काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई विवादास्पद अडियो प्रकरणमा २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले सुनारलाई पत्र पठाउँदै आरोपबारे आफ्नो धारणा स्पष्ट पार्न भनेको हो ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसँगको भनिएको कुराकानीको अडियो सार्वजनिक भएपछि सुनार विवादमा तानिएका हुन् । उक्त अडियोमा महिलालाई लक्षित गरी आपत्तिजनक लाञ्छना र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिन्छ ।
घटनालाई गम्भीर रूपमा लिँदै रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ । पार्टीले उनीमाथि उठेका प्रश्नको छानबिन अघि बढाउँदै स्पष्टीकरण मागेको हो ।
सुनारको जवाफ प्राप्त भएपछि त्यसको अध्ययन गरी थप कारबाही प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ । छानबिनबाट प्राप्त निष्कर्ष र पार्टी विधानअनुसार आवश्यक निर्णय लिइने बताइएको छ ।
विवादित अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो । घटनाबारे सम्बन्धित निकायबाट हुने अनुसन्धानमा पनि सहयोग गर्ने रास्वपाले जनाएको छ ।
‘प्रविधिको दुरुपयोग गरेर अडियो बनाइयो, छानबिनका लागि सहयोग गर्छु’