काठमाडौं । स्थायी घर स्याङ्जा भई हाल काठमाडौंमा बस्दै आएकी कृस्मा बस्यालले यस वर्षको दशैं बिदा घुमफिर गरेर बिताउने योजना बनाएकी छन् । काठमाडौंमा स्नातक अध्ययनरत बस्यालको कात्तिक महिनाभर बिदा भएकाले उनले समयको सदुपयोग गर्दै परिवारसँग टीका थाप्नुका साथै साथीभाइसँग मार्दी हिमाल ट्रेकिङ जाने योजना बनाएको सुनाइन् ।
त्यस्तै, स्थायी घर धादिङ भई हाल काठमाडौंमा जागिर गर्दै आएका कृष्ण ढुंगानाले पनि यस वर्षको दशैं बिदा घुमफिर गरेर बिताउने योजना बनाएका छन् । लामो समयदेखि मुस्ताङ घुम्ने इच्छा भए पनि कामको व्यस्तताका कारण जान नपाएका उनले यसपटकको दशैं बिदालाई अवसरका रूपमा लिएका बताए ।
मुस्ताङसँगै पोखरा र बन्दीपुरजस्ता पर्यटकीय स्थलमा समेत पुग्ने उनको योजना छ । कामको नियमित व्यस्तताबाट केही समय छुटकारा पाउँदै साथीभाइसँग नयाँ ठाउँ घुम्ने र रमाइलो गर्ने उद्देश्यले दशैं बिदालाई घुमफिरमा उपयोग गर्न लागेको उनले बताए ।
कृस्मा बस्याल र कृष्ण ढुंगेलको योजनाले दशैं बिदा बिताउने शैलीमा आएको परिवर्तनलाई देखाउँछ । उनीहरूका लागि दशैं परिवारसँग टीका थाप्ने र आफन्त भेट्ने अवसर मात्रै होइन, साथीभाइसँग नयाँ ठाउँ घुम्ने र फुर्सदको समय सदुपयोग गर्ने मौका पनि बनेको छ ।
पहिले दशैंको लामो बिदा भनेकै गाउँघर फर्किने, परिवारसँग समय बिताउने र आफन्त भेट्ने अवसर थियो । सहरमा बसोबास गर्नेहरू दसैंमा आफ्नो जन्मथलो फर्किन हतारिन्थे । यातायातका साधनमा हुने भीडदेखि गाउँघरमा देखिने चहलपहलसम्मले दशैंमा घर फर्किने संस्कृतिको महत्व झल्काउँथ्यो ।
तर, समयसँगै दशैं मनाउने शैलीमा पनि विविधता थपिँदै गएको छ । पारिवारिक भेटघाट, टीका र जमराको सांस्कृतिक महत्व यथावत् रहे पनि बिदा मनाउने तरिकामा नयाँ विकल्प थपिएका छन् । अहिले कतिपयका लागि दशैं घर फर्किने अवसर मात्रै होइन, परिवारसँग घुमफिर गर्ने, नयाँ ठाउँ चिन्ने र दैनिक व्यस्तताबाट केही समय टाढिएर रमाउने समयसमेत बनेको छ ।
पर्यटन व्यवसायीहरुका अनुसार कतिपय परिवार टीका थाप्ने र आफन्तसँग भेटघाट गर्ने परम्परा पूरा गरेपछि नजिकका पर्यटकीय गन्तव्यतर्फ लाग्छन् । कोही एक÷दुई दिनको बिदामा नगरकोट, धुलिखेल वा चित्लाङ पुग्छन् भने कोही लामो बिदाको सदुपयोग गर्दै मुस्ताङ, मनाङजस्ता गन्तव्य रोज्छन् । केही परिवार होटल तथा रिसोर्टमा बसेर आराम गर्ने, स्थानीय परिकारको स्वाद लिने र नयाँ परिवेशमा परिवारसँग समय बिताउने योजना बनाउने गरेका छन् ।
यसले दशैंको पारिवारिक संस्कृतिमा घुमफिर पनि एउटा विकल्पका रूपमा थपिँदै गएको स्पष्ट हुन्छ । यद्यपि, सबैका लागि दशैं मनाउने तरिका एउटै छैन । कसैका लागि जन्मथलो पुगेर परिवारसँग टीका लगाउनु नै सबैभन्दा ठूलो खुसी हो भने कसैका लागि परिवारसँग नयाँ ठाउँ घुम्नु र रमाइलो गर्नु बिदाको विशेषता बनेको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष सागर पाण्डेका अनुसार दशैंमा नेपालीहरू आफ्नो जन्मथलो फर्किने क्रमसँगै घुमफिरमा निस्कने चलन पनि बढेको छ । विशेषगरी दशैंको लामो बिदामा ट्रेकिङ तथा हिमाल आरोहणमा जानेहरू धेरै हुन्छन् । ‘दशैंको समयमा नजिकका आन्तरिक पर्यटकस्थलसँगै ट्रेकिङ र हिमाल चढ्न जानेहरू धेरै हुन्छन्,’ उनले भने ।
तर, यस वर्ष बाढीका कारण केही पदमार्ग प्रभावित भएका छन् भने कतिपय पदमार्ग सञ्चालनमा आउने क्रममा छन् । अहिले मर्दी, एभरेस्ट, मुस्ताङ र लाङटाङलगायतका पदमार्ग पर्यटकका लागि सुरक्षित रहेको उनले बताए ।
‘यसपालि बाढीले केही ट्रेकिङ रुट प्रभावित भएका छन् । तर, अहिले पर्यटन सिजन पनि भएकाले समग्रमा राम्रो हुने अपेक्षा छ ।’
उनका अनुसार दशैं नेपालीका लागि चाडपर्व र पारिवारिक भेटघाटको समय भए पनि विदेशी पर्यटकका लागि यो विशेष पर्व होइन । त्यसैले नेपालको मुख्य पर्यटन सिजनसँगै दशैंको समयमा पनि विदेशी पर्यटक नेपाल आउने क्रम जारी रहने गरेको उनले बताए ।
होटल संघ नेपाल ९हान० का अध्यक्ष विनायक शाह पछिल्लो समय विशेषगरी युवापुस्तामा घुमफिरप्रतिको आकर्षण बढ्दै गएको सुनाउँछन् । लामो बिदालाई नयाँ ठाउँ घुम्ने, साथीभाइ तथा परिवारसँग समय बिताउने अवसरका रूपमा उपयोग गर्ने प्रवृत्ति बढेको उनको भनाई छ ।
दशैं–तिहारजस्ता चाडपर्वको समयमा होटलहरूले पनि आन्तरिक पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम तथा विशेष प्याकेज सञ्चालन गर्दै आएका छन् । होटलहरूले दिने छुट, मनोरञ्जनात्मक कार्यक्रम र विशेष आतिथ्य सेवाले पनि बिदामा घुमफिर गर्न चाहनेहरूलाई प्रोत्साहित गरेको शाहको भनाइ छ ।
‘युवाहरू अहिले घुमघाममा धेरै रमाउँछन् । लामो बिदामा घुम्न जाने चलन बढेको छ,’ उनले भने, ‘दशैं–तिहारमा होटलहरूले विभिन्न कार्यक्रम गर्नुका साथै प्याकेजमा छुटसमेत दिने भएकाले आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।’
नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङ्मा ९डेविड० ग्याबु शेर्पाका अनुसार दशैंको समय पदयात्रा र हिमाल आरोहणका लागि अनुकूल मौसम भएकाले यस अवधिमा पर्यटकको चहलपहल बढ्छ । अहिले ट्रेकिङसँगै हिमाल आरोहणमा जाने पर्यटकको संख्या पनि बढिरहेको उनी बताउँछन् । उनका अनुसार हालै मनास्लु हिमाल आरोहणका लागि मात्रै ४९३ जनाले अनुमति लिएका छन् ।
शेर्पाका अनुसार पछिल्लो समय विदेशी पर्यटकसँगै नेपालीमा पनि घुमफिर गर्ने प्रवृत्ति बढ्दै गएको छ । पहिले चाडपर्वको बिदामा घर जाने र आफन्तसँग समय बिताउने चलन बढी भए पनि अहिले दशैं–तिहारको बिदालाई घुमफिरको अवसरका रूपमा उपयोग गर्ने नेपालीको संख्या बढिरहेको उनी बताउँछन् ।
‘पहिले नेपालीहरू यसरी घुम्न निस्कने चलन कम थियो, उनले भने, ‘अहिले दशैं–तिहारमा आफ्नो जिल्ला जाँदा त्यहाँका पर्यटकीय स्थल घुम्ने र बिदामा अन्य पर्यटकीय ठाउँ जाने योजना बनाउनेहरू पनि धेरै छन् ।’
अहिले युवापुस्तामा मात्रै नभई सबै उमेर समूहका मानिसमा घुमफिरप्रतिको रुचि बढ्दै गएको उनले बताए ।
होटल व्यवसायी साजन शाक्य पनि पछिल्लो समय दशैं–तिहारको बिदामा घुमफिर गर्ने प्रवृत्ति पनि बढ्दै गएको सुनाउँछन् । विशेषगरी विदेशमा अध्ययन तथा रोजगारीका लागि गएका छोराछोरी चाडपर्वमा घर फर्किने भएकाले परिवारसहित नजिकका पर्यटकीय स्थल घुम्न जानेहरू पनि धेरै हुने गरेको उनको भनाई छ ।
परिवारका सदस्यसँग समय बिताउने र नयाँ ठाउँ घुम्ने चाहनाले पनि चाडपर्वको बिदामा आन्तरिक पर्यटकीय गतिविधि बढाउन सहयोग पु¥याएको उनको भनाइ छ ।