काठमाडौं । नेपालमा महँगी एक वर्षमै तीन गुणाभन्दा बढीले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार खाद्य तथा पेय पदार्थ र गैरखाद्य वस्तु तथा सेवाको मूल्यवृद्धि बढ्दा उपभोक्तामाथि महँगीको दबाब थपिएको हो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको भदौमा यो समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक थियो ।
अर्थात्, त्यसबेला खाद्य तथा पेय पदार्थको समग्र मूल्यस्तर अघिल्लो वर्षको तुलनामा घटेको थियो ।
त्यस्तै, गैरखाद्य वस्तु तथा सेवा समूहको मुद्रास्फीति पनि अघिल्लो वर्षको ३.७० प्रतिशतबाट बढेर ५.६९ प्रतिशत पुगेको छ ।
घ्यूतेल र फलफूलमा उच्च मूल्यवृद्धि
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत सबैभन्दा बढी घ्यू तथा तेलको मूल्यवृद्धि भएको छ । समीक्षा महिनामा यस उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशतले बढेको छ ।
त्यस्तै, फलफूलको मूल्य १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गैरखाद्य तथा सेवा समूहमा यातायात सबैभन्दा बढी महँगिएको छ । यस उपसमूहको मूल्य सूचकाङ्क १२.७७ प्रतिशतले बढेको छ । मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।
सहरभन्दा ग्रामीण क्षेत्रमा बढी महँगी
राष्ट्र बैंकका अनुसार सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.७८ प्रतिशतले बढ्दा सहरी क्षेत्रको सूचकाङ्क ६.१९ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ७.४८ प्रतिशत मुद्रास्फीति रहेको छ । त्यसपछि तराई क्षेत्रमा ६८९ प्रतिशत र पहाडी क्षेत्रमा ६.४१ प्रतिशत मुद्रास्फीति रहेको छ । हिमाली क्षेत्रमा ५.६९ प्रतिशत र काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम ५.१६ प्रतिशत मुद्रास्फीति रहेको छ ।
थोक मुद्रास्फीति पनि बढ्यो
उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीति पनि उल्लेख्य रूपमा बढेको छ । २०८३ भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.१० प्रतिशत मात्रै थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.५५ प्रतिशतले बढेको छ । मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १२.८७ प्रतिशत र पुँजीगत वस्तुको ६.३९ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क पनि ५.०८ प्रतिशतले बढेको छ ।
थोक मूल्यमा भएको वृद्धिले उत्पादन तथा निर्माण क्षेत्रको लागतमा दबाब पर्न सक्ने देखिन्छ ।
त्यसैगरी, नेपालको तुलनामा भारतमा उपभोक्ता मुद्रास्फीति कम देखिएको छ । २०८३ भदौमा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहँदा सन् २०२६ अगस्टमा भारतमा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो । समीक्षा अवधिमा भारतको तुलनामा नेपालमा उपभोक्ता मुद्रास्फीति १.५२ प्रतिशत विन्दुले बढी रहेको छ ।