काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्नेमा बराहा डेभलपर्स प्रालि, दिपक निर्माण सेवा, अभियन्ता कन्स्ट्रक्सन प्रालि, फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रालि र प्रिन्स कन्स्ट्रक्सन रहेका छन् ।
कार्यालयका अनुसार बराहा डेभलपर्सलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको उक्त कम्पनीका मुख्य व्यक्ति भीमबहादुर साउँद हुन् । कम्पनी साविकमा राजेन्द्र निर्माण सेवा प्रालिका नामले समेत परिचित थियो । कमलबजार नगरपालिकाको सिफारिसमा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, दिपक निर्माण सेवा, अभियन्ता कन्स्ट्रक्सन प्रालि, फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रालि र प्रिन्स कन्स्ट्रक्सनलाई दुई–दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका–२ मा रहेको दिपक निर्माण सेवाका मुख्य व्यक्ति सोमन्त यादव हुन् । सुनसरीको हरिनगर गाउँपालिकाको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
रुपन्देहीको बुटवल–९ मा रहेको अभियन्ता कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति सजल नेपाल हुन् । भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा रहेको फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रालिका मुख्य व्यक्ति रामकुमार श्रेष्ठ हुन् । पशु रोग अन्वेषण प्रयोगशाला, पोखराको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
पर्साको कालिकामाई गाउँपालिका–२, भेडीहारीमा रहेको प्रिन्स कन्स्ट्रक्सनका मुख्य व्यक्ति अरविन्द चौरसिया हुन् । प्रसौनी बहुप्राविधिक शिक्षालय, बाराको सिफारिसमा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।