काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले झन्झटिलो कर्मचारीतन्त्रीय प्रक्रिया नहुने हो भने निर्माण व्यवसायीहरूले तोकिएकै समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सक्ने दाबी गरेका छन् ।
विपद्पछिको पुनर्निर्माणका क्रममा प्रशासनिक प्रक्रियाको झन्झट नहुँदा एक महिनाभित्रै पुल निर्माण सम्पन्न गरी जनजीवन सहज बनाइएको उदाहरण प्रस्तुत गर्दै उनले काम ढिला हुनुमा निर्माण व्यवसायी मात्र जिम्मेवार नरहेको स्पष्ट पारे ।
नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुलको औपचारिक उद्घाटन गर्दै उनले विकास निर्माणका काममा ५० ठाउँमा हस्ताक्षर गर्नुपर्ने लामो प्रशासनिक प्रक्रिया नै मुख्य बाधक रहेको औँल्याए ।
विगतमा भदौ १९ गते स्थलगत निरीक्षणमा पुग्दा सरकारी संयन्त्रसँग विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको अभाव देखिएपछि व्यवसायीहरूले आफ्ना स्रोतसाधन परिचालन गरेको उनले बताए । पाण्डेका अनुसार बेत्रावती क्षेत्र तथा आसपासका खोलामा बेलिब्रिज र अन्य संरचना निर्माण गर्दा नेपाली सेनाको मात्र चर्चा भएको तर निर्माण व्यवसायीले उपलब्ध गराएका यन्त्र, उपकरण र योगदानको कदर हुन नसकेको गुनासो गरे ।
अध्यक्ष पाण्डेले भने, ‘आफ्नै परिवार र आफन्त गुमाउँदा समेत पीडा बिर्सेर स्थानीय व्यवसायीहरूले उद्धार र निकासका लागि एक्स्काभेटरलगायतका उपकरण उपलब्ध गराएका थिए । सञ्चारमाध्यम तथा राज्य संयन्त्रले निजी क्षेत्रको यो योगदानलाई पनि निष्पक्ष रूपमा सम्प्रेषण गरिदिनुपर्छ । कुनै पनि प्रशासनिक झमेला भएन भने निर्माण व्यवसायीहरूले तोकिएको समयमै काम सम्पन्न गर्न सक्छन् भन्ने उदाहरण यो हो ।’
महासङ्घले राज्यको विपद् कोषमा हालसम्म करिब १० करोड रुपैयाँ दाखिला गरिसकेको स्मरण गराउँदै अध्यक्ष पाण्डेले कुनै प्रशासनिक टेबल र फाइलको झन्झट नभएका कारण स्थानीय पूर्वाधार एक महिनाभित्रै निर्माण गर्न सम्भव भएको बताए ।
बजारमा सधैँ निर्माण व्यवसायीलाई मात्र दोष थोपर्ने प्रवृत्ति गलत रहेको भन्दै उनले प्रक्रियागत अवरोध हटाउन राज्यसँग माग गरे । नवनिर्मित संरचनाबाट हाल दैनिक ७ हजार ५०० भन्दा बढी सर्वसाधारण, विद्यार्थी र बिरामी लाभान्वित भइरहेकोमा खुसी व्यक्त गर्दै उनले आगामी चाडपर्वमा आवतजावत थप सहज बन्ने विश्वास व्यक्त गरे ।