काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकअनुसार अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको थियो । यसअनुसार नयाँ श्रम स्वीकृति लिनेको संख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।