काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत चमत्कारबाट समाजको दिगो रूपान्तरण सम्भव नहुने दाबी गरे। सभापति थापाले व्यक्तिकेन्द्रित चमत्कारिक दाबीहरूले क्षणिक उत्साह ल्याए पनि समाजमा दिगो र स्थायी परिवर्तन संस्थागत सुदृढीकरणबाट मात्रै सम्भव हुने स्पष्ट पारे।
प्रभावकारी संस्था निर्माणका लागि लोकतान्त्रिक संस्कार, संस्कृति र संस्थागत प्रयास अपरिहार्य रहेको भन्दै उनले यस विषयमा गम्भीर राष्ट्रिय बहसको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए। मुलुकको वर्तमान आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थापाले न्यून आर्थिक वृद्धिदर र कमजोर स्रोत परिचालनका कारण देश लामो समयदेखि शिथिल अवस्थामा रहेको उल्लेख गरे।
सभापति थापाले भने, ‘नेपाली राजनीतिलाई पपुलिजमबाट लोकतन्त्रतर्फ र देखावटी राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजानुपर्नेछ। व्यक्तिको चमत्कारले क्षणिक परिवर्तन ल्याउन सक्छ, तर दिगो र स्थायी परिवर्तन बलिया तथा प्रभावकारी संस्थाहरूबाट मात्रै सम्भव हुन्छ। त्यसका लागि राजनीतिक संस्कार, संस्कृति र संस्थागत प्रयास आवश्यक छन्। यस विषयमा बहसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ।'
संविधानले थुप्रै मौलिक हक र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिसक्दा पनि नेपाली समाजमा विद्यमान विभेदका पर्खालहरू किन भत्किन सकेनन् भन्ने विषयमा गहन समीक्षा र विमर्श जरुरी रहेको उनको भनाइ छ।
आफ्नो पार्टी कुनै पनि जटिल राष्ट्रिय मुद्दा र बहसबाट नभाग्ने जिकिर गर्दै थापाले कांग्रेस जिम्मेवार विचारको नेतृत्वकर्ता दल बन्ने प्रतिबद्धता जनाए। पार्टी अलमलमा नपरी र व्यर्थको गुनासो नगरी नागरिकका समसामयिक प्रश्नहरूको उत्तर दिने वैचारिक शक्तिका रूपमा स्थापित हुने उनले दाबी गरे।