाभाविक भए पनि आम्दानीको तुलनामा खर्च अत्यधिक बढ्दा समस्या उत्पन्न हुन सक्छ ।
थापा चाडपर्वमा खानपानका लागि गरिने खर्चमा पनि सचेत हुनुपर्ने बताउँछन् । स्वस्थकर स्थानीय खाद्यवस्तुको सट्टा बजारमा उपलब्ध अस्वस्थकर पेय पदार्थ तथा अन्य वस्तुको उपभोग बढ्नु चिन्ताको विषय भएको उनको भनाइ छ । खानपानमा लापरबाही गर्दा स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने र त्यसको उपचारमा थप खर्च गर्नुपर्ने अवस्था आउन सक्छ ।
चाडपर्वमा आवश्यकताभन्दा बढी खर्च गर्दा त्यसको असर पर्व सकिएपछि पनि रहन्छ । आम्दानीभन्दा बढी खर्च गर्ने र त्यसलाई धान्न ऋण लिने प्रवृत्तिले परिवारलाई लामो समयसम्म आर्थिक दबाबमा पार्न सक्छ । ऋण तिर्न नसक्दा मानसिक तनाव बढ्ने, साहुमहाजनको दबाब खेप्नुपर्ने र पारिवारिक समस्या उत्पन्न हुने जोखिमसमेत रहन्छ ।
दशैंमा ऋण लिएर नयाँ कपडा किन्ने वा खसी खरिद गर्ने निर्णय सबै अवस्थामा गलत नहुन सक्छ । परिवारको वास्तविक आवश्यकता, आम्दानी र ऋण तिर्न सक्ने क्षमताका आधारमा खर्चको निर्णय गर्न सकिन्छ । तर, अरूले गरेको खर्चको नक्कल गर्न वा सामाजिक प्रतिष्ठा जोगाउन मात्रै ऋण लिनु दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ ।
त्यसैले दशैंमा नयाँ कपडा लगाउने वा अन्य सामान किन्ने निर्णय गर्दा अरूको देखासिकीभन्दा आफ्नो आवश्यकता र आर्थिक क्षमतालाई प्राथमिकता दिनुपर्ने थापाको सुझाव छ ।
‘आफ्नो क्षमताभन्दा बढी खर्च गरेर समस्या निम्त्याउनु हुँदैन,’ उनी भन्छन्, ‘ऋण गरेर देखावटी खर्च गर्नुभन्दा आफूले धान्न सक्ने गरी चाडपर्व मनाउनुपर्छ ।’
परम्परा जोगाउने कि दबाबमा खर्च गर्ने ?
दशैंमा नयाँ कपडा लगाउने चलन नेपाली समाजको सांस्कृतिक स्मृति, पारिवारिक आत्मीयता र चाडपर्वको उल्लाससँग जोडिएको छ । विगतमा वर्षभरि काम गरेर एकपटक नयाँ कपडा लगाउन पाउनु नै धेरैका लागि ठूलो खुसी हुन्थ्यो । अहिले बजारमा सहज पहुँच र आम्दानीका विविध स्रोतले यस्तो अवसरलाई सामान्य बनाएका छन् ।
तर, नयाँ कपडा लगाउने परम्परा सामाजिक प्रतिष्ठाको प्रतिस्पर्धामा बदलिँदा यसको मूल भावना कमजोर हुन सक्छ । चाडपर्वको महत्त्व महँगो कपडा, धेरै किनमेल वा अरूलाई देखाउन गरिने खर्चमा होइन, परिवारसँगको भेटघाट, आत्मीयता र आपसी सद्भावमा निहित हुन्छ ।
आफ्नो आर्थिक क्षमताअनुसार खर्च गर्दै चाडपर्व मनाउनु र ऋणको बोझ बोकेर अरूको अगाडि सम्पन्न देखिन खोज्नु फरक कुरा हुन् । दशैंको खुसीलाई ऋण र आर्थिक तनावसँग जोड्नुभन्दा आवश्यकता, क्षमता र भविष्यको आर्थिक सुरक्षाबीच सन्तुलन कायम गर्नु बुद्धिमानी हुन्छ ।
अन्ततः नयाँ कपडा लगाउने कि नलगाउने भन्ने निर्णय व्यक्तिगत र पारिवारिक आवश्यकतामा निर्भर हुनुपर्छ । परम्परालाई निरन्तरता दिनु सकारात्मक भए पनि त्यसलाई बाध्यताका रूपमा लिनु आवश्यक छैन । दशैंको वास्तविक रौनक आर्थिक हैसियत देखाउने प्रतिस्पर्धामा होइन, आफ्नो क्षमताभित्र रहेर खुसी बाँड्न सक्नुमा छ ।