कांग्रेस महाधिवेशनको मतगणना सकियो, एक सातामै गनिए १ लाख ६२ हजार मतपत्र

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ । मधेस र बागमती प्रदेशका अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना झण्डै एक सातामा टुंगिएको हो ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडित समूहबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूको मतगणना यसअघि नै सम्पन्न भएको थियो । सहमहामन्त्रीसहित खस आर्य र थारू समूहका खुला तथा महिला केन्द्रीय सदस्यको मतगणना पनि राति अबेर सकिएको उनले जानकारी दिए ।

सबै पदको मतगणना सकिए पनि नतिजा रुजु गर्ने काम भइरहेको र त्यसपछि औपचारिक रूपमा परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

असोज २३ गते मतदान सम्पन्न भएलगत्तै सभापति पदको मतगणना सुरु गरिएको थियो । राष्ट्रिय सभागृहमा गरिएको गणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो ।

यसपटक कांग्रेसको मतगणना अघिल्लो महाधिवेशनको तुलनामा निकै छिटो सम्पन्न भएको निर्वाचन समितिको दाबी छ । १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मत गणना गर्न १२ दिन लागेको थियो । तर, यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको कटुवालले बताए ।

उनका अनुसार मतगणनालाई तीव्रता दिन सुरुदेखि नै दिनरात गरी झण्डै २५ समूह परिचालन गरिएको थियो । यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको उनले जानकारी दिए ।

महाधिवेशनमा कुल २२९ पदका लागि निर्वाचन भएको थियो । विभिन्न समूह र समावेशी क्लस्टरका कारण ७७ प्रकारका पदमा उम्मेदवारी परेको थियो भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

कटुवालले मतदान तथा मतगणनाका क्रममा कुनै विवाद उत्पन्न नभएको र निर्वाचन प्रक्रिया सौहार्दपूर्ण रूपमा सम्पन्न भएको बताए ।

निर्वाचन समितिका अनुसार निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दशैँलगत्तै गर्ने तयारी छ। त्यसपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्नेछ । उक्त बैठकमा पार्टीको आगामी कार्यदिशासँगै स्थानीय तह निर्वाचनको तयारीसम्बन्धी विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ । 

Share News