काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले पार्टी केन्द्रीय समितिको प्रभावकारिताका लागि आफ्नो टिममा छुटेका नेताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
थापाले पार्टीको आन्तरिक निर्वाचनलाई ‘जित र हार’को अन्तिम मानकका रूपमा नहेर्न आग्रह गरे । उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धाका लागि मात्र भएको भन्दै त्यसलाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको स्पष्ट पारे ।
थापाले आफूलाई केन्द्रीय समितिमा सहयोग गर्न सक्ने थुप्रै क्षमतावान् नेताहरू अहिलेको संरचनामा नअटाएको स्वीकार गर्दै उनीहरूलाई सङ्गठनको काममा सक्रिय रूपमा संलग्न गराउने कार्ययोजना रहेको बताए । उनले पार्टीको सङ्गठनात्मक संरचनालाई पूर्णता दिने प्रक्रिया छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्त्वपूर्ण जिम्मेवारी हो । पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ । कोही प्रतिस्पर्धामा सहभागी हुनुभएन भने कोही प्रतिस्पर्धाबाट निर्वाचित हुन सक्नुभएन ।’
सभापति थापाले पार्टीभित्रको एकता नै अहिलेको मुख्य आवश्यकता रहेको भन्दै गुटगत प्रभावभन्दा माथि उठेर काम गर्ने सङ्केत गरे ।