क्यानको पछिल्लो कामबाट आईसीसी प्रभावित छ : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) का पछिल्ला दुई संस्करणमा गरेको कामका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई प्रभावित पार्न सकिएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण आईसीसीलाई प्रभावित पार्न सकिएको र एनपीएलले आईसीसीको मान्यता पाएको बताएका हुन् ।

आईसीसीको नो अब्जेक्सन एक वर्षका लागि रहेको र यसले जिम्मेवारी पनि बढाएको उनको भनाइ छ । आईसीसीको स्वीकृति पाएसँगै फ्रेन्चाइज टोलीले टेस्ट खेल्ने राष्ट्रका ठूला खेलाडी ल्याउन सक्ने खड्काको विश्वास छ ।

एनपीएल गभर्निङ काउन्सिलका प्रमुखसमेत रहेका खड्काले आईसीसीको स्वीकृतिका लागि भरिएको फाराममा ६ देखि ८ विदेशी खेलाडी राख्न पाउने प्रावधान समावेश गरिएको बताए ।

यसअघि ६ जना मात्र विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । एसोसिएट क्रिकेटलाई प्रवर्द्धन गर्न एक जना खेलाडी राख्न पाउने व्यवस्था पनि रहेको उनले बताए । खड्काका अनुसार हरेक टोलीले ७ नेपाली खेलाडी र ४ विदेशी खेलाडी मैदानमा उतार्न पाउनेछन् ।

भविष्यमा आईसीसीको स्वीकृति छिट्टै प्राप्त गर्न सके फ्रेन्चाइज टोलीले सहज रूपमा खेलाडी अनुबन्ध गर्न पाउने उनको आशा छ । लिग सकिएको ६० दिनभित्र सबै प्रतिवेदन पठाउनुपर्ने र अर्को सिजनका लागि आवेदन दिनुपर्ने प्रावधान रहेको उनले बताए ।

फ्रेन्चाइज टोलीले एउटा राम्रो खेलाडी भित्र्याउन कम्तीमा २ हजार अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने अवस्था रहेको र फ्रेन्चाइज टोलीहरू अहिले त्यस्तो आर्थिक अवस्थामा नरहेको क्यानका सचिव खड्काले स्पष्ट पारे ।

यद्यपि, सबै फ्रेन्चाइज टोली कम्तीमा दुई जना स्टार खेलाडी ल्याउने प्रयासमा रहेको उनले बताए। आईसीसीका प्यानल कमेन्टेटर ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए।

क्यानका सचिव खड्काले डिसिजन रिभ्यु सिस्टम (डीआरएस) राख्ने विषयमा अझै टुंगो नलागे पनि प्रक्रिया नजिक पुगेको स्पष्ट पारे। यसपटक पूर्वाधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य रहेको उनले बताए।

यू–१९ महिला विश्वकपका लागि नेपालको तयारीको अवस्था बुझ्न आईसीसीको टोली एक महिनाअघि मैदान निरीक्षणमा आएको थियो। उक्त टोलीले दिएको मार्गनिर्देशनअनुसार पूर्वाधारमा स्तरोन्नति गरिएको खड्काले बताए।

उनले मैदानमा दर्शकको क्षमता पनि केही बढाउन सकिने आशा व्यक्त गरे। सबै व्यवस्था मिलाउँदा मैदानमा १२ हजार दर्शक अटाउन सक्ने उनको भनाइ छ।

Share News