खुलामञ्च मर्मत गर्न कांग्रेसले गर्‍यो सम्झौता, ४५ दिनभित्र हराभरा बनाइने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको खुलामञ्चलाई आफ्नै खर्चमा मर्मतसम्भार गरी पुरानै अवस्थामा फर्काउने भएको छ । त्यसका लागि कांग्रेसले ४५ दिनको समयसीमा निर्धारण गर्दै दुबो रोप्ने, सिँचाइ गर्ने र मैदानलाई पुनः हराभरा बनाउने योजना अघि सारेको छ ।

असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा क्षति पुगेका संरचना तथा मैदानको मर्मतका लागि कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार खुलामञ्चको क्षतिग्रस्त भाग सम्याएर उच्च गुणस्तरको दुबो रोपिनेछ । रोपिएको दुबोको प्राविधिक निगरानीमा स्याहार, सिँचाइ तथा संरक्षणसमेत गरिनेछ । मर्मतसम्भारमा लाग्ने सम्पूर्ण खर्च कांग्रेसले नै बेहोर्ने सहमति भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पुनःस्थापनाका लागि छुट्याइएको ४५ दिनमध्ये पहिलो १५ दिनमा दुबो रोप्ने काम सम्पन्न गरिनेछ । त्यसपछिका ३० दिन दुबो हुर्काउने, आवश्यक सिँचाइ गर्ने र मैदानलाई हराभरा बनाउने काममा खर्च गरिनेछ ।

सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कार्यवाहक मुख्यसचिव दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन् ।

मर्मत तथा संरक्षण कार्यमा कांग्रेस केन्द्रीय कार्यालयले नेपाली कांग्रेस काठमाडौं महानगर समितिलाई स्वयंसेवक परिचालनको जिम्मेवारी दिएको छ । उक्त कार्यको संयोजन काठमाडौं महानगर समितिका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन् ।

काम सम्पन्न भएपछि काठमाडौं महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काएर महानगरपालिकालाई हस्तान्तरण गरिने वैद्यले बताए । 

Share News